कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

थबाङमा द्वन्द्वको त्रास कायमै

राजनीतिक नेता सहर पस्दै सुकिलामुकिला बनेको कार्यकर्ताको आरोप ।
काशीराम डाँगी

थबाङ, रोल्पा — सडक, शिक्षा र स्वास्थ्य क्षेत्रको आसलाग्दो विकास भए पनि थबाङवासीको मनबाट द्वन्द्व र त्रास भने हटेको छैन । थबाङलाई मुख्य आधार क्षेत्र बनाउँदै गतिविधि बढाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सरकारले प्रतिबन्ध लगाएपछि थबाङमा त्रास र अन्योल बढेको हो । 

गाउँमा यतिबेला भिडन्त भइरहेको छैन तर यहाँका मानिस निकै त्रासमा देखिन्छन् । उच्च राजनीतिक तहमा पुगेका स्थानीय नेतालाई यहाँ भेट्टाउन मुस्किल छ । ‘नेताका लागि राज्यबाट डर र त्रास छ । उनीहरू यहाँ आउँदैनन्,’ एक वृद्ध कम्युनिस्ट कार्यकर्ताले भने, ‘कम्युनिस्ट कार्यकर्ता अहिलेको सरकारदेखि डराउनुपर्ने अवस्था छ । हामी डराएका छौं ।’ उनी अहिलेको सरकारलाई ‘कम्युनिस्ट’ भन्न रुचाउँदैनन् । किनभने, ०५२ सालमा यहाँबाट थालिएको सशस्त्र द्वन्द्व (उनको भाषामा ‘जनयुद्ध’) निर्धारित लक्ष्यमै नपुगी हराएको छ ।


थबाङ गाउँका घरका भित्ता र सडकमा समेत कम्युनिस्टसँग सम्बन्धित नारा र नेताका तस्बिर लेखिएका छन् । भित्तामा मार्क्स, लेनिन, माओ र चेग्वेभारालगायत नेताका स्केच र तस्बिर देख्न सकिन्छ । निर्वाचनलाई धेरै पटक बहिष्कार गर्दै आएको थबाङ बाहिरी रूपमा खुसी, आकर्षक र सुन्दर जस्तो लागे पनि भित्री रूपमा कुण्ठा, आक्रोश र दुःख सहेर उभिएजस्तो लाग्छ ।


बरमन बुढामगर, सन्तोष बुढामगर, जयप्रकाश रोकामगरलगायत थबाङका पुराना कम्युनिस्ट नेता हुन् । पूर्वसांसदसमेत रहेका बरमन उपचारका क्रममा राजधानीमा छन् । चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य सन्तोष ‘भूमिगत’ छन् भने जयप्रकाश लिबाङमा प्रहरी थुनामा छन् । करिब डेढ महिनाअघि जयप्रकाशलाई प्रहरीले पूर्वी रोल्पाबाट नियन्त्रणमा लिएको थियो ।


चन्द नेतृत्वको नेकपाका रोल्पा इन्चार्ज रहेका जयप्रकाश पहिलो पटक प्रहरी नियन्त्रणमा परेका हुन् । यसपालिको माध्यमिक विद्यालय शिक्षा (एसईई) परीक्षामा जयप्रकाशकी छोरीले जिल्लामै ए प्लस नतिजा ल्याए पनि उनले खुसियाली मनाउन पाएनन् । पार्टी प्रतिबन्धित भएपछि प्रहरीले जयप्रकाशलाई पनि पक्राउ गरेको थियो । नेता र मन्त्री पुग्दा थबाङमा ठूलो संख्यामा सुरक्षाकर्मी उपस्थित हुन्छन् । थबाङमा प्रहरी चौकी छ ।


जयप्रकाश थबाङका अगुवामध्येका एक हुन् । स्थानीय तहमा विकास निर्माणका योजना बनाउँदा होस् वा नीति निर्माणका योजना बनाउँदा, उनको मुख्य भूमिका रहँदै आएको थियो । ‘हाम्रो गाउँको अगुवालाई मात्रै होइन, थबाङवासीलाई नै सरकारले त्रस्त बनाएको छ,’ युवा अमित घर्तीमगरले भने, ‘हामीलाई राज्य र सरकारबाट निकै डर छ ।’


चन्द निकटका युवा अमितले गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट थबाङ गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा हार बेहोरे पनि उनी शिक्षा, स्वास्थ्य, संस्कृति र विकासका क्षेत्रमा निकै सक्रिय रहँदै आएका छन् ।


