बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

रासस

काठमाडौँ — दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । 

सो गाउँपालिका–२ स्थित कजवे डुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति पुर्‍याएको छ । सोमबार र मंगलबार रातभरि परेको पानीले डुडुवामा बाढी आउँदा डुडुवा गाउँपालिकाको बेतहनीमा केही घरसमेत डुबानमा परेको अध्यक्ष चौधरीले बताए । बाढीका कारण सो गाउँपालिकाको वडा नं ३ राजारामपूर्वाका मोलहे अहिरका तीन भैँसी मरेका छन् । भैंसी बाढीले बगाएको थियो ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेको राप्ती नदीमा बाढी आउन सक्ने सम्भावनाका कारण नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी गराए ।
यसैगरी नेपालगञ्जमा परेको दुई दिन देखिको अविरल वर्षाका कारण नगरका होचा बस्ती डुबानमा परेका छन् । ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका हुन् । नालाको निकास नहुँदा स्थानीय बेलासपुर, रानी तलाउ, महेन्द्रपार्क, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझालगायत क्षेत्र जलाम्य भएका छन् ।
ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगञ्ज-१० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ । थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिकाले तदारुकता नदेखाएको स्थानीयवासीको गुनासो छ । एशियाली विकास बैंकको अर्बौं ऋण सहयोग खर्च गरेर नगरभरि सडक र नाला बने पनि डुबान समस्या समाधान नहुँदा नेपालगञ्जवासी आक्रोशित भएका छन् ।
नगर प्रमुख डा धवलशम्शेर राणाले अर्को वर्षदेखि डुबानको समस्या नरहने प्रतिक्रिया दिएका छन् । 'नाला सफा गर्ने मेशिन किन्दैछौँ, अर्को वर्षको वर्षात्अगावै नेपालगञ्जका सबै नाला मर्मत गरेर सफाइ गरिनेछ,' नगर प्रमुख राणाले भने ।

प्रकाशित : असार २५, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्

व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक

रासस

काठमाडौँ — नेपालमा पानीजहाज कार्यालय स्थापनासँगै  अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन् । नेपाली ध्वजावाहक झण्डा अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा फरफराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन् । दर्ताका लागि कम्पनीको अनुमतिपत्र लिनका लागि ललितपुरस्थित नेपाल पानी जहाज कार्यालयमा ती समूह पुगेका छन् । 

कार्यालयबाट अनुमपतिपत्र प्राप्त गरेपछि मात्र कम्पनीले समुद्रमा पानीजहाज सञ्चालन गर्ने पाउने व्यवस्था छ। कार्यालयका रजिष्ट्रार ऋषिराम कोइरालाले कार्यालयमा व्यापारिक पानीजहाज सञ्चालनका लागि इच्छा देखाउँदै दुई प्रस्तावित कम्पनी अनुमतिका लागि आएको बताए। ‘नेपाली ध्वजावाहक झण्डासहित व्यापारिक पानीजहाज सञ्चालनका लागि हामीकहाँ दर्ता गर्नका लागि दुई कम्पनी आइसकेका छन्,' उनले भने, 'तर हामीसँग त्यो अनुमति दिनका लागि ऐन कानुन नभएकोले दिन सकेका छैनौँ।' ती कम्पनीका मानिसले आफूहरुले कानुनका लागि सहयोग गर्नेसमेत बताएका छन्।

कार्यालयले समुद्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गर्नका लागि आवश्यक कानुन बनाइरहेको छ। कानुन बनिसकेपछि कार्यालयमा कम्पनी दर्ता भई समुद्रमा पानीजहाज सञ्चालन गर्नेछन्। विसं २०२७ मा बनेको पानी जहाजसम्बन्धी ऐनले अहिलेको अन्तर्राष्ट्रिय कानुनलाई नसमेट्ने भएकाले नयाँ कानुन बनाउन थालिएको रजिष्ट्रार कोइरालाले बताए। 'अन्तर्राष्ट्रिय कानुननियमलाई समेटेर पानी जहाजसम्बन्धी एकीकृत ऐन बनाउन थालेका छौँ। पहिलेको ऐनले अहिलेको विश्व परिस्थितिलाई समेट्न सक्दैन,' उनले भने, 'त्यसैले ती पहिलेका ऐननियमलाई खारेज गर्दै नयाँ ऐन बनाउन थालेका हौँ।'

