१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लुम्बिनीमा वर्षावास सुरु

वर्षावासका बेला साँझ–बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्छन् । त्यस बेला बुद्ध गुन, धर्म गुन, संग गुन र धर्म देशना गर्दै पूजाआजा गरिन्छ । 

लुम्बिनी — स्वदेशी एवं विदेशी भिक्षु/भिक्षुणीले यहाँ तीनमहिने वर्षावास सुरु गरेका छन् । बुद्धस्थलमा वर्षावास बस्न यसपटक थाइल्यान्डबाट १२ भिक्षु आएका छन् । बुद्ध धर्मावलम्बीका लागि वर्षावास महत्त्वपूर्ण पर्व हो ।

लुम्बिनीमा वर्षावास सुरु

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले लुम्बिनीस्थित नव मैत्री महाविहारमा बुधबार यसको शुभारम्भ गरेका हुन् । उनीसँगै शिष्यहरू श्रामनेर पिय रतन, कोण्डन्य, शारद, वाप्प र स्पर्ण वर्षावास बसेका छन् । उनलाई वर्षावासको निम्तो दिन बुटवलबाट उपासक/उपासिका लुम्बिनी पुगेका थिए ।


महाविहारमा पूजा/आराधना गरेर भिक्षुलाई निम्तो दिए । उनीहरूको निम्तो स्वीकार गर्दै भिक्षु र श्रामनेरले वर्षावास थाले । बुद्ध धर्ममा असारदेखि असोज पूर्णिमासम्मलाई वर्षावास भनिन्छ । लुम्बिनीको राजकीय थाई विहारमा ११ भिक्षु र म्यानमारको गोल्डेन टेम्पलमा २ जना भिक्षु वर्षावास बसेका छन् । त्यस्तै श्रीलंका विहारमा १ भिक्षु र महाबोधी सोसाइटीमा २ भिक्षु वर्षावास बसेका छन् । थेरावाद विहारमा ३ भिक्षु वर्षावास बसेका छन् ।


कपिलवस्तुको तिलौराकोटमा ४, निग्रोधाराममा ४ र नवलपरासीको रामग्राममा ४ थाई भिक्षु वर्षावास बसेका छन् । विभिन्न ४ मुलुकका ३६ भिक्षु/भिक्षुणी लुम्बिनी, रामग्राम र कपिलवस्तुमा वर्षावास बसेका छन् ।


‘राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था बिताएको तिलौराकोटमा वर्षावास बस्न बैंककबाट आएको छु,’ थाई भिक्षु फ्रा सुरापोनले भने, ‘राम्रो ध्यानलाभ गर्दैछु ।’ यहाँबाट प्राप्त हुने सद्भाव, करुणा र भ्रातृत्वलाई थाइल्यान्डमा लगेर बाँडने उनले प्रण गरे । वर्षावास बस्दा आफूले गरेको कमजोरी र त्रुटिमा क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षावास बस्ने लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजिरप्रेमले बताए ।


वर्षावासका बेला साॅझ–बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्छन् । त्यस बेला बुद्ध गुन, धर्म गुन, संग गुन र धर्म देशना गर्दै पूजाआजा गरिन्छ । वर्षावासका बेला बिहान एक छाक खाना खाने गर्छन् । सकेसम्म स्थानीयसँग भिक्षा मागेर खाने गर्छन् । ३ महिनापछि फेरि वर्षावासका लागि निम्तो दिने उपासक/उपासिका आएर भिक्षुलाई चिवर (पहेंलो वस्त्र) दान गर्छन् । त्यसपछि वर्षावास पूरा हुन्छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?