मदरसा शिक्षा माग

परासी — मदरसाबाट ५ कक्षा उत्तीर्ण गरेपछि पश्चिम नवलपरासीका मुस्लिम समुदायका विद्यार्थीलाई थप अध्ययनका लागि भारत जानुपर्ने बाध्यता छ ।

छात्रले यस्तो अवसर पाउने भए पनि अधिकांश मुस्लिम छात्रालाई पढाइ छाडनुपर्ने बाध्यता छ । मर्का परेपछि यहाँका मुस्लिम विद्यार्थीले जिल्लामै उच्च उर्दु शिक्षाको माग गरेका छन् ।


मदरसामा अध्ययनरत बालबालिकाका लागि उच्च शिक्षाको व्यवस्था नहुँदा मातृ शिक्षाबाट बन्चित हुनुपरेको भन्दै यस्तो माग गरेका हुन् । जिल्लाका सबै मदरसामा कक्षा ५ सम्ममात्र अध्यापन हुँदै आएको छ । विपन्न परिवारका बालबालिकाले भारतमा गएर शिक्षा हासिल गर्न नसक्दा पढाइ छोडन बाध्य रहेको अहले बैत संस्थाका अध्यक्ष सैयद गुलाम हुसैनले बताए ।


इस्लाम धर्मअनुसार छात्रलाई मदरसामा शिक्षा प्रदान गरिन्छ । छात्राका लागि छुट्टै मदरसा (निस्वां)मा शिक्षा दिने व्यवस्था छ । छात्रछात्रा एकै ठाउँमा राखेर शिक्षा लिने/दिने इस्लामिक संस्कार छैन । त्यसको मारमा यहाँका छात्रा परेका छन् । पाल्हीनन्दन गाउँपालिका–२ का मोहम्मद खानले कक्षा ५ सम्म मदरसामा अध्ययन गरे ।


थप कक्षाका लागि भारत जानुपर्ने भएपछि उनी स्थानीय सामुदायिक विद्यालयमा भर्ना भएर अध्ययन गरिरहेका छन् । ‘छोरालाई अन्य विद्यालयमा पठाउने भए पनि छोरीलाई सामुदायिक विद्यालयमा पठाउन आनाकानी गर्छन्,’ उनले भने, ‘मदरसामा नै गणित, अंग्रेजी, विज्ञान तथा अन्य विषय समावेश गरेर उच्च शिक्षाको पाठ्यक्रम तयार गरेर पढ्न पाउनुपर्ने व्यवस्था हुनुपर्छ ।’


शिक्षा कार्यालयले धार्मिक विद्यालयका रूपमा मदरसा संचालनको अनुमति दिएको छ । जिल्लामा यस्ता ४३ मदरसा भए पनि सबै कक्षा ५ सम्ममात्रै सीमित छन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?