२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र प्रोत्साहन

अमृता अनमोल

बुटवल — गर्भवती र सुत्केरीको सुविधाका लागि स्थानीय तहले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्न थालेका छन् ।  महिला र नवजात शिशुको संवेदनशीलताका लागि रूपन्देहीका १६ मध्ये १२ स्थानीय तहले छुट्टै योजना बनाएका छन् ।

सुत्केरी हुन स्वास्थ्य संस्थामा आउँदा लाग्ने गर्भवतीको एम्बुलेन्स खर्चका लागि तिलोत्तमा र सैनामैना नगरपालिकाले सहयोग गर्ने गरेका छन् ।


चालु आवको सुरुआतसँगै तिलोत्तमा नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ५ सय रुपैयाँ प्रोत्साहन रकम दिन थालेको छ ।


उपप्रमुख जगेश्वरी चौधरीले साउन १ देखि कार्यक्रम सुरु भएको बताइन् । ‘एम्बुलेन्समा लागत अनुसारको रकम भुक्तानी हुन्छ,’ उनले भनिन्, ‘५ सय रुपैयाँ भने सबै महिलाले पाउनेछन् ।’ त्यसका लागि सम्बन्धित स्वास्थ्य संस्था र वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको उनले बताईन् ।


सैनामैना नगरपालिकाले गत आवको अन्तिम चौमासिकदेखि नै गर्भवती र सुत्केरीका लागि अस्पताल आउजाउ गर्न निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । यो वर्ष नगरभित्रको स्वास्थ्य केन्द्रमा प्रसुती हुनेलाई पोसिलो आहारको व्यवस्था गरेको छ ।

उपप्रमुख वीना राना मगरले घरमा जोखिमपूर्ण सुत्केरी हुने महिला घटाउन तथा आमा र शिशुको स्वास्थ्य राम्रो बनाउन आर्थिक सहयोग गर्न थालेको बताइन् । ‘थारू समुदायका महिला अझै पनि प्रसूति हुन स्वास्थ्य केन्द्र जाँदैनन्,’ उनले भनिन्, ‘सुत्केरी हुने बेला गरिबी वा अन्य कारणले महिला जोखिममा नपरून् भनेर अभियान थालेका हौं ।’


बुटवल उपमहानगरपालिकाले उपप्रमुख सुत्केरी भेट कार्यक्रम सुरु गरेको छ । यसमार्फत गत वर्षदेखि सुत्केरीलाई पोषिलो आहार उपहार दिन थालेको छ । सबै गर्भवतीलाई क्यासियम र आईरन चक्की उपलब्ध गराउँछ । नगरमा रहेका ५ वटा स्वास्थ्य सेवा केन्द्र, २ स्वास्थ्य चौकी र १ सहरी स्वास्थ्थ केन्द्रबाट सेवा पाइन्छ ।


नगर स्वास्थ्य केन्द्रमा सुत्केरी नहुने आमाका लागि उपप्रमुख र स्वास्थ्यकर्मीसहितको टोली घरमै पुगेर दिन्छ । उपमहानगरपालिकाले यसका लागि गत वर्ष ५ लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु आवका लागि २० लाख रुपैयाँ विनियोजन गरेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।


सिद्धार्थनगर र देवदह नगरपालिकाले २४ घण्टे सुत्केरी सेवा र पूर्वाधारलाई प्रमुख योजनामा राखेका छन् । नगरभित्रका महिला सुत्केरी हुन अन्त जानुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य संस्थाको पूर्वाधार विकास र चेतना विकासका कार्यक्रम ल्याएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बताइन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?