द्वन्द्वको घाउ उस्तै

सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादीले करिब २१ घर–परिवारलाई एउटैमा गाभेर ‘कम्युन’ गठन गरेका थिए । निजी सम्पत्ति नष्ट गरेर सामूहकीकरण गर्दै गठन गरिएको उक्त कम्युन यतिबेला छैन । नेता र नेतृत्व सहर पसेपछि कम्युन पनि हरायो । युद्धका घाइते थबाङका लपप्रसाद रोकामगर ‘स्याउला’ कम्युनका एक सदस्य हुन् । ‘हामीलाई माओवादी बनाएर आगोको भुंग्रोमा होमिदिए,’ उनले भने, ‘आफूहरू भने सहर पसेर सुकिलामुकिला बने ।’ माओवादी जनयुद्धको अवधिमा थबाङका ३३ जनाले ज्यान गुमाएका थिए भने ३४ जना घाइते–अपांग बनेका थिए ।


शोकमा थबाङ

स्थानीय अगुवा तथा थबाङ–१ का निर्वाचित वडाध्यक्ष फर्कबहादुर बुढामगरको दुई साताअघि निधन भयो । कार्यालयमै काम गरिरहेका बेला बेहोस् भएपछि उनलाई उपचार गर्न राजधानी पुर्‍याइएको थियो । उनको मृत्यु मस्तिष्कघातका कारण भएको परिवारले जनाएको छ । चन्द निकट भएर पनि स्वतन्त्रका तर्फबाट वडाध्यक्षमा निर्वाचित फर्कबहादुर इमानदार कम्युनिस्ट नेता भएको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले बताए ।


विकासमा लम्कँदै थबाङ

विद्यालय स्थापना भएको वर्षौंपछि एक छात्र र एक छात्राले माध्यमिक विद्यालय शिक्षा (एसईई) परीक्षामा ‘ए प्लस’ नतिजा ल्याएर थबाङको नाम फेरि चम्काइदिएका छन् । वीर बलभद्र माध्यमिक विद्यालयमा उक्त नतिजा सार्वजनिक भएलगत्तै निकै खुसी छाएको थियो । थबाङमा केही वर्षअघि सडक पुग्दा पनि गाउँलेले यसै गरी खुसियाली मनाएका थिए ।


‘पञ्चायत र बहुदलको अवधिभर हाम्रो मुख्य माग सडक नै थियो । तर ती दुवै अवधिमा सडक आएन,’ थबाङबाट पहिलोपटक संसद्मा निर्वाचित कम्युनिस्ट नेता बरमन बुढामगर भने । उनी निर्वाचित भएर सिंहदरबार प्रवेश गरे पनि थबाङमा सडक भने पुर्‍याउन सकेनन् । ०४८ को संसदीय निर्वाचनमा रोल्पाका दुईवटै निर्वाचन क्षेत्रबाट तत्कालीन जनमोर्चाका तर्फबाट कृष्णबहादुर महरासँगै उनी पनि निर्वाचित भएका थिए ।


पार्टीले सशस्त्र संघर्षको तयारी गरेपछि थबाङको सडकलगायतका मुद्दा ओझेलमा परे । बुढालगायत ९ सांसद संसदीय गतिविधि छाडेर ‘छापामार संघर्ष’ तिर लागे । थबाङमा ०६३ को शान्ति प्रक्रियापछि पहिलो पटक सडक पुग्यो । पञ्चायतदेखि खन्न थालिएको दाङको घोराहीदेखिको उक्त सडक करिब ३० वर्षपछि थबाङमा पुर्‍याइयो । तत्कालीन सशस्त्र द्वन्द्वकै अवधिमा माओवादीले श्रमदानको भरमा उक्त मार्गको नुवागाउँदेखि तिला खण्डसम्म खन्न लगाएको थियो । शान्ति प्रक्रियापछिका सरकारले थबाङमा सडक पुर्‍याउने प्राथमिकता देखाएपछि अर्बौंको लगानीमा उक्त सडक थबाङ हुँदै रुकुमसम्मै पुग्यो । घोराहीदेखि थबाङसम्मको सडकको दूरी १ सय ३९ किलोमिटर छ ।


‘विकासको मेरुदण्ड सडक नै रहेछ । सबै वडाहरूलाई सडक मार्गले जोड्ने योजनामा छौं,’ थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरले भने, ‘सडक आएपछि सबै क्षेत्रको विकास भएको छ ।’


थबाङसम्म हाल तीनतिरबाट सडक पुगेको छ । रोल्पा सदरमुकामसँग जोड्न सुलिचौर–उवाबाट र माडीचौर–घर्तीगाउ–दुईखोली–कुरेली हुँदै सडक थबाङसम्म पुगेपछि आवतजावतमा निकै सजिलो भएको छ । सडकको तिर्खा मेटिएपछि थबाङीको ध्यान शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रको विकास गर्नतिर केन्द्रित भएको छ ।

प्रकाशित : असार २३, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?