कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पुल बन्यो सडक बनेन

हरि गौतम

रुकुम पूर्व — सहिद मार्ग दुर्गम बस्ती जोड्ने कच्ची सडक हो, जुन सडकजस्तो छैन । रोल्पाको थबाङदेखि रुकुम पूर्वको भूमे गाउँपालिका हुँदै पुथाउत्तरगंगा गाउँपालिकाका दुर्गम बस्ती जोड्ने यो सडकमा गाडी भने गुड्दैनन् । सहिद मार्गदेखि मध्यपहाडी लोकमार्ग जोड्न पुल बन्यो । तर, त्यही पुलसम्म पुग्ने सडक नै अहिलेसम्म छैन । 

पुल बन्यो सडक बनेन

भूमे गाउँपालिका–६, महतबाट ६ नम्बर वडाको दोमै जोड्ने पुल बनेपनि महततर्फको सडक नबन्दा गाडी चल्न नसकेका हुन् । सडकको ट््र्याक भने छ । निर्माणको क्रममा डिजाइन स्टिमेट फरक पारेर सडक बनाउँदा गाडी गुडेका छैनन् । भिरालो ठाउँमा नजिक/नजिक मोड बनाउँदा हरेक वर्ष झर्ने पहिरोले सडक अवरुद्ध हुने गरेको छ । ट्र्याक खोलिसकेपछि पनि २ वर्ष निरन्तर सडक सुधार गर्दा समेत गाडी गुड्न सक्ने नभएपछि पछिल्लो दुई वर्ष सडक मर्मत पनि गरिएको छैन ।


रोल्पाको थबाङबाट महत गाउँसम्म सडक राम्रो छ । गाउँबाट ओरालो झार्ने ठाउँमा सडक नसुध्रने गरी बनाइएपछि गाडी चल्दैनन् । सडक निर्माणका बेला स्थानीयले निर्माण कम्पनीलाई समेत सहमत गराएर आआफ्नो जग्गामा सडक पुर्‍याउन खोज्दा समस्या आएको उपभोक्ता बताउँछन् । भूमे गाउँपालिका–६, का जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीले सडक निर्माण नै गलत स्थानबाट गरेकाले समस्या भइरहेको बताए । ‘गाउँभन्दा तलबाट सडक निर्माण गरेर दोमै मिसाउने भनिए पनि माथि नै धेरै मोड बनाइयो,’ उनले भने, ‘अहिले भएको भन्दा तलबाट बनाउँदा सडक बलियो हुने र गाउँलेलाई पनि सजिलो हुने थियो ।’


२०७१ मै सडकको ट्र्याक खोलिएको थियो । अनुमानित ४ किलोमिटर क्षेत्रमा हरेक वर्ष पहिरो झर्ने गरेको छ । यसले सडक नै बन्द हुने गरेको छ । यसअघिका २ वर्ष नियमित वर्षामा झरेको पहिरो सफा गरिए पनि २ वर्षदेखि उक्त ठाउँको पहिरो सफा गरिएको छैन । स्थानीय पतिराम बुढामगरले ५ वर्षअघि बनेको सडकमा अझै गाडी नचल्दा सडक बन्नु र नबन्नुमा केही फरक नरहेको बताए ।


यसअघि बनाइएको सडकमा गाडी नगुड्ने भए अर्को क्षेत्रबाट भए पनि सडक बनाउनुपर्ने उनले बताए । ‘घर तथा गाउँ नजिकै सडक बने पनि लामो समयसम्म प्रयोग गर्न नपाउनु भनेको दुःखद हो ।’ उनले भने । भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले सडक सञ्चालनका लागि त्यसलाई केही सुधार गर्न सकिने बताए ।


ट्र्याक खुलिसकेकाले एउटा/दुइटा मोड सुधार गरेपछि सडकमा गाडी गुड्ने उनले बताए । सडक सञ्चालनका लागि आवश्यक सल्लाह, परामर्श तथा पहल गरिने उनले बताए । स्थानीयवासी, सहिदमार्ग सडक आयोजना र निर्माण कम्पनीसँग आवश्यक छलफल गरेर सडक सञ्चालन गर्न पहल गर्ने उनको दाबी छ ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?