कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

असल बुहारीलाई सम्मान

परासी — प्रविधिको बढ्दो प्रयोग र व्यस्त दैनिकीका कारण वृद्धवृद्धालाई हेरचाहका लागि सन्तानसँग समय कम छ ।अधिकांश पुरुष रोजगारीका लागि घरबाहिर छन् । महिला, बालबालिका र वृद्धवृद्धा मात्र घरमा भेटिन्छन् । सहाराको खाँचो पर्ने समयमा आफ्नै सन्तान साथमा नहुँदा उमेर ढल्किएका अभिभावकमा निराशा बढ्दो छ । 

स्थानीय तहको चुनावमा अधिकांश उम्मेदवारले हरेक वडामा वृद्धवृद्धाका लागि केन्द्र स्थापना गर्ने भने पनि अहिलेसम्म त्यो कार्यान्वयनमा आएको छैन । पछिल्लो समय वृद्ध बाबुआमालाई छोडेर सन्तान छुट्टिएर बस्ने प्रचलन बढो छ । कतिपय सहाराको अभावमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता पनि छ ।


वृद्ध उमेरमा आउने निराशा र सन्तानलाई आफ्ना अभिभावकप्रतिको दायित्व निर्वाह गर्न पश्चिम नवलरासीको बर्दघाट नगरपालिका–२ ले असल बुहारी सम्मान कार्यक्रम अगाडि बढाएको छ । वडामा रहेका ८० वर्ष पुगेका वृद्ध सासू–ससुराको राम्रो सेवा गर्ने १५ जना बुहारीलाई सम्मान गरेर त्यस्तो कार्यक्रमको सुरुवात गरिएको हो ।


कार्यक्रमले सासू–ससुराको राम्रो हेरचाह गर्नुपर्ने छोरा–बुहारीमा कर्तव्यबोध गराउने र त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने वडाध्यक्ष दया दर्लामीले बताइन् । ‘पछिल्लो समय अभिभावकप्रति आफ्ना सन्तानले दायित्व निर्वाह गर्न नसकेको गुनासो प्रशस्त आएका छन्,’ उनले भनिन्, ‘यसरी असल व्यवहार गर्ने बुहारीलाई सम्मान गरेपछि अन्यलाई पनि यसले शिक्षा प्रदान गर्छ भन्ने विश्वास गरेका छौं ।’


कार्यक्रममा बुबाआमाले सानामा जसरी बालबालिकालाई हुर्काएका थिए, बुढेसकालमा सन्तानले पनि त्यस्तै व्यवहार वृद्धवृद्धालाई गरेर हुर्काउनुपर्ने सन्देश प्रस्तुत गरिएको थियो । ‘नेपालमा प्रायः पुरुष कामको सिलसिलामा घरबाहिर हुन्छन् । घर र परिवारको रेखदेखको जिम्मा महिलाको हुन्छ,’ स्थानीय हिमाकुमारी वलले भनिन्, ‘घरका सासू–ससुरा र ज्येष्ठ सदस्यको हेरचाहमा बुहारीले विशेष भूमिका हुने भएकाले बुहारी सम्मान कार्यक्रम ल्याइएको हो ।’


वडा २ बाट सुरु भएको यो अभियान अब नगरका सबै वडामा सञ्चालन गरिने बर्दघाट नगरपालिका उपप्रमुख माया पौडेलले बताइन् । यसले समाजमा सकारात्मक प्रभाव पार्ने भन्दै असल छोरी मात्र असल बुहारी बन्न सक्ने बताउँदै ज्येष्ठ नागरिकलाई सबैले माया र सम्मान दिनुपर्ने उनले बताइन् ।

प्रकाशित : असार २४, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?