कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नहरमा पानी छोडियो

बर्दिया — यहाँस्थित बबई सिँचाइ आयोजनाले नहरमा पानी छाडेको छ । पूर्वतर्फको नहरमा यसपटक पानी छाडिएको हो । आयोजनाको मूल बाँधबाट पश्चिम २८ र पूर्वतर्फ ३४ किलोमिटर दूरीसम्म पानी पुगेको छ । जिल्लामा रोपाइँ सकिन लागे पनि सिँचाइका लागि पानी आवश्यक छ ।

नहरमा पानी छोडियो

केही दिन वर्षा भएपछि बबईमा पानी बढेको छ । त्यसले सबै क्षेत्रको नहरमा पानी पुगेको हो । बढैयाताल गाउँपालिकामा रहेको कच्ची नहरमा पनि पानी छ । यसअघि पानी नभएर नहर सुक्खा थियो । अहिले बबईमा पानीको मात्रा ३० क्युमेक्सभन्दा बढी छ । वर्षा हुनुअघि ५ क्युमेक्स थियो ।


आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले पानी बढेपछि मूल र शाखा नहरमा पानी पुगेको बताए । ‘पूर्व–पश्चिम सबैतिरका नहरमा पानी छाडेका छौं । रोपाइँ गर्न सहज भएको छ,’ उनले भने, ‘मूल नहरमा पानीको समस्या छैन । शाखा नहरमा माथिका किसानले पानी छेक्ने गरेकाले तलाका किसानलाई ढिलो पानी पुग्ने समस्या छ ।’


आयोजनाका कर्मचारीले सबैतिर पुग्ने गरी नहरमा पानी छाडेका छन् । ‘हामीले सबैतिर पानी पुग्ने गरी मिलाएका हुन्छौं । तर, किसानले भने बढी पानी प्रयोग गर्दा समस्या हुने गरेको छ,’ उनले भने । आयोजनाले ५ महिना पानी दिने र बाँकी समय मर्मतको काम गर्दै आएको छ । बबईमा पानीको मात्रा कम भएकाले सबैतिर पठाउन समस्या हुने गरेको हो ।


आयोजनाबाट जिल्लामा ३६ हजार हेक्टरमा सिंचाइ हुने लक्ष्य छ । पश्चिम क्षेत्रमा भने बढी सिंचाइ हुने गरेको छ । आयोजनाका लागि अहिलेसम्म ४ अर्बभन्दा बढी लगानी भइसकेको छ । आयोजनाका लागि आवश्यक पर्ने पानीका लागि भेरी बबई डाइभर्सन आयोजना सुरु गरिएको छ । ६ महिनापछि पहिलो चरणमा भेरीको पानी बबई हुँदै खेतमा पुग्नेछ । पहिलोपल्ट भेरीबाट बबई नदीमा ८ देखि १० घनमिटर प्रतिसेकेन्ड पानी छोडिनेछ ।


पानीले बर्दियामा बाह्रै महिना सिंचाइ हुने लक्ष्य छ । भेरीको पानी सुरुङमार्फत बर्दियाको चेपाङस्थित बबई नदीमा खसाउने तयारी छ । मूल गेटको पूर्वीतर्फको पदनहा, बानियाभार, मगरागाडी, धधबार महममदपुर, कालिका, मैनापोखर, सोरहवा, जमुनी र बाँसगढी नगरपालिकाका र पश्चिमतिर नेउलापुर, बगनाहा, ढोढरी, सूर्यपटुवा, ठाकुरद्वारा नगरपालिका लगायत मधुवन नगरपालिका र गुलरिया नगरपालिकामा समेत सिंचाइ हुने आयोजनाको दाबी छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?