१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

स्थानीय तह : कृषि, स्वास्थ्य, शिक्षा र सडकमा लगानी

काशीराम डाँगी

रोल्पा — स्थानीय तहका जनप्रतिनिधिले विकास निर्माणका कामलाई प्राथामिकता दिएका छन् । तत्कालीन सशस्त्र द्वन्द्वको प्रभाव, दुर्गम र गरिबबीच विकास योजनालाई अगाडि बढाएको अधिकांश जनप्रतिनिधिको भनाइ छ ।

योजना सञ्चालनका लागि कम बजेट, जनशक्ति पलायन र कम शैक्षिक चेतनाले समस्या परिरहेको छ । जिल्लामा कृषि, शिक्षा, स्वास्थ्य र सडक विकासका योजनामा जोड दिइएको छ ।


भौगोलिक कठिनाइ, कर्मचारी अभाव र सञ्चार (इन्टरनेट) सुविधा प्रयाप्त नभएकाले जिल्लाको समानुपातिक विकास गर्न चुनौती रहेको जनप्रतिनिधिले बताए । सबै गाउँको आर्थिक, सामाजिक र शैक्षिक अवस्था समान नभएकाले विकास योजना त्यस अनुसार तयार गर्नुपर्ने जनप्रतिनिधिको जिम्मेवारी छ ।


तर, नगर र गाउँपालिकाले सबैलाई दामासाही बजेट बाँडफाँड गरेकाले समानुपातिक विकास हुन सकेको छैन । जिल्लाका दुर्गम गाउँसम्म सडक पुर्‍याउन सकिएको छैन । शैक्षिक अवस्था, स्वास्थ्य सेवा र सञ्चार सम्पर्क ती दुर्गम गाउँसम्म पुग्न सकेको छैन । यहाँका हरेक स्थानीय तहले भौतिक विकासमा ध्यान केन्द्रित गरेका छन् ।


बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएका छन् । दुई जनप्रतिनिधिले सडक खन्न बजेट खर्च गरे । सडक खन्ने, विद्यालय भवन, मैदान निर्माण र साना खानेपानीमा पर्याप्त बजेट खर्च गर्दै आएका छन् । ‘सबै क्षेत्रको विकास गर्नुपर्ने अवस्था थियो । प्राथमिकता कुन कुरालाई दिने भन्नेबारेमा धेरै पटक सोच्नु पर्‍यो’, परिवर्तन गाउँपालिकाका प्रमुख निमकान्त डाँगीले भने, ‘बल्ल मुख्य एजेण्डाबारे जानकारी पाइयो ।’ कृषि र पशुपालनलाई मुख्य क्षेत्र छान्दै बजेट विनियोजन गरेको उनले बताए । घर, गोठ सुधारदेखि कृषिको आधुनिकीकरण गर्नु पर्ने अवस्था एकैचोटि आइलागेको उनले बताए ।


यस्ता छन् योजना

त्रिवेणी गाउँपालिकाले कृषि क्षेत्र विकास गर्न भित्री र बाहिरी चक्रपथ निर्माण थालेको छ । सडक सञ्जाल जोडेर कृषि र पशुपालनलाई जोड दिने योजना छन् ।


‘तरकारीको पकेट क्षेत्र बनाउँदै पशुपालक कृषकलाई सहयोग गर्ने योजना छन्,’ गाउँपालिकाका प्रमुख शान्तकुमार वलीले भने, ‘विद्युतीकरण, सामाजिक चेतना विस्तार गर्दै आधुनिक विकासतिर जोड्ने योजना अघि सारेका छौं ।’ स्थानीय तहमा रोजगारी सिर्जना गर्दै बसाइसराइँ रोक्ने र युवाका लागि गाउँमै रोजगारी सिर्जना गरिने प्रमुख वलीले बताए ।


बालविवाह रोक्ने, बालबालिकालाई विद्यालय पठाउन र शैक्षिक सुधार गर्ने योजनामा लगानी गरिएको उनले बताए । जनचेतना बृद्धि, मदिरा नियन्त्रण, जुवातास बन्द र स्थानीय श्रमिकको सम्मानलाई प्राथमिकता दिइएको छ । त्रिवेणीले पूर्वाधारका योजनामा ३ करोड, शिक्षामा डेढ करोड र कृषि क्षेत्रको विकासका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।


रुन्टीगढी गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, सडक निर्माण, कला साहित्यको संरक्षण र जडिबुटी उत्पादन गर्न सघाउने लगायतका योजना बनाएको छ । गाउँपालिकाका प्रमुख बालाराम बुढामगरले कृषि क्षेत्रको पकेट क्षेत्र निर्धाण गर्दै कृषकलाई सघाउने योजना रहेको बताए ।


