कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘कृषि विशेष क्षेत्र’ घोषणा तयारी

माधव अर्याल

पाल्पा — तिनाउ गाउँपालिकाले कृषि क्षेत्रको उत्पादनलाई बजार मूल्यमा प्रतिस्पर्धी बनाउन ‘कृषि विशेष क्षेत्र’ घोषणा गर्ने भएको छ । विशेष अनुदानका माध्यमबाट उत्पादन लागत कम गराउँदै उद्देश्य पूरा गर्ने लक्ष्य लिएको हो ।

‘उत्पादन लागत कम गराउन विशेष अनुदानको कार्यक्रम ल्याइएको छ,’ तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले भने, ‘पालिकाभित्र उत्पादित कृषिजन्य वस्तुको सही तथ्यांक यकिन गरेर आत्मनिर्भर बनाइनेछ ।’


तिनाउ गाउँपालिका रूपन्देहीसँग जोडिएको छ । यसको भूभाग चुरेमा पर्ने भए पनि उर्वर भूमि छ । कृषिबाट आत्मनिर्भर नभएसम्म दैनिक खाद्य पदार्थमा बाह्य निर्भरतामा रहनुपर्ने भएकाले पनि ‘कृषि विशेष क्षेत्र’ घोषणा गरेर कार्यक्रम अघि बढाउने योजना बनाएको अध्यक्ष घर्तीले बताए ।


बाह्य निर्भरतालाई प्रतिस्थापन गरी जनताको आर्थिक उन्नति गर्नका लागि कृषि उत्पादनमा विशेष जोड दिने योजना अघि बढाएको उनले बताए । पाँचौं गाउँसभाले पनि कृषि र पशुपालनका लागि एक करोड बजेट विनियोजन गरेको छ । अध्यक्ष घर्तीका अनुसार कृषिमा ६० लाख र पशु विकासमा ४० लाख बजेट विनियोजन गरेर अघि बढेको बताए । ‘अघिल्लो वर्ष सुरुआत भएको एक वडा एक उत्पादनलाई यस वर्ष पनि जोड दिइनेछ,’ उनले भने, ‘दूधलगायत पशुपालन र कृषि उत्पादनमा आधारित अनुदानको सुरुआत गर्नेछौं ।’


अन्डा, मासु, दूध, दालचिनी, अम्रिसोको तथ्यांकसमेत लिइनेछ । बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी उत्पादन र बजार व्यवस्थापनमा यस वर्ष जोड दिने उनले बताए । तिनाउ गाउँपालिकाका ६ वडामध्ये दोभान, मस्याम, झुम्सा, कोलडाँडा, ओखलढुंगालाई तरकारी उत्पादन क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको उपाध्यक्ष दमयन्ती थापाले बताइन् ।


उनका अनुसार ओखलढुंगामा माहुरी पालन र अम्रिसोको पकेट क्षेत्र घोषणा गर्न मिल्छ । सत्यवती, चौकीभन्ज्याङ, कोलडाँडा क्षेत्रलाई तेजपात र केरा उत्पादनमा व्यावसायिक बनाउन सकिन्छ । यहाँको केरा तानसेन र बुटवल बजारमा लोकप्रिय छ । तेजपात भैरहवा, बुटवल, नेपालगन्ज, चितवनका साथै भारत निकासी हुँदै आएको छ ।


सत्यवतीको लगाड र मस्यामको उपल्लो क्षेत्र कफी खेतीका लागि सम्भावना रहेको गाउँपालिकाको निर्क्योल छ । बुढीकोट, काफलबारी, जन्तिलुङ, मरामकोट, सुकेताल, बडहरेलगायतका गाउँमा मौरीको कार्यक्रम लैजाने उपाध्यक्ष थापाले बताइन् । मस्याम क्षेत्रमा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्ने र आवश्यक स्थानमा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने योजना गाउँपालिकाको छ ।


‘कफीलाई प्रवर्द्धन गर्दै जाने योजना पनि छ,’ उपाध्यक्ष थापाले भनिन् । कचललाई अन्न भण्डारका रूपमा अघि बढाउने र फाँटमा गह्रा सुधारका कार्यक्रम ल्याउने योजना गाउँसभामा पेस भएको छ । गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठका अनुसार दोभान क्षेत्रमा माछापालनको सम्भावना भएकाले सम्भाव्यता अध्ययन र परीक्षण परियोजना लागू गरिनेछ ।


झुम्साको लग्दुवा क्षेत्रलाई आलु, तरकारी र काँक्रो उत्पादन क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष प्रेम पाण्डेयले बताए । दोभान र झुम्साको खोला किनारका बस्तीलाई पशुपालनको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना पनि अघि बढेको उनले बताए ।


प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिएर नजिकको बुटवल बजारमा बिक्री गर्न लैजाने योजना बनाएर काम अघि बढाइने बताए । ‘यस वर्ष सम्भाव्यता अध्ययन गरिनेछ,’ उनले भने, ‘सँगसँगै परीक्षण उत्पादन र अनुदानको पनि व्यवस्था हुनेछ ।’


गाउँपालिकाको झिँगामारा, ठुलीउदाङ, हरियाली गाउँ, कोलाडाँडा, गिजनचौर, पाटन, चौकीभन्ज्याङलगायत क्षेत्रमा बाख्रापालनको पनि उत्तिकै सम्भावना छ । सम्भाव्यता अध्ययन गरी समूहगत बाख्रापालन फार्म स्थापनाको पूर्वाधार तयार गरी कार्यक्रम लागू गर्न विशेष अनुदान दिने व्यवस्था नीतिमा आएको उनले बताए । मस्याल, दोभान र झुम्सा क्षेत्र पशुपालनका लागि उपर्युक्त छन । आँप, लिची, केरा, कागती पकेट क्षेत्रका रूपमा समेत अघि बढाउने योजना रहेको उनले बताए । धान र मकैको बीजवृद्धि कार्यक्रम पनि अगाडि सारेका छन् ।


साढे ४० करोड बजेट

तिनाउ गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४० करोड ४७ लाखको बजेट पाँचौं गाउँसभाबाट पारित गरेको छ । नीति तथा कार्यक्रम र बजेट पारित गरेपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उसले भौतिक पूर्वाधारको विकासको मेरुदण्डका रूपमा लिएर सडक निर्माण कार्यलाई यस वर्ष पनि प्राथमिकतामा राखेको छ ।


अन्य विकासको लगानीलाई कम गराउने र जनताको दैनिक जीवनयापनलाई सहज सुलभ बनाउने अध्यक्ष ओमबहादुर घर्तीले बताए । ‘एक ठाउँबाट अर्को ठाउँको सम्बन्ध स्थापित गर्न सहयोग मिल्छ,’ उनले भने, ‘त्यसैले पनि भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने पालिकाले नीति लिएको छ ।’


उनका अनुसार गाउँपालिकाभित्र अब नयाँ ट्र्याक खोल्नुपर्ने १६ किलोमिटर मात्रै छ । ट्र्याक खोली सकिएको र स्तरोन्नति गर्न बाँकी सडकको लम्बाइ तिनाउमा २ सय १० किलोमिटर रहेको छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?