कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिद्धबाबामा सास्ती

माधव अर्याल

पाल्पा — बुटवलबाट पाल्पाको निस्दी फर्किरहेका घनबहादुर सुनारी मगरको सुक्खा पहिरोले बगाएर गत शुक्रबार ज्यान गयो । सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबामा पहिरोले हानेर उनी मोटरसाइकलसहित भीरमा अड्किएका थिए ।

सिद्धबाबामा सास्ती

‘जतिखेरै पहिरो खस्ने भएकाले दुर्घटनामा परेकाको उद्धार गर्न धेरै समस्या हुन्छ,’ दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक बालबहादुर घर्तीमगरले भने, ‘घाइते र मृतकको उद्धारमा ढिलाइ हुन्छ ।’


बर्खायाम त छँदै छ, सिद्धबाबामा हिउँदमा पनि सुक्खा पहिरो खस्छ । यात्रु जहिल्यै त्रासमा रहन्छन् । ‘दोभानबाट बुटवल नपुग्दासम्म पहाडतिर हेरेर यात्रा गर्नुपर्छ,’ यात्रु चन्द्र रानाभाटले भने, ‘पहिरोबारे जानकारी नभएकाहरू बढी दुर्घटनामा पर्ने गरेका छन् ।’ दोभानदेखि ४ किलोमिटर क्षेत्रमा वर्षा लागेपछि कहाँ कति बेला ढुंगा, पहिरो झर्छ पत्तै हुँदैन ।


उक्त खण्डमा पहिरोकै कारण १४ वर्षमा ८९ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ । उक्त खण्ड कालोपत्रे भएर गाडी सञ्चालन भएको ४८ वर्ष नाघिसक्यो । ०२२ सालमा निर्माण थालिएको सिद्धार्थ राजमार्ग ०२८ सालमा पोखरासम्म पूरा भई ०३५ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो ।


दोभान प्रहरी चौकी प्रमुख घर्तीमगरका अनुसार यो सडक भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङलगायत १२ जिल्लाका सवारीसाधन ओहोरदोहोर गर्छन् । ‘आधा घण्टा मात्र सडक बन्द भए सयौं सवारीसाधनको जाम लाग्छ,’ उनले भने, ‘दिनदिनै हैरानी खेप्नुपर्छ ।’


कमजोर भूगोल

रूपन्देहीको सिमाना चिडियाखोलादेखि पाल्पाको झुम्सासम्म ९ किलोमिटर क्षेत्र जोखिमपूर्ण छ । त्यसमध्ये ४ किलोमिटर क्षेत्रमा बाह्रैमास ढुंगा, पहिरो खस्छ । सडकको रेखांकन नै अत्यन्त कमजोर भूगोलबाट भएकाले मर्मत गर्न चुनौती हुने गरेको डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर केदार नेपालले बताए ।


यही सडकबाट ८ वटा सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी हुन्छ । प्रत्येक दिन दर्जनौं टिपर सञ्चालन हुन्छन् । यसैलाई पहुँच मार्ग बनाइएको छ । अत्यधिक भारवहनले सडकमा क्षति पुग्ने गरेको छ । डिभिजन सडकका इन्जिनियर तथा सूचना अधिकारी सौजन्य नेपालका अनुसार सडकको सतह अत्यन्तै जीर्ण भइसकेको छ ।


६ वर्षअघि कान्छाराम–जयबाबा गोरख जेभीले मर्मतका लागि लिएको ठेक्का अहिलेसम्म पूरा भएको छैन । ‘बीचमै निर्माण व्यवसायीले काम छाडेर भागेको अवस्था छ,’ इन्जिनियर नेपालले भने, ‘निर्माण व्यवसायीलाई के गर्नुपर्छ भनेर बोलाइएको छ ।’ अहिले व्यवसायीले असोज मसान्तसम्म काम सक्ने निवेदन दिएका छन् । सिद्धबाबामा सडक तलबाट भासिन सुरु भएको छ । दोभानको भूतखोला, विद्युत् हेडबक्सनजिकै र तल्लो र माथिल्लो सिद्धबाबानजिकै तल्लो तहबाट सडक भासिएको इन्जिनियर नेपालले बताए । ३० मिटरको ग्याभियन लगाइएको छ ।


वैकल्पिक मार्ग

झुम्साबाट चौकी भन्ज्याङ हुँदै पूर्वपश्चिम राजमार्गको चरंगे, धागो कारखाना जोड्न गत वर्ष ट्र्याक खुलेको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ । रूपन्देहीतर्फबाट ५ र झुम्सातर्फ ५ करोडको काम सुरु भए पनि देखिने गरी नभएको स्थानीय माया थापाले बताइन् ।


झुम्साबाट १६ किलोमिटरमा धागो कारखाना पुगिन्छ । यो सडकलाई सिद्धबाबाको विकल्पका रूपमा उपयोग गर्न सकिन्छ । अर्को विकल्प पूर्वपश्चिम बेलवास–नुवाकोट–दोभान सडक निर्माणको काम अघि बढेको छ । यहाँ कचल र तिनाउ खोलामा पुल राख्नुपर्ने हुन्छ । एउटा पुलको काम सकिन लागेको छ भने अर्को ठेक्का लागेर काम अघि बढेको छ ।