अघिल्लो वर्ष होलेरीमा गाउँपालिकाले विकास सम्मेलन आयोजना गरेर योजना र क्षेत्रको पहिचान गरेको थियो । ‘अब ती क्षेत्र र योजनाको कार्यान्वयन गर्दै जाने हो’, उनले भने, ‘नगदे बालीको प्रवर्द्धन गर्ने, ज्येष्ठ नागरिक, बालबालिका, अपांग, एकल महिलालाई सम्मान गर्ने योजना छ ।’ होलेरी एकीकृत वस्ती विस्तार गर्न पर्याप्त बजेट छुट्याइएको छ ।


गाउँपालिकाभित्र पर्ने स्वर्गद्वारी महाप्रभुको जन्म गाउँ रुन्टीको विकास गर्ने, होलेरी र गढीलेकको पर्यटकीय महत्व बृद्धि गर्ने योजना कार्यान्वयन गर्न बाँकी रहेको प्रमुख बुढामगरले बताए । दक्षिणको तराई क्षेत्र पर्ने दाङसँग सीमा जोडिएको समुद्र सतहदेखि करिब २ हजार ५ सय मिटरसम्मको उचाई भएको उक्त गाउँपालिकामा नगदे बालीको प्रशस्त संभावना छ ।


प्राविधिक एवं उच्च शिक्षाको अवसर ल्याउने योजना छ । रुन्टीगढीले शिक्षामा ८५ लाख, स्वास्थ्यमा ७१ लाख बजेट विनियोजन गरिएको छ । जिल्लाकै सुगम क्षेत्र मानिएको सदरमुकाम रहेको रोल्पा नगरपालिकामा पनि विकास योजना तय गर्दा दुर्गमलाई प्राथमिकता दिइएको छ ।


युवा लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिन थालिएको नगरले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमै बजेट खर्च गर्दै आएको छ । नगरका १० वटै वडालाई सडक सञ्जालले जोड्ने लक्ष्य लिइएको छ । केहीमा अझै जोड्न बाँकी छ । नगरको विकास योजनाबारे प्रवक्ता रहेका वडा नं ९ का अध्यक्ष मिमबहादुर घर्तीमगरले समानुपातिक विकास गर्न दुर्गममा पर्याप्त बजेट नभएको गुनासो गरे ।


नगरले सडक निर्माणमा ठूलै बजेट खर्च गर्दै आएको छ । नगर उद्यान, भ्यू टावर निर्माण र हेलिप्याड बनाउन ठूलै बजेट खर्च भइरहेको छ । युलाई विभिन्न तालिम दिनका लागि नगरले वार्षिक रुपमा ३० लाख बजेट छुट्याउदै आएको छ । खेल मैदान, चौर, टुँडिखेल, बसपार्क र विद्यालय खेलमैदान निर्माण गर्न पनि नगरले बजेट खर्चदै आएको छ ।


यस्तै पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिकाले खरको छाना विस्थापित गर्ने योजना मुख्य प्राथमिकतामा राखेको छ । बसपार्क निर्माण, सडकको स्तरोन्नति र शिक्षा क्षेत्रको सुधारका लागि बजेट विनियोजन गरिएको छ । गाउँपालिकाबासीले कक्षा १२ सम्म अनिवार्य शिक्षा लिनु पर्ने सर्त अघि सारिएको प्रमुख गुणेन्द्र घर्तीमगरले बताए ।


गाउँपालिकाले शिक्षा क्षेत्रमा करिब १५ लाख बजेट छुट्याएको छ । साना र मझौला खालका हाइड्रोवापर योजना संचालन संभावना रहेको उक्त गाउँपालिकाले मोटर चल्ने पुल र सडक कालोपत्रे गर्ने योजना पनि अघि सारेको छ । माडी गाउँपालिकाले पनि भौतिक पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमै लगानी केन्द्रित गरेको छ ।


शिक्षा क्षेत्रमा करिब १ करोड ३७ लाख विनियोजन गरेको उक्त गाउँपालिकाले ९ स्थानमा फलफूलको पकेट क्षेत्र घोषित गरेको छ । आधुनिक कृषि क्षेत्रको विकास गर्न र युवा पलायन रोक्न विशेष चासो बढाइएको प्रमुख नन्दबहादुर पुनमगरले बताए । उनले आर्थिक उपार्जन गर्न र स्थानीय तहमै रोजगारी सिर्जना गर्न चासो राखिएको बताए ।


जिल्लाका थबाङ, लुंग्री, गंगादेव र सुनछहरी गाउँपालिकामा पनि जनप्रतिनिधिले कृषि, पशुपालन, सडक निर्माण, शिक्षा क्षेत्रमै लगानी बृद्धि गर्ने योजनामा छन् । पर्यटकीय संभावना भएका थबाङ र सुनछहरीमा कृषि, पशुपालन र पर्यटकीय योजना प्राथमिकतमा छन् ।

प्रकाशित : श्रावण ४, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?