नवलपरासीमा चन्द कार्यकर्ता पक्राउ

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा नेकपा माओवादी नेत्रविक्रम चन्द समूहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चन्द समूहको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला इन्चार्ज शारदा भण्डारी र जिल्ला कमीटी सदस्य कमालुद्धिन अन्सारीलाई पक्राउ गरेको हो । 

अन्सारीलाई रामग्राम १० र भण्डारीलाई सरावल गाउँपालिका १ बासाबाट नियन्त्रणमा लिएको हो । बुधबार र आज बिहान पक्राउ परेका उनीहरु दुवै जनालाई आगलागी तथा संगठीत अपराध अर्न्तगत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी वीरेन्द्र थापाले बताए ।

प्रहरीले चन्द कार्यकर्तालाई नियन्त्रणमा लिएर सवारीसाधनमा आगलागी र संगठित अपराधको अभियोग लगाउने गरेको छ । २२ जना फरार सूचीमा रहेका चन्द कार्यकर्ता मध्य ६ जनालाई नियन्त्रणमा लिएको छ भने १६ जना अझै फरार छन् ।

प्रकाशित : असार २६, २०७६ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय दूतावासबाट आएको पत्रबारे जानकारी किन दिइएन खोजी गरिन्छ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादी जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच सुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट गरे ।
स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उनले भने, 'जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।' उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कातिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
अहिले संघ र प्रदेशबीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै उनले भने, 'कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन् । यी दुई कुरा यथार्थ होइन । प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम संघीय सरकारको हो ।' उनले सुरक्षा, अन्तरराष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय संघ अन्तर्गत हुने व्यवस्था रहेको स्पष्ट गरे ।

प्रकाशित : असार २६, २०७६ १३:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्