कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मजदुरी गर्न लहरै साइकलमा

दैनिक ४० किलोमिटर साइकल यात्रा गरेर कामको खोजीमा सयौं महिला दैनिक नेपालगन्ज पुग्ने गरेका हुन्
ठाकुरसिंह थारू

बर्दिया — साइकलमा सवार भएर यहाँबाट महिला सबेरै बाँकेको नेपालगन्ज पुग्छन् । उनीहरू दैनिक ४० किलोमिटर साइकलमा यात्रा गर्छन् । उनीहरूका साइकल सामान्य हुन्छन् । साइकल चलाउनु रहर होइन, बाध्यता हो ।

मजदुरी गर्न लहरै साइकलमा

कामको खोजीमा जिल्लाका सयौं महिला दैनिक नेपालगन्ज पुग्ने गरेका हुन् । पछाडि क्यारियरमा बिहानको खान (कलवा) र दिउँसोको खाजा (मिझ्नी) बोक्छन् । गफिँदै, हाँस्दै सरर साइकिलमा हुइकिन्छन् ।

उनीहरू नेपालगन्जको त्रिभुवनचोक पुग्छन् । त्यहाँ श्रमको किनमेल हुन्छ । दिनभरि मजदुरी गरेर साँझ घर फर्किन्छन् । यसरी फर्किंदा कहिलेकाहीं अबेर हुन्छ । दिनभरिको थकानले साँझको खाना बेरी खाएर सुत्छन् । बिहान ४ बजे उठेर खाना पकाइवरी काम गर्न नेपालगन्ज पुग्छन् । बाँकेको सीमावर्ती गाउँका थारू महिलाको दैनिकी हो । जिल्लामा उद्योग कमै भएकाले रोजगारी मिल्दैन ।


‘खेतीपाती धेरै छैन । रोपाइँ पनि सकियो । घरमा काम नभएर त्यसै बस्नुभन्दा मजदुरी गर्न जान्छु,’ मैनापोखरकी सुन्दरीकुमारी चौधरीले भनिन्, ‘साइकल चलाउन जानेपछि मजदुरी गर्न सजिलो भएको छ । काम गर्न घरबाट आउजाउ गर्न सकिन्छ ।’ उनका अनुसार साइकलमा नेपालगन्ज मजदुरी गर्न जान थालेको ५ वर्षभन्दा बढी भइसक्यो ।


दैनिक ६/७ सय रुपैयाँ कमाउने गरेको उनले सुनाइन् । ‘नेपालगन्ज ठूलो बजार छ । त्यसैले काम पाइन्छ,’ उनले भनिन्, ‘आफ्नै घरठाउँमा काम पाइए किन त्यति टाढा जानु पर्थ्यो र ।’ मजदुरी गर्न बिहान नेपालगन्ज जानेको लर्को लाग्छ । साँझ फर्किंदा पनि साइकल र्‍याली हुन्छ । मजदुरी गर्नेले पनि मासिक २० हजार रुपैयाँभन्दा बढी कमाउने गरेको सुनाए । गाउँका अधिकांश महिला साइकल चलाउन सिपालु छन् ।


बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाका सर्वसाधारण कामका लागि नेपालगन्ज पुग्छन् । बारबर्दिया, ठाकुरबाबा, मधुवन, राजापुर नगरपालिका र गेरुवाका युवा तथा महिला मजदुरी गर्न डेरा लिन्छन् । नजिक भएकालाई साइकलले सहज बनाइदिएको छ । साइकल नभएको भए यति टाढा मजदुरी गर्न सकिँदैनथ्यो । हिंडेर जान सम्भव पनि भएन । आफूले चाहेका बेला गाडी पनि नपाउन सकिन्छ ।


‘त्यसैले पोहोर साल साइकिल किनें अनि नेपालगन्ज मजदुरी गर्न जान थालें,’ सोमबार साइकल चढेर काम खोज्न नेपालगन्ज जाँदै गरेकी मोतिपुरकी शान्ति चौधरीले भनिन्, ‘हाम्रो गाउँबाट मात्रै ५० बढी महिला दैनिक काम गर्न नेपालगन्ज जान्छौं ।’ साइकल चलाउन जानेपछि नेपालगन्ज बस्नुपरेको छैन ।


साइकलले उनीहरूको जीवन गुजारामा सहयोग पुगेको छ । दैनिक साइकल चलाउने गरेका कारण उनीहरूको स्वास्थ्य बनेको छ । मजदुरी गर्न जानेमध्ये सबैजसो महिला मात्रै हुने गरेका छन् । ‘बिहान हिंड्यो, दिनभरि मजदुरी गरेर साँझ आफ्नै घर आउन सकिएको छ । समूहमा गफ गर्दै साइकल चलाउने हो भने थकाइ पनि कम लाग्छ,’ मैनापोखरकी सरस्वती चौधरी भन्छिन्, ‘मजदुरी गरेरै परिवार पालेको छु ।’


फुर्सदका बेला खान पुग्ने थारू परिवारका महिला पनि मजदुरीका लागि जाने गरेका छन् । बाँकेमा रोपाईं अझै चलिरहेका कारण मजदुरको माग अत्यधिक छ । बर्दियाका मजदुरले श्रम गरेर बाँकेका जग्गाधनीलाई सहयोग दिइरहेका छन् । त्यस्तै बर्दियाका महिला तरकारी बिक्री गर्न साइकलमै नेपालगन्ज आउने गरेका छन् । उनीहरूले घरमै उत्पादन गरेका कारण माग बढी छ ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?