२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एक महिनै टिकेन कालोपत्र

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत दोभान बजार क्षेत्रमा अहिले खाल्डैखाल्डै छन् । १९ लाख खर्चेर गरेको कालोपत्र महिना दिन पनि टिकेन । 
पानी परेकै बेला गरिएको कालोपत्रेमा लगत्तै सवारी गुड्न थालेपछि भत्किएको स्थानीय बताउँछन् । ‘मर्मत गरेको केही महिना पनि नटिक्ने कस्तो विकास हो,’ चोपलाल गिरीले भने ।

राजमार्गको सिद्धबाबा क्षेत्र, हिउँदे खोला, विभिन्न स्थानका पुल, टेवा वाल पर्खालको अवस्था पनि उस्तै छ । हरेक वर्ष गरिने मर्मत कार्य बर्खाको भेलसँगै बगेर जान्छ । बाँसटारी, भालेबास, डुम्रेलगायत स्थानका कालोपत्रे पनि उप्किइसक्यो । ‘सधैं मर्मत गरेको देखिन्छ,’ चालक छेमबहादुर थापाले भने, ‘तर वर्षा सकिनासाथ मर्मतको कुनै अवशेष रहन्न ।’


दोभान क्षेत्रमा सडक डिभिजन कार्यालयले ३२ लाखको काम गरेको हो । ९५ प्रतिशत काम सम्पन्न गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकारी सौजन्य नेपालले बताए । सवारीसाधनको चापले पनि कालोपत्रे नटिकेको भन्दै उनले धरौटी रकम लिन आउँदा व्यवसायीलाई पुनः मर्मत गर्न लगाएर मात्र भुक्तानी दिने गरिएको दाबी गरे । तर अधिकांश निर्माण व्यवसायीले पूरा काम नगरी भुक्तानी लगेका छन् । वर्षौंदेखि मर्मत नहुँदा झुम्सादेखि चिडिया खोला ९ किलोमिटर क्षेत्रमा कालोपत्रे कहीँकतै मात्र छ ।


बर्सेनि करोड खर्च

राजमार्गको पटके र नियमित मर्मतमा वार्षिक २ करोडभन्दा बढी खर्च हुन्छ । आकस्मिक मर्मतमा थप २ करोडभन्दा बढीको काम हुन्छ । सामान्य मर्मतमा ८० लाखजति खर्च हुने गरेको छ । तर बर्खायाममा हुने मर्मत तीन महिना पनि टिक्दैन ।


गत वर्ष सिद्धार्थ राजमार्गको मर्मतका लागि ५ करोड खर्च भएको छ तर देखिने गरी काम कहीँ भएको छैन । आरसीसी र टेवा पर्खालका काम सकिएको डिभिजन सडक कार्यालयको दाबी छ । कतिपय टेन्डर खुलेको छ तर काम पूरा भएको छैन । वर्षौंदेखि ठेक्का अलपत्र छन् ।


सिद्धार्थ राजमार्गको रिसिलिङको काम ३० प्रतिशत मात्र सकिएको छ । १ करोड २० लाखभन्दा बढी रकम पटके मर्मतमै सकिन्छ । रिसिलिङमा गएको वर्ष ३ करोड ५० लाख बजेट थियो । झुम्सा–दोभान पटहोल मर्मत, बाँसटारी–गौडेपुल, केराबारी–दोभान विशेष स्थानको टेवा पर्खाल निर्माणमा १९ लाख ९२ हजारमा ३० प्रतिशत मात्र काम भएको छ ।


पुनः राजमार्ग भासियो

डिभिजन सडक कार्यालयले सातासम्म बन्द गरेर करोड बढी खर्चिएको सडक पुनः भासिएको छ । तिनाउ गाउँपालिका–३, भूत खोलानजिकै सडक भासिएको हो । अहिले सवारीसाधन एकतर्फी सञ्चालन भइरहेका छन् । यहाँ दुई वर्षअघिदेखि भासिन सुरु गरेको थियो ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?