कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

छोरीलाई स्नातकोत्तरसम्म पढाइ नि:शुल्क

माधव अर्याल

(पाल्पा) — रामपुर नगरपालिकाले अब जन्मिने छोरीलाई स्नातकोत्तर तहसम्म नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ । नगरसभामा नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर प्रमुख रमणबहादुर थापाले यस्तो घोषणा गरेका हुन् । यसलाई पाँचौं नगरसभाले पारित गरेको छ ।

छोरीलाई स्नातकोत्तरसम्म पढाइ नि:शुल्क

गर्भवती महिलालाई स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउन प्रेरित गर्ने र त्यस्ता बच्चाको रेकर्ड राखेर स्नातकोत्तर तहसम्म अध्ययनका लागि नगरपालिकाले खर्च बेहोर्ने कार्यक्रम तय गरिएको छ ।


स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बिमाको व्यवस्था पनि गरिएको छ । छोरी जन्मिएमा अहिले दिइँदै आएको सुविधामा ५ सय रुपैयाँ थप दिने नीति नगरपालिकाको छ । लैंगिक समानता तथा समावेशीकरणका लागि उपभोक्ता समिति गठनमा ३३ प्रतिशत महिला अनिवार्य गर्नेसमेत नीति लिएको प्रमुख थापाले बताए । प्रमुख पदमा कम्तीमा एक जना महिला हुनुपर्ने नीतिको कार्यान्वयन गर्ने नगरपालिको नीति छ । एकल महिलाको क्षमता अभिवृद्धि गर्न विपन्नलाई आय, पीडितलाई न्याय कार्यक्रम अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


अब बन्ने संरचनाहरू बालमैत्री, अपांगमैत्री एवं ज्येष्ठ नागरिकमैत्री बनाउँदै स्मार्ट सिटीको अवधारणा अघि सारेको छ । बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषण, युवालाई सीप, उद्यमशीलता र रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान, संरक्षण र सुरक्षाको प्रत्याभूतिका लागि कार्यक्रम सञ्चालन गर्ने प्रमुखले बताए । ‘ज्येष्ठ नागरिक ज्युँदो इतिहास हुन्,’ उनले भने, ‘नगरपालिकाले अनुभव आदान–प्रदान गर्न विभिन्न स्थानमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्नेछ ।’ ज्येष्ठ नागरिकका लागि चौतारो निर्माण तथा लौरी वितरण कार्यक्रम गर्ने पनि उनले बताए ।


बाबुआमा नपाल्ने सन्तानलाई नगरपालिका तथा वडाको सेवा सुविधाबाट वञ्चित गरिने उनले बताए । पाँचौं नगरसभामा नीति कार्यक्रम, रामपुर नगरपालिकाको आर्थिक ऐन २०७६, विनियोजन ऐन, २०७६ तथा राजस्व नीति प्रस्तुत गरिएको थियो । नगरसभाले आर्थिक वर्ष ०७६/०७७ का लागि ७६ करोड १ लाख बराबरको बजेट पारित गरेको छ । कुल बजेटमध्ये नगरपालिकाले संघीय सरकार सामानीकरण अनुदानबाट १२ करोड १७ लाख पाउने छ । सशर्त अनुदानबाट २६ करोड ४६ लाख पाउने अपेक्षा गरेको छ । राजस्व बाँडफाँटबाट ९ करोड २२ लाख, प्रदेश सरकार समानीकरण अनुदानबाट ४५ लाख २७ हजार आउने अपेक्षा गरेको छ ।


ससर्त अनुदानबाट ५ करोड १० लाख, राजस्व बाँडफाँटबाट १ करोड २४ लाख ९५ हजार, नगरपालिकाको आन्तरिक आम्दानीबाट ५ करोड, गत वर्षको मौज्दात ३ करोड ७५ लाख रहेको छ । मालपोत रजिस्ट्रेसन दस्तुरबाट १ करोड ६० लाख ७८ हजार, जनसहभागिता १ करोड ५० लाख उठ्ने नगरपालिकाको अनुमान छ । सडक बोर्डबाट ५० लाख, सामाजिक सुरक्षा भत्ता ९ करोडको अपेक्षा गरेको छ । वडाका एक लाखभन्दा साना योजनालाई जनताको अपेक्षा मेयरको शुभेच्छा कार्यक्रममा समावेश गरेको उनले बताए ।


नगरपालिकाले खरको छानोरहित घरका लागि जस्तापाता वितरण, ग्रामीण क्षेत्रमा सडक ट्र्याक खोल्ने, कृषि आधुनिकीकरण, युवा स्वरोजगारका लागि महत्त्व दिने प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताए ।

प्रकाशित : असार २२, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?