विसं २०२७ मा नेपाली ध्वजावाहक झण्डा समुद्रमा फरफराउनका लागि पानीजहाज दर्तासम्बन्धी ऐन २०२७, नेपाली पानी जहाज दर्ता नियमावली- २०२८, नेपाली पानीजहाज (प्रमाणपत्र रोजानाच्चा) ऐन २०२७ र नेपालको प्यापारिक पानीजहाजको झण्डासम्बन्धी ऐन २०२७ ल्याइएको थियो। उनका अनुसार विज्ञ समूहको सहभागितामा कार्यालयले कानुन बनाउने छ।

कार्यालयले यही आर्थिक वर्षमा विज्ञ समूह झिकाई कानुन बनाउने भने तापनि प्राविधिक कारणले नसकिएको कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर विपीन राजभण्डारीले जानकारी दिए। उनले विज्ञ समूहलाई ल्याएर ऐन बनाइने भएकाले अझै समय लाग्ने बताए। 'हामी यही वर्षभित्र ऐन बनाएर कम्पनी दर्ता गरी समुद्रमा व्यापारिक पानीजहाज सञ्चालनका लागि अनुमति दिने तयारीमा रहेका छौँ', उनले भने, ' आउँदो आर्थिक वर्षदेखि हामी विज्ञसमूह बोलाएर ऐनको मस्यौदा बनाउँछौँ।'

ऐन बनाएर अनुमतिपत्र दिनका लागि अझै १० महिनाजति लाग्नेछ। पानीजहाज सञ्चालन गर्नका लागि २७ अन्तर्राष्ट्रिय सन्धिमहासन्धिको पालना गर्नुपर्ने हुन्छ। कार्यालयले इन्टरनेशनल मेरिटाइन अर्गनाइजेशन (आइएमओ) को नियम पालनासम्म गर्नुपर्ने हुन्छ।

मेरिटाइन अर्गनाइजेशन पानीजहाजसम्बन्धी नियमपालना गराउने अन्तर्राष्ट्रिय संस्था हो। यसैगरी कार्यालय पहिलो पटक आन्तरिक जलयान सञ्चालनका लागि ‘जलयान सञ्चालनसम्बन्धी नियमावली ल्याउने तयारीमा रहेको छ। नियमावलीले जलयान दर्ता तथा नियमनसम्बन्धी काम गर्ने कार्यालयका रजिष्ट्रार कोइरालाले जानकारी दिए। उनका अनुसार अहिले नियमावलीको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ।

नियमावली बनेपछि कोशी र नारायणीमा सञ्चालन हुने जलयान कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ। कार्यालयमा अधिकांश कर्मचारी अर्धदक्ष छन्। पानीजहाजसम्बन्धी काम गर्न दक्ष जनशक्ति चाहिए पनि अधिकांश कर्मचारी अर्धदक्ष रहेको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर राजभण्डारीले जानकारी दिए। उनले पानीजहाजसँग सम्बन्धित दक्ष इञ्जिनीयरको खोजी भइरहेको पनि बताए।

'कार्यालय स्थापनासँगै पानीजहाजसम्बन्धी ‘मेरिन इञ्जिनीयर’ सम्पर्कमा आउने गरेका छन्', उनले भने, 'हामीले ती इञ्जिनीयरलाई आवश्यकताअनुसार काममा लगाउने सकिने भएकाले सम्पर्कमा रहिरहन भनेका छौँ।' ती मेरिन इञ्जिनीयरले भारत र जापानका पानीजहाजमा समेत काम गरिसकेका छन्। अहिले पाँच इञ्जिनीयरसहित १६ कर्मचारी छन्। सरकारले समुद्रमा पानीजहाज सञ्चालन गर्नका लागि गत फागुन २ गते कार्यालय स्थापना गरेको हो।

प्रकाशित : असार २५, २०७६ १५:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्