चुरेक्षेत्र भएकाले निकै कमजोर भूभाग पर्ने प्राविधिकले बताए । पूर्व जाने सवारीसाधनलाई बाँसटारी–झडेवा–खैरेनीतर्फ पनि अर्को विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । तर झुम्सा र कचल खोलामा निर्माणाधीन पुलका कारण पनि यस सडक खण्डको काममा ढिलाइ भएको छ ।


सुरुङमार्गको चर्चा

सिद्धबाबा क्षेत्रको यात्रा जोखिममुक्त बनाउन सुरुङमार्ग बनाउने चर्चा चले पनि यो आर्थिक वर्षबाट बल्ल काम थालिँदै छ । अर्थ मन्त्रालयले चालु वर्ष ५० करोड रुपैयाँ विनियोजन गरेको हो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सुरुङमार्ग र सुरक्षित सडक निर्माण गर्न ८ अर्ब ७६ करोड लागत अनुमान छ । १ हजार १ सय २४ मिटर सुरुङमार्ग र सुरक्षित सडक बनाउन ६६ महिना लाग्ने डीपीआरमा उल्लेख छ ।


सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्मको डीपीआर तयार भएको छ । डीपीआर सडक विभाग र सरोकारवाला निकायमा प्रस्तुतसमेत भइसकेको सडक डिभिजन कार्यालयका जिल्ला प्रमुख केदार नेपालले बताए ।


स्विस कन्सल्ट्यान्ट आईटीईसीओ–एएफ (इटिको–एफ) ले डीपीआर तयार गरेको हो । फिल्डको अध्ययनमा भने नेपालको प्लानेट टेस्ट कम्पनीले सघाएको थियो । कम्पनीले सुरुङमार्ग उपयुक्त हुने/नहुने पत्ता लगाउन पहाडभित्रको चट्टानसमेत अध्ययन गरेको थियो । पहिरो झर्ने, रोड साइडका सेफ्टी सामग्री भाँचिएको र सडकलाई बर्सेनि क्षति पुगेको विवरण प्रतिवेदनमा समेटेको छ । सिद्धबाबा क्षेत्रको २ दशमलव ५ सय ८३ किलोमिटर क्षेत्रमा बढी जोखिम रहेको अध्ययनले देखाएको छ ।


तल्लो सिद्धबाबादेखि दोभान चौकी नजिकैसम्मको क्षेत्रलाई प्रतिवेदनमा समेटिएको छ । त्यसमा सुरुङमार्ग बनाउनुपर्ने १ हजार १ सय २४ मिटर मात्र छ । माथिल्लो सिद्धबाबादेखि दक्षिणतर्फको ९ सय ८ मिटर खुला सडक हुनेछ । प्रतिवेदनले अर्को ७ सय ९० मिटर रकसेड गर्नुपर्ने औंल्याएको छ । अत्यधिक जोखिम रहेको क्षेत्रमा सुरुङ घुमाएर लैजाने गरी अध्ययन भएको डिभिजन प्रमुख नेपालले बताए ।


प्रतिवेदनमा ढुंगा खस्ने क्षेत्रमा न्यूनीकरण उपायसमेत सुझाइएको छ । त्यसका लागि सडक चौडा बनाउने, रकनेट साथै रकसेड निर्माणलगायत कार्य गर्नुपर्ने उल्लेख छ । ‘अध्ययन प्रतिवेदनअनुसार अहिलेको सडकको माथिल्लो भागमा बलियो आरसीसी गरेर मोटरसाइकल गुडाउन र पैदल यात्रा गर्न सुरक्षित बनाउने भनिएको छ,’ प्रमुख नेपालले भने, ‘त्यसमा अहिलेको जस्तो खुला हुँदैन । सिसा लगाइन्छ ।’ माथिल्लो भागमा ढुंगा नखस्ने गरी विभिन्न प्रविधि अपनाउने उल्लेख छ ।


सुरुङमार्गमा पनि आकस्मिक अवस्थामा बाहिर निस्कन ३–३ सय मिटरमा ढोका हुनेछन् । सुरुङमार्ग सुरु हुने तल्लो भागमा दुईतले भवन बन्नेछ । पहिलो तलामा ग्यारेज, विद्युतीय कक्ष, भोल्टेज कक्षलगायत हुनेछ भने दोस्रो तलामा विद्युतीय एवं मर्मत कक्ष, कन्ट्रोल, किचन, डायनिङ, कन्ट्रोल रुम, बैठक कक्ष बनाउन सुझाव दिइएको छ । यी सबै काम निर्माण व्यवसायीले सरासर गर्ने हो भने नोभेम्बर २०२५ सम्म सक्ने डीपीआरमा उल्लेख छ ।

प्रकाशित : श्रावण २, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?