१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

किशोरीहरू सुरक्षा माग्दै गाउँपालिकामा

रूपा गहतराज

नेपालगन्ज — ‘ट्युसन पढेर फर्किंदा राति हुन्छ,’ स्थानीय दीपिका शाहीले भनिन्, ‘आफ्नै गाउँठाउँमा पनि रात परेपछि हिंड्न डर लाग्ने यो कस्तो अवस्था हो !’ उनले किशोरीहरूलाई निर्धक्क भएर हिंड्न गार्‍हो भएकाले सुरक्षा माग गर्न गाउँपालिकासम्म आएको बताइन् । 
स्थानीय किशोरीहरूको एक समूह सुरक्षा माग गर्दै आइतबार गाउँपालिका आइपुगेको हो । जानकी गाउँपालिकाकी उपाध्यक्ष भूमिसरा धिताललाई भेटेर उनीहरूले सुरक्षा माग गरे । उपाध्यक्ष धितालले उनीहरूका माग सुनेपछि भनिन्, ‘तपाईंहरूको साहस देखेर खुसी लाग्यो ।’

किशोरीहरू सुरक्षा माग्दै गाउँपालिकामा

जानकी गाउँपालिकाका किशोरी ट्युसन पढ्न र कम्प्युटर सिक्न नेपालगन्ज उपमहानगर पुग्ने गरेका छन् । ५ किलोमिटर टाढा रहेको घर फर्किंदा बाटो सुनसान हुन्छ । बाटोमा प्रहरी बिट छैन । त्रासमा हिंड्न बाध्य भएको किशोरीहरूले गुनासो पोखे । त्यहाँका अधिकांश किशोरी किनमेल र पढाइका लागि नेपागन्ज सहर आउने गरेका छन् । उनीहरूका अनुसार बाटोमा आवाराहरूले जिस्काएर हैरान पार्छन् । प्रतिकार गर्न सक्दैनन् । सहेर बस्न बाध्य छन् । ‘रातिमा सार्वजनिक सवारी साधन पाउन मुस्किल छ,’ किशोरी सिर्जना बुढामगरले भनिन्, ‘रातिमा पनि सार्वजनिक यातायात चलाउने व्यवस्था गरिदिनुस् ।’ किशोरीहरूको प्राथमिकतामा सुरक्षा परेको थियो ।


उनीहरू समूह बनाएर गाउँपालिकामा पुगेका थिए । त्यहाँ आफ्ना गुनासा राखे । ‘हामीलाई अरू केही चाहिएन,’ स्थानीय किशोरी सञ्जालकी सचिव क्रिस्टिना विकले भनिन्, ‘सुरक्षित आवत्जावत्को व्यवस्था होस् ।’ झन् अहिले महिला हिंसाका कुरा सुनेर परिवार आत्तिने गरेको उनले बताइन् । यस्तो वातावरणले पढाइमा पनि असर गर्ने उनले सुनाइन् । किशोरीले समस्या मात्र होइन, समाधान पनि सुझाएका थिए । बाटोमा एउटा भए पनि प्रहरी बिट स्थापना गर्न सुझाव दिए । बाटोमा जिस्काउन कुरेर बस्ने युवालाई तह लगाउने कुरा सुनेपछि गाउँपालिका उपाध्यक्ष धितालले भनिन्, ‘परिवर्तन भनेको यही हो । तपाईंहरूको साहस देखेर खुसी लाग्यो ।’ आफ्नो अधिकारका लागि आफैं एकजुट बनेको देखेर उनले किशोरीको प्रशंसा गरिन् । ‘निर्धक्क भएर हिंड्नुस् । नबिराउनुस्, नडराउनुस्,’ उनले भनिन्, ‘केही समस्या पर्नासाथ मलाई फोन गर्नूस् ।’


उपाध्यक्षले किशोरीहरूसमक्ष नेपालगन्ज पुग्ने रोडमा प्रहरी बिट स्थापनाका लागि तदारुकताका साथ लाग्ने र महिलाका लागि रात्रि बस संचालनका लागि पहलगर्ने विश्वास दिलाइन् । ‘जनप्रतिनिधि किशोरीको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भनिन् । गाउँपालिकाअन्तर्गत ६ वटा वडा छन् । प्रायः वडा दुर्गममा छन् । एक गाउँबाट अर्को गाउँ पुग्न समय लाग्छ । गाउँपालिकाको कार्यालय पुग्नसमेत केही वडालाई घण्टौं लाग्छ ।


छलफलमा सहभागी अधिकारकर्मी नेत्रकला शाहीले किशोरीलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर अगाडि बढ्न सुझाव दिइन् । ‘आफ्नो सुरक्षाप्रति पहिला आफैं सजग हुनुहोस्,’ उनले भनिन्, ‘नचिनेका मानिससँग चाँडो घुलमिल नहुनुस् । सधैं वरिपरिका मान्छेको उद्देश्य बुझेर मात्र संगत गर्नुस् ।’

प्रकाशित : असार २५, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?