कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विषादी मापन प्रयोगशाला सुरु

अमृता अनमोल

बुटवल — कर्मचारी अभावले बन्द यहाँस्थित विषादी मापन प्रयोगशाला मंगलबारदेखि सञ्चालनमा आएको छ । प्रदेश सरकारले समायोजन भएका प्राविधिक अधिकृतलाई प्रयोगशालामा पठाएपछि कृषिउपज थोक बजार केन्द्रमा विषादी मापन सुरु भएको हो । 
कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेशबाट तलबभत्ता खाने गरी कर्मचारी पठाएर प्रयोगशाला सञ्चालनमा आएको बताइन् ।

विषादी मापन प्रयोगशाला सुरु

‘कर्मचारी प्रदेशमा आउँदा प्रयोगशाला बन्द थियो । विषादी मापन नहुँदा जनस्वास्थ्यमा असर पर्ने देखियो,’ उनले भनिन्, ‘कृषि निर्देशनालयमा समायोजन भएका कर्मचारी पठाएर काम सुरु गरेका छौं ।’ विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा २ प्रकारका विषादीको परीक्षण हुन्छ । प्रयोगशालाको स्तरोन्नति गरी सञ्चालन गर्न र प्रदेश मातहत ल्याउन मन्त्रालयले कसरत थालेको छ । त्यसका लागि संघमा मौखिक र लिखित प्रस्ताव गरेको छ ।


गत असार १० मा प्रयोगशाला प्रदेशमातहत ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई लिखित प्रस्ताव पठाएको थियो । जवाफमा हाललाई साविक अवस्थामा तलब–भत्ता प्रदेशबाट खाने गरी कर्मचारी पठाएर सहयोग गर्न आग्रह गरेको छ । मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीले प्रयोगशाला चलाएर तत्कालका लागि संघीय सरकारलाई सहयोग गरेको बताए । यसको निरन्तरताका लागि प्रयोगशाला हस्तान्तरण गर्न उपयुक्त हुने उनले बताए ।


कृषिउपज थोक बजार केन्द्रमा आउने फलफूल तथा तरकारी मापनका लागि ३ वर्षअघि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको थियो । यहाँ २ जना प्राविधिकले दैनिक १० देखि १२ वटा तरकारी तथा फलफूलका नमुना परीक्षण गर्ने गरेका थिए । अहिले प्राविधिक रामबहादुर खत्री प्रयोगशालामा फर्केका छन् ।


‘एक्लैले काम गर्दा दिनको ५ देखि ७ नमुना परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘तर, परीक्षण हुन्छ भनेपछि आलो विषादीका फलफूल ल्याउन किसान र व्यापारी डराउँछन् ।’ यसअघि भएका परीक्षणमा बेमौसमी तरकारी, फलफूल र क्याप्सिकम (भेडेखुर्सानी) मा धेरै विषादी भेटिएको थियो ।

प्रकाशित : असार २५, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?