कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बंगलादेशी महिला र बच्चा फर्किने

परासी — एक वर्षअघि पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सडकमै शिशु जन्माई रहेको अवस्थामा उद्धार गरिएकी बंगलादेशी नागरिक स्वदेश फर्किने भएकी छन् ।

मानसिक सन्तुलन गुमाएको अवस्थामा फेला परेकी उनी उपचारपछि निको भएकी छन् । उनको बच्चालाई परासीस्थित जिल्ला अस्पतालमा राखेर नर्स र महिला प्रहरीले हुर्काएका थिए ।


बंगलादेशको मानिकगन्ज नजिकै माइत र आरिसा घर बताउने ४६ वर्षीया शालम खातुनलाई विभिन्न संघसंस्था र रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुँवरको पहलमा उपचारपछि निको बनाएर स्वदेश फिर्ता गराउन सफलता मिलेको हो । भारत हुँदै बस चढेर नेपाल आएको बताउने उनले आफूलाई छिटो घर जाने वातावरण बनाइदिन आग्रह गर्दै आएकी थिइन् । सुरुमा बंगलादेशी दूतावासले चासो नदिँदा ढिलाइ भएको थियो । उनको अवस्थाबारे कान्तिपुरमा समाचार प्रकाशित भएपछि दूतावासले यसबारे चासो देखाएको थियो ।


रामग्रामकी उपप्रमुख कुँवरका अनुसार त्यसपछि आवश्यक कागजपत्र मिलाएर स्वदेश फर्काउन सकिने प्रक्रिया अगाडि बढाएको थियो । सञ्चारकर्मी, मानव सेवा केन्द्र, कोसिस नेपाल र जनप्रतिनिधिको सहयोगमा बंगलादेशमा उनका आफन्त पत्ता लगाएर नागरिकता मगाएपछि मात्र दूतावासले स्वदेश फिर्तीका लागि पहल गरेको थियो ।


नेपाल प्रवेशका लागि खातुनसित कुनै पनि कागजात नभएकाले ढिलाइ भएको हो । मानसिक सन्तुलन ठीक नभएको चिकित्सकको रिपोर्ट आएपछि मात्र दूतावासले हवाई टिकट र अन्य कागजात बनाइदिएपछि मुलुक फर्किन लागेकी हुन् । आवश्यक कागजात प्राप्त गरेपछि आगामी सोमबार छोरासहित बंगलादेश उड्ने छन् ।


खातुनलाई गोवरहिया प्रहरी चौकी नजिकबाट उद्धार गरेर प्रहरीले अल्पकालीन उद्धार केन्द्रको जिम्मा लगाएको थियो । उनको रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा कोसिस नेपाल ललितपुरमा मानसिक स्वास्थ्यको उपचार गरिएको थियो । उक्त अवधिमा उनका छोराको पृथ्वीचन्द्र अस्पतालमा नर्स र महिला प्रहरीको रेखदेखमा संरक्षण गरिएको रामग्राम नगरपालिकाकी उपप्रमुख कुँवरले बताइन् ।


‘मानसिक सन्तुलन ठीक थिएन, सडकमै प्रसव पीडामा भएको अवस्थामा उद्धार गरिएको थियो । पूर्ण रूपमा निको भएपछि बंगलादेशी नागरिक भन्ने पत्ता लाग्यो,’ कुँवरले भनिन्, ‘बच्चा र आमाको संरक्षण गरेर उनको देशमा पठाउन पाउँदा खुसी लागेको छ ।’

प्रकाशित : श्रावण ४, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?