१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जनप्रतिनिधिद्वारा मदिरा नियन्त्रण अभियान

काशीराम डाँगी

रोल्पा — त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिले मदिराविरुद्ध अभियान सञ्चालन गरेका छन् । गाउँलाई मदिरामुक्त बनाउन यस्तो अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

अत्यधिक मदिरा सेवनले स्थानीय बासिन्दा प्रभावित भएपछि नियन्त्रणमा अग्रसर बनेका हुन् । गाउँपालिका प्रमुख शान्तकुमार वलीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । ‘मदिरा नियन्त्रणपछि मात्र समाज सुधार हुने देखेर चेतनामूलक कार्यक्रम चलाएका हौं,’ उनले भने, ‘यो अभियान गाउँपालिकाका ७ वटै वडामा सुरु गरेका छौं ।’ अभियान चलाउन महिला समूह, विद्यार्थी, स्वास्थ्यकर्मी र बुद्धिजीवीले सघाएको उनले बताए ।


गाउँघरमा मेलापात र चाडपर्व मनाउँदा मदिरा सेवन गर्ने चलन छ । गाउँपालिकाले सेवनबाट सामाजिक असर पर्नुका साथै आर्थिक क्षति हुने गरेकाले त्यसविरुद्ध अभियान थाल्ने निर्णय गरेको जनायो । ‘मदिरा सेवनबाट आपराधिक गतिवधि वृद्धि भएको छ,’ वलीले भने, ‘मदिरा प्रयोगबाट लडाइँ, झगडा र कुटपिट बढेपछि कठोर निर्णय गरेका हौं ।’


निर्णय कार्यान्वयन गर्न गाउँसभाबाट समहति लिइएको उनले बताए । गाउँपालिकाले मदिराविरुद्धको अभियान चलाएपछि महिला, गृहिणी र विद्यार्थी खुसी भएका छन् । गाउँपालिकाकी उपप्रमुख सावित्राकुमारी बुढा घर्तीले मदिरा नियन्त्रण गर्न थालेपछि घरघरमा खुसी छाएको बताइन् । ‘मदिरा सेवन रोकेपछि महिला हिंसा कम भएको छ,’ ‘उनले भनिन्, ‘मदिराले घरेलु र सामाजिक हिंसा वृद्धि गरेको पाइएपछि हामी त्यसविरुद्धको अभियानमा लागेका हौं ।’


जनप्रतिनिधिले सबै वडा र गाउँमा स्वास्थ्य र शिक्षाको चेतनाबाट मदिरा नियन्त्रण गर्न सक्ने निष्कर्षसहित विभिन्न चेतनामूलक गतिविधि चलाउँदै आएका छन् । अहिले गाउँमा मदिरा उत्पादन, ओसारपसार, सेवन र बिक्री वितरण कम भएको छ । सेवनकर्तालाई भेटाएमा कारबाही गर्ने नियम बनाएका कारण गाउँपालिकामा मदिरा सेवन घटेको जुगार गाविसका पूर्वअध्यक्ष मित्रलाल घर्तीमगरले बताए ।


‘मदिराले परिवारदेखि पर (समाज) सम्म बिगार्छ,’ उनले भने, ‘त्यसैले गाउँपालिकाले लिएको यसविरुद्धको अभियान जायस छ । हामीले समर्थन जनाएका छौं ।’ जनप्रतिनिधिको निर्देशनमा प्रहरीले सेवनकर्तालाई कारबाही गरेको छ । फेला पारेपछि प्रहरीले थुन्ने र आर्थिक जरिवाना गराउन मद्दत गर्दै आएको छ । गाउँपालिका प्रमुख वलीले मदिरा सेवनकर्तालाई कारबाही गर्दा २ लाख रुपैयाँ जरिवाना संकलन भएको बताए ।


त्रिवेणीले जस्तै जिल्लाका सबै स्थानीय तहमा मदिरा नियन्त्रणसम्बन्धी गतिविधि चलिरहेका छन् । कुनैमा धेरै प्रभावकारी देखिएको छ । केहीमा प्रभाव छैन । सुनछहरी गाउँपालिकाले मदिरा सेवन रोक्न कार्यविधि बनाएको छ । गाउँपालिकाका प्रवक्ता अमरजित पुनले मदिरा सेवनले समाजमा विविध प्रकारको प्रभाव देखिएकाले नीतिगत रूपमा मदिरा नियन्त्रण अभियान चलाउनुपरेको बताए ।


यसअघि सदरमुकाम रोल्पा नगरपालिकाले मदिरा नियन्त्रण गर्न नगरकी उपप्रमुख मनकुमारी घर्तीमगरको नेतृत्वमा मदिरा नियन्त्रण कार्यविधि निर्माण समिति गठन गरेको थियो । गंगादेव र परिवर्तन गाउँपालिकाले मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएका छन् ।


परिवर्तनस्थित वडा नं ५ राङकोटका अध्यक्ष सुकबहादुर बुढामगर थमनले आफ्नो कार्यक्षेत्रभित्र मदिरामुक्त बनाउन पहल थाल्ने बताए । जिल्लाका १० स्थानीय तहका ७२ वटा वडामध्ये अधिकांशमा मदिराविरुद्धको गतिविधि चलाउन छलफल सुरु गरेका छन् ।

रोल्पा उद्योग वाणिज्य संघका अनुसार जिल्लामा वर्षमा करोडौंको मदिरा आउने गरेको छ ।


संघका जिल्ला अध्यक्ष विश्वकुमार चन्दले वर्षमा कम्तीमा १५ करोड रुपैयाँको मदिरा भित्रिने गरेको बताए । ‘स्वदेशी र विदेशी मदिराको आयात वृद्धि भइरहेको छ,’ उनले भने, ‘गैरकानुनी रूपमा गाउँमै उत्पादन गरिने मदिरा पनि थुप्रै छ ।’ पुरुषका साथै महिला र बालबालिकाले पनि मदिरा सेवन गर्न सहज अवस्था भएको उनले बताए ।


मदिरा सेवनका कारण वर्षमा जिल्लामा दर्जनौं घटना हुने गरेका छन् । प्रहरीका अनुसार अपराध र आत्महत्यासँग सम्बन्धित घटना मदिरा सेवनका कारण हुने गरेको हो । प्रहरी नायब उपरीक्षक दीपक खडकाले मदिराको सेवन कम गर्न सकेमा आपराधिक घटना पनि कम हुने विश्वास भएको बताए ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?