कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ठेक्का अवधि जेठ मसान्त कायम गर्न निर्देशन

घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकास आयोजनाको ठेक्का अवधि जेठ मसान्तसम्म मात्र हुने गरी सम्झौता गर्न अन्य मन्त्री र सचिवलाई निर्देशन गरेका छन् ।

ठेक्का अवधि जेठ मसान्त कायम गर्न निर्देशन

मन्त्रालयले चालु वर्षको बार्षिक कार्ययोजना प्रस्तुतीकरणलाई सम्बोधन गर्दै उनले हरेक मन्त्रालयले ठेक्का मार्फत गर्ने कामको सम्झौता अवधि जेठ मसान्त तोक्न र त्यहीअनुसार कार्यान्वयन गराउन शुक्रबार निर्देशन दिएका हुन् । ‘त्यसले मात्र कामको गुणस्तर वृद्धि गर्छ,’ उनले भने, ‘असार लागेपछि गर्ने काम कमजोर हुन्छ, त्यसैले हतारहतार बजेट कार्यान्वयन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’ अबका हरेक योजनाको बजेट कार्यान्वयन समयसीमा जेठ मसान्त नै कायम गर्नुपर्ने उनले बताए । साना आयोजनालाई अबको ८ महिनामै सम्पन्न गर्ने गरी काम गर्न पनि उनले निर्देशन दिए ।


मुख्यमन्त्री पोखरेलले विकास आयोजना अध्ययन, डीपीआर र काम गर्दा २० वर्षपछिको अवस्थाको विश्लेषण गरेर मात्र गर्न र बहुवर्षिय आयोजनालाई पहिले नै टुंगो लगाएर काम गर्न पनि निर्देशन दिए ।


उनले प्रदेशका १० गौरवका आयोजनाको छनोटको तयारीमा लाग्न मन्त्रालयलाई निर्देशन गरेका छन् । ‘आर्थिक मामिलाबाहेक अरू पाँच मन्त्रालयले कम्तिमा तीन आयोजना छनोट गरी प्रस्ताव अघि बढाउनुस्,’ उनले भने, ‘त्यसमध्ये राम्रो आयोजना छनोट गरी अघि बढ्न सकिन्छ ।’ उनले प्रदेशका गौरवका आयोजनामा स्रोतको द्विविधा नराख्न पनि मन्त्री र सचिवलाई आग्रह गरे ।


सरकारले गत वर्ष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको चरंगे झुम्सा बाइपास सडकमा यो आवमै सवारी चल्ने गरी काम गर्न पनि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिए । सरकारले यो सडकका लागि गत वर्ष १० करोड बजेट विनियोजन गरेको थियो । धेरै रकम खर्च भएन । यो वर्षका लागि पनि बजेट अभाव नहुने उनले बताए । ‘काम छिटो र राम्रो गरौं,’ उनले भने, ‘सरकारले स्रोतको अभाव हुन दिंदैन, जसरी पनि व्यवस्थापन हुन्छ ।’ मुख्यमन्त्री पोखरले लुम्बिनी प्रादेशिक अस्पताललाई पूर्वाधार र व्यवस्थापन राम्रो बनाउने गरी काम गर्न निर्देशन दिए ।


‘राम्रो आन्तरिक स्रोत भएको अस्पताल अस्तव्यस्त छ, अस्पतालको अहिलेको अस्तव्यस्त अवस्था अन्त्य हुनैपर्छ,’ उनले भने, ‘तुलसीपुर र बुटवलमा विशेषज्ञ सेवा उपलब्ध गराउने र सामान्य चिकित्सा सेवाका लागि जिल्ला अस्पतालमै उपचार हुने व्यवस्था गर्ने गरी काम गरौं ।’


उनले सामाजिक मन्त्रालयले गर्ने कार्यक्रमको प्रतिफल यही वर्ष नै पाउने गरी हुनुपर्ने बताए । वन क्षेत्रमा ठूला जलाशय बनाउने कामलाई अभियानका रूपमा अघि बढाउनुपर्ने मुख्यमन्त्रीको जोड छ । साना पोखरी बनाएर त्यसको प्रभाव नदेखिने भएकाले ठूला जलाशय बनाउन योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।


मुख्यमन्त्रीले रूपन्देहीमा निलगाई संरक्षणको लागि विशेष सामुदायिक वन र रुकुममा रेडपान्डा संरक्षण केन्द्र बनाउन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएका छन् ।


पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनीसँग सम्बन्धित सम्पदाको प्रवर्द्धन, निग्लिहवा र गोटिहवामा बुद्धमूर्ति प्रतिस्पधान र रामग्रामको बौद्धकालीन संग्रहालयलाई नमुना बनाउने गरी काम गर्न आग्रह गरे । पर्यटन मन्त्रालयले गत वर्षदेखि नै लुम्बिनी भ्रमण वर्ष मनाउन सुरु गरेको छ ।


त्यसलाई प्रभावकारी हुने गरी कार्यान्वयन गर्न उनको आग्रह थियो । पाल्पा दरबार संग्रहालयलाई प्रदेशको सांस्कृतिक संग्रहालयको रूपमा विकास गर्नॅपर्ने, सुस्तामा बनाउन लागेको मोडेल भिलेजमा मोडेल होमस्टे बनाउन पनि उनले निर्देशन दिए । कृषि क्षेत्रका कार्यक्रमको सफलता मापनको आधार उत्पादन बढेको, निर्वाहमुखीबाट बजारमुखी प्रणालीतर्फ गएको हुनुपर्ने बताए । गुल्मी, अर्घाखाँची र पाल्पालाई कफी खेती पकेटको रूपमा विकास गर्न पनि उनले आग्रह गरे ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?