कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

थबाङ र होलेरीले मिडिया सम्मेलन गर्ने

रोल्पा — पर्यटकीय महत्त्व र विकास गतिविधि सार्वजनिक गरी संचारमाध्यममार्फत प्रचारप्रसार गर्ने उद्देश्यले रोल्पाका दुई गाउँपालिकाले आउँदो आर्थिक वर्षमा मिडिया सम्मेलन गर्ने निर्णय गरेका छन् । जिल्लाको उत्तरी थबाङ र दक्षिणी रुन्टीगढी गाउँपालिकाले मिडिया सम्मेलन आयोजना गर्ने योजना बनाएका हुन् । 

शान्ति प्रक्रियापछि विकास गतिविधि र पर्यटकीय सम्भावनाले चर्चामा रहेको थबाङ गाउँपालिकाले आफ्ना गतिविधि चर्चामा ल्याउन र स्थानीय योजना निर्माणमा साथ खोज्न आगामी मंसिर महिनामा थबाङमा प्रदेश ५ स्तरीय मिडिया सम्मेलन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख वीरबहादुर घर्तीमगरले पत्रकार महासंघ र लेखक/स्तम्भकारसँगको समन्वयमा ऐतिहासिक गाउँ थबाङमा मिडिया सम्मेलन आयोजना गर्ने निर्णय भएको बताए ।


‘थबाङको विकासमा मिडियाको समेत महत्त्वपूर्ण योगदान भएकाले यहाँ सम्मेलन आयोजना गरी थप छलफल गर्ने योजना छ,’ गाउँपालिकाका प्रमुख घर्तीमगरले भने, ‘सम्मेलनमार्फत पत्रकार र लेखक/स्तम्भकारको भेला गराई यथार्थ सूचना बाँड्ने योजना बनाएका छौं ।’ उनले तत्कालीन सशस्त्र द्वन्द्वकालीन समयको तुलनामा थबाङ अहिले फेरिएको पनि बताए ।


मिडिया सम्मेलन आयोजना गर्ने निर्णयलाई गाउँसभाले समेत अनुमोदन गरेको गाउँपालिकाले जनाएको छ । यस्तै, गाउँपालिकाले गरेका गतिविधिको प्रचार गराउन र छलफल एवं बहस गर्न रुन्टीगढी गाउँपालिकाले सबै प्रदेशका सञ्चारकर्मीलाई भेला गराउन बजेट विनियोजन गरेको छ । होलेरीमा राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्न नीतिगत निर्णय भएको गाउँपालिका प्रमुख बालाराम बुढामगरले बताए ।


रुन्टीगढी गाउँपालिकाले गत वर्ष होलेरीमा साहित्य र विकाससम्बन्धी दुईवटा भिन्नाभिन्नै सम्मेलन आयोजना गरेको थियो । गाउँपालिकाको गुरुयोजना बनाउन विकास विशेषज्ञसहितको विकास सम्मेलन आयोजना गरेर तीन दिनसम्म विकास मोडेल, पर्यटकीय सम्भावना र स्थानीय उत्पादन वृद्धिका सवालमा छलफल गरिएको थियो ।


साहित्य, संस्कृति र सनातनी विश्वासको विकास गर्न र स्थानीय गतिविधिलाई राष्ट्रिय चर्चामा ल्याउन होलेरीमै अक्षर सम्मेलनसमेत आयोजना गरिएको थियो । सम्मेलनमा मुलुकमा नाम चलेका साहित्यकार र सर्जकलाई होलेरीमा बोलाएर स्थानीय महत्त्वका बारेमा लेख्न उत्साहित पारिएको थियो ।


जिल्लाको जलजला क्षेत्रको विकास गर्न गुरुयोजना बनाउन थालिएको छ । जलजला, होलेरीलगायतका महत्त्वपूर्ण स्थानको विकास गर्न स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले समेत विभिन्न योजना बनाउने गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले ती योजनालाई साझा रूपमा बुझेर स्थानीय तहमा कार्यान्वयन गर्न सके प्रभावकारी हुने बताए ।

प्रकाशित : असार २४, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?