१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

६ वर्षमा पनि बनेन पुल

रुकुम पूर्व — सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटदेखि भुमे गाउँपालिकाको केन्द्र खाबाङबगर हुँदै बागलुङ जिल्लाको सीमासम्मको मध्यपहाडी लोकमार्गको अधिकांश खण्ड कालोपत्रे भइसकेको छ  । कालोपत्रेको काम बाँकी रहेको खण्डमा पनि धमाधम काम भइरहेको छ  ।

तर, अहिले पनि रुकुमकोटदेखि खाबाङबगरसम्म सरर गाडी गुड्दैनन् । समयमै पुल नबनेका कारण सर्वसाधारणले दुःख पाइरहेका हुन् । सिस्ने र भुमे गाउँपालिकाको सीमाका रूपमा रहेको रुकुमगाडमा बन्ने पुल निर्माणमा ढिलाइ हुँदा हरेक वर्षामा सर्वसाधारणले दुःख पाइरहेका छन् ।

यस वर्षको वर्षा सुरु भएपछि पनि सर्वसाधारणले उही नियति बेहोर्नुपरेको छ । सिस्ने र भुमे गाउँपालिका जोड्ने रुकुमगाडमाथि बन्नुपर्ने रेलीखोलाको मोटरेबल पुल २ वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने सम्झौता छ । तर, हालसम्म पनि उक्त पुल नबन्दा सडक राम्रो बन्दा पनि यात्रुका वर्षे दुःख भने उस्तै छन् ।


६ वर्षअघि उक्त पुल निर्माणका लागि सहिद मार्ग आयोजनासँग सम्झौता भएको थियो । ३ करोड ७९ लाख २१ हजार ७ सय रुपैयाँमा याकथुम्हाङ/बीबी जेभी निर्माण सेवाले ठेक्का सम्झौताअनुसार ०७४ असोज २० गतेभित्रै यो पुल हस्तान्तरण गरिसक्नुपर्ने थियो । निर्माण कम्पनीका प्रतिनिधि टीका तामाङले अबको एक महिनामा पुल पूरा हुने बताए ।


२ वटा स्ल्याप ढलान गरिसकेको र एउटा मात्रै बाँकी रहेको उनले बताए । डिजाइन परिवर्तन गर्न खोज्दा पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ । पुल नबनेकै कारण दैनिक सयौं यात्रुको यात्रा प्रभावित भएको छ ।

प्रकाशित : असार २९, २०७६ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?