३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

खानेपानीका लागि साढे ३१ करोडको आयोजना

काशीराम डाँगी

रोल्पा — रोल्पा सदरमुकाम लिबाङमा सहरी खानेपानी तथा सरसफाइ आयोजना सुरु हुने भएको छ । करिब ४ वर्षअघि थालिएको पहलको अन्तिम सम्झौता भएपछि काम अघि बढेको हो । 

लिबाङमा एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा सदरमुकामसहित तीनवटा वडामा ठूलो लगानीमा खानेपानी तथा सरसफाइ आयोजना सुरु गर्न रोल्पा नगरपालिका र सहरी खानेपानी तथा सरसफाइ आयोजना विभागबीच निर्माण सम्झौता भएको छ । आउँदो आर्थिक वर्षदेखि सुरु भई तीन वर्षभित्र उक्त आयोजना सम्पन्न हुने नगरले जनाएको छ ।


रोल्पा नगरका प्रमुख पूर्ण केसी, स्थानीय उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्य र सहरी खानेपानी तथा सरसफाइ विभागका अधिकारीबीच आयोजना छिट्टै सुरु गर्ने सहमति भएको छ । आयोजना सम्पन्न गर्न ३१ करोड ५२ लाख ४२ हजार ९ सय ६४ रुपैयाँ खर्चने सहमति भएको नगरले जनाएको छ । आयोजनाबाट शुद्ध र भरपर्दो रूपमा खानेपानी पाउन नगरवासीलाई सजिलो हुने नगर प्रमुख केसीले बताए ।


वर्षौंदेखि खानेपानीको समस्या बेहोर्दै आएका लिबाङवासी बृहत् खानेपानी परियोजना सञ्चालन हुने भएपछि खुसी भएका छन् । यसअघि परियोजनाले ‘फिजिबिलिटी सर्भे’ गर्न र स्थानीय उपभोक्ताबाट रकम संकलन गर्न ढिलाइ गरेको थियो । आयोजनाको ‘सर्भे रिपोर्ट (डीपीआर) गर्न समय लागेका कारण आयोजना सुरु हुन केही वर्ष ढिलो भएको उपभोक्ता समितिका अध्यक्ष आचार्यले बताए । ‘आयोजना सुरु हुने निश्चित भयो । नगरवासीलाई पानीको समस्या पर्दैन,’ उनले भने ।


स्थानीय तहले मुहान दर्ता गर्दा र उपभोक्ता समिति दर्ता गर्दा बढी समय लागेको उनले बताए । आयोजनाको प्रावधानअनुसार योजना सुरु हुने स्थानीय तहबीच सहकार्य गर्न कुल लगानीको २५ प्रतिशत म्याचिङ फन्ड बजेट राख्नुपर्ने हुन्छ । उपभोक्ताले ५ प्रतिशत बेहोर्नुपर्ने प्रावधान छ ।


आयोजना सञ्चालन हुने रोल्पा नगरपालिकाका–१, २ र ४ मा करिब १ हजार २ सय घरधुरी छन् । आयोजनाको सुरुवाती कार्य थाल्दा एडीबीले ४० करोड ऋण लगानी गर्ने धारणा सार्वजनिक गरेको थियो । रोल्पामा सुरु भएको यो तेस्रो चरणको साना सहरी आयोजना हो ।


विभागले यसअघि रुकुम र सल्यानस्थित दोस्रो चरणअन्तर्गतको साना सहरी परियोजनाको कार्य सम्पन्न गरिसकेको छ । नगरपालिका घोषणा गरिएका स्थानको सहरी विकास गर्ने उद्देश्यले सरकारले एसियाली विकास बैंकबाट ऋण लिएर पनि यस्ता आयोजना सञ्चालन गर्दै आएको छ ।


रोल्पा नगरपालिकामा खानेपानी र सरसफाइका थुप्रै समस्या छन् । हाल पाइप व्यवस्थापन, बजार सरसफाइलगायत समस्या छन् । लामो समय लिबाङ बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष रहिसकेका रोल्पा नगरपालिका–१० का वडाध्यक्ष मानबहादुर खत्रीले स्थानीय उपभोक्ता अनुशासनहीन भएकाले पाइप व्यवस्थापन गर्न नसकिएको बताए । ‘बजारभित्र मात्रै खानेपानीका करिब ५ सय धारा वितरण गरिएको छ,’ उनले भने, ‘लिबाङ बजारमा दैनिक करिब २ लाख १० हजार लिटरभन्दा बढी पानी खपत हुन्छ ।’

प्रकाशित : असार ३१, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?