कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै वडामा प्रयोगशाला

पाल्पा — चालु आर्थिक वर्षबाट रम्भा गाउँपालिकाअन्तर्गत सबै वडामा प्रयोगशाला (ल्याव) सेवा सुरु हुने भएको छ । गाउँपालिकाका ५ मध्ये ४ वडामा गत आर्थिक वर्षमा यस्तो सेवा सुरु भइसकेको छ । 

चालु आर्थिक वर्षमा बाँकी एक वडामा सुरु भएपछि सबै वडामा पुग्ने रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । यसअघि ताँहुमा प्राथमिक स्वास्थ्य केन्द्र, फोक्सिङकोट, हुँगी, पिपलडाँडामा ल्याब सेवा सुरु भइसकेको छ । हुमीनमा ल्याब सेवा स्थापनाका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको छ ।


‘नागरिकको स्वास्थ्य ठिक भयो भने सबै काममा फिट हुन्छन,’ उनले भने, ‘त्यसैले अघिल्लो वर्ष पनि स्वास्थ्यको क्षेत्रमा बढी काम गरेका छौं ।’ यसवर्ष पनि ५० लाख बढी विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार ल्याब सेवा दिने कर्मचारी गाउँपालिकाकै खर्चमा राखेको हो । जसका लागि १४ लाख तलबका लागि मात्र खर्च हुन्छ ।


विद्यालयमा सेनेटरी प्याड बितरणका लागि १ लाख ५० हजार, स्त्रीरोग परीक्षण तथा सामान्य परीक्षणका लागि विशेषज्ञसहितको स्वासथ्य शिविर संचालनका लागि ७ लाख छुट्याएको छ । सामुदायिक स्वासथ्य इकाई स्थापनाका लागि ५ लाख, आयुर्वेदिक औषधालय स्थापनाका लागि ४ लाख, जटीबुटी पहिचान, संकलन तथा संवर्द्धनका लागि एक लाख, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापनका लागि २ लाख ५० हजार बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए ।


त्यस्तै आवश्यक औषधि अभाव हुन नदिने योजना अनुसार ५ लाख बजेट छुट्याएको छ भने महिला स्वयंसेविका प्रोत्साहन भत्ताका लागि ३ लाख ५० हजार छुट्याएको छ । उनका अनुसार सुत्केरी प्रोत्साहनका लागि ५ लाख रहेको छ । मृगौला, मुटुरोगी उपचार सहायताका लागि पनि ५ लाख बजेट विनियोजन गरेको छ ।


गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठका अनुसार नागरिकको स्वास्थ्य क्षेत्रलाई सुधार्न पूर्ण सरसफाई उन्मूख वडा घोषणा गर्ने कार्यक्रम पनि रहेको छ । ‘अघिल्लो वर्ष हुमीनलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरियो,’ उनले भनिन्, ‘यस वर्ष बाँकी वडामा काम हुनेछ ।’ स्वास्थ्यको क्षेत्रमा अलि बढी ध्यान दिएर काम गरेको उनले बताइन् ।


गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले रम्भा गाउँपालिकालाई चालु आर्थिक वर्षमा पूर्ण सरसफाइ उन्मख, शून्य होम डेलिभरी, टुकीरहित गाउँपालिका, खरको छानामुक्त गाउँपालिका बनाउने योजना साकार गर्ने बताए । ‘धेरैले यस्तो कार्यक्रमलाई महात्त्वाकांक्षी भनेका छन्,’ उनले भने, ‘तर हामीले काम गरेर देखाउने हो र नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गर्नेछौं ।’

प्रकाशित : श्रावण ४, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?