पाठकको पर्खाइमा पुस्तकालय

मधु शाही

बाँके — दराजमा पुस्तक लहरै मिलाएर राखिएको छ । लामो समयदेखि पुस्तक खलबलिएका छैनन् । कुर्सीमा बसेर पढ्न विद्यार्थी छैनन् । महेन्द्र पुस्तकालयले दुई दशकदेखि विद्यार्थी देखेको छैन । ‘पढ्न कोही आउँदैन,’ पुस्तकालयका प्रमुख सच्चिदानन्द चौवेले भने, ‘विद्यार्थी नआएको त जुग भइसक्यो ।’

नेपालगन्जको रानीतलाउ नजिक ७३ वर्षअघि पुस्तकालयको सुरुवात गरिएको थियो । स्थानीय युवाले मिलेर सुरु गरेका थिए ।

सुरुमा प्रेम पुस्तकालय नाम राखियो । योगेश्वर मिश्र, शिवप्रसाद बाजपिइ, महावीर गुप्ता, वासुदेव शर्मा, पूर्वाराज उपाध्या, मुलचन्द ‘आजाद’, गोवाइनप्रसाद चौवे, भगवतीप्रसाद द्विवेदी, श्रीधरराज उपाध्याय, बमबहादुर क्षेत्री लगायतले आपासी सद्भाव साटासाट गर्ने, ज्ञान बाँड्ने, पुस्तक अध्ययन गर्ने थलो बनाएका थिए ।

उनीहरूको नाम त्यसबेला गरिएको माइन्युटमा उल्लेख छ । योगेश्वर मिश्र संस्थापक अध्यक्ष हुन् । राणाकालमा जनताले पुस्तक पढ्ने कुरा कल्पनाबाहिरको थियो । विद्यालय सञ्चालन भएका थिएनन् । युवाले ज्ञान बाँड्ने र सद्भाव कायम गर्ने थलोको रूपमा पुस्तकालय बनाउने सोच बनाए । एक जनाको कोठालाई पुस्तकालय बनाउने निर्णय गरे । कोठाबाट सुरु भएको पुस्तकाललाई तत्कालीन राजा महेन्द्रले ४५ हजार रुपैयाँ सहयोग गरेको चौवेले बताए ।

त्यतिबेला राजाले पुस्तकालयको नाम महेन्द्र राख्नुपर्छ भनेर सर्त राखेपछि परिवर्तन भएको उनले बताए । ०२४ सालमा प्रेमबाट नाम परिवर्तन गरेर महेन्द्र पुस्तकालय बनाइयो । ‘००८ सालताका पुस्तकालयमा विद्यार्थीको घुइँचो लाग्थ्यो,’ ८१ वर्षीय चौवेले भने, ‘अलि अलि विद्यालय खुले । प्रत्येक विद्यालयमा पुस्तकालय हुनुपर्ने नियम बनाए ।’ इन्टरनेटको जमाना सुरु हुनुभन्दा पहिले पुस्तकालयमा ओइरो लाग्थ्यो । नयाँ युगसँगै पुस्तकालय सुनसान बनेको उनले बताए ।

यहीँ पुस्तकालयमा अध्ययन गरेर धेरै व्यक्ति ठूला नेता, साहित्यकार र बौद्धिक बनेको चौबेलाई सम्झना छ । तत्कालीन माओवादी द्वन्द्वताका पुस्तकालय हटाउन दबाब आएको थियो । यहाँ भएका ऐतिहासिक पुस्तक जोगाउन मुस्किल थियो । पटक–पटक धम्की खाँदा समेत पुस्तकालयमा आँच आउन नदिएको चौबेले बताए ।

पुस्तकालयको मुख्य विशेषता पौराणिक धार्मिक ग्रहन्थको संकलन हो । संस्कृतिमा अध्ययन, अनुसन्धान गर्न चाहने विद्यार्थीलाई गतिलो स्रोत केन्द्र बनेको छ । ‘द्वन्द्वकालमा वेद निसानामा थियो,’ उनले भने, ‘ज्यान मार्ने धम्की आउँदा किताब झुस्स छुन दिइनँ ।’ पुस्तकालय जोगाउन चुनौती झेलेका उनले भने, ‘अहिले पढाइमा चासो नदेख्दा दुःख लाग्छ ।’ उनका अनुसार पुस्तकालयको सौन्दर्य विद्यार्थी हुन् । उनले यहाँ आएर पत्रिका पढ्नेबाहेक दराज खोलेर किताबका पाना पल्टाउने विद्यार्थी देख्न पाएका छैनन् ।

पुस्तकालयको दुई तला भवन छ । ३० दराज छन् । १२ हजारभन्दा बढी पुस्तक संकलन गरिएका छन् । भारतीय साहित्य, संस्कृति, पत्रपत्रिका र उपन्यास पुस्तकालयमा पाइन्छन् । राणा र पञ्चायतकालमा भारती साहित्यबाट नेपालगन्ज प्रभावित थियो । युवा आकर्षित गर्न आधुनिक शैली अपनाउन जरुरी रहेको उनले बताए ।

यसका लागि शिक्षा मन्त्रालयलाई अपिल गरेको उनले सुनाए । खुइलिसकेका २ हजार पुस्तक पोको पारेर स्टोर रुममा थन्क्याइएको छ । अरू पुस्तक बिग्रिने चिन्ता छ । यसलाई ‘डिजिटलाइज’ गरेर विद्युतीय पुस्तकालय बनाउन सकियो भने युवा पुस्ता आकर्षित हुन सक्ने उनले बताए ।

साहित्यकार तथा पूर्वप्राज्ञ सनत रेग्मीले ०३२ सालसम्म पुस्तकालय चलायमान रहेको बताए । महावीरप्रसाद गुप्ता तत्कालीन नगर प्रमुख थिए । पुस्तकालयको व्यवस्थापकीय समिति सचिव पनि थिए । त्यसबेला भएको खटपटका कारण उनले कार्यसमिति भंग गरेर नयाँ बनाए । केदारनाथ टन्डनको अध्यक्षतामा नयाँ समिति बन्यो । त्यसबेला समितिको सचिव रेग्मी थिए ।

उनका अनुसार त्यसैबेला पुस्तकालय चलायमान बनाउन नियमावली, विधान, दर्ता किताब व्यवस्था सुरु गरिएको थियो । दुई दशक सचिव पदमा बसेपछि रेग्मी उपाध्यक्ष बनेका