२१ दिनसम्म नगरसभा

बर्दिया — गुलरिया नगरपालिकाको तेस्रो नगरसभा सुरु भएको २१ दिनपछि बजेट पारित भएसँगै सम्पन्न भएको छ । असार १० गते उद्घाटन सत्र सुरु भएपछि नगरसभा स्थगित भएको थियो ।

सोमबार उपप्रमुख सुशीला गिरीले प्रस्तुत गरेको आव ०७६/७७ को बजेट पास भएसँगै सम्पन्न भएको हो ।


तीन सातासम्म वडा भेला, बजेट बाँडफाॅटलगायत विषयमा छलफल भएको थियो । नगरसभामा बोल्दै वडा ७ का सदस्य विनयराज भण्डारीले वडाध्यक्षले विकास गर्छु भनेर धाक नलगाउन सुझाव दिए । वडाध्यक्षले नगरपालिकासँग सिलिङ माग्छन् भने सदस्यलाई पनि १५ प्रतिशत बजेट छुट्याउनुपर्ने उनको माग थियो ।


सभामा उपप्रमुख गिरीले ८० करोड ३९ करोड ७० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकामा बहुमतबाट पारित भएको छ । चालु खर्चतर्फ ५७ करोड ४० लाख ६९ हजार र पुँजीगत २२ करोड ९९ लाख रहेको छ । प्रस्तुत गरेको बजेटअन्तर्गत नगरस्तरीय खेलकुदतर्फ २० लाख र न्यायिक समितिका लागि १५ लाख छुट्याइएको छ । नगरस्तरीय कार्यक्रमका लागि ७ करोड ३९ लाख ७५ हजार विनियोजन गरिएको छ ।


यसैगरी चालु आवमा करको दायरा बढाइएको छैन । अंग्रेजी भाषामा सिफारिस लिंदा ५० रुपैयाँ अतिरिक्त शुल्क लिने भएको छ । गत आवमा लक्षित वर्गको कार्यक्रम १५ लाखको थियो । अहिलेको बजेटमा बढाएर ३० लाख पुर्‍याइएको छ ।


विगतमा उपभोक्तामार्फत निर्माण व्यवसायीबाट गराउँदै आएको विकासका काम पूर्णतः निरुत्साहित गर्ने योजना रहेको नगर प्रमुख मुक्तिनाथ यादवले बताए । वडा भेला गर्न ढिलाइ भएका कारण बजेट पारित गर्न समय लागेको प्रमुख यादवले जनाए । गत वर्ष ९० प्रतिशत विकासका काम उपभोक्ताका नाममा निर्माण व्यवसायीबाट गराएको भन्दै नगरपालिकाले आलोचना खेप्दै आएको छ ।


प्रकाशित : श्रावण १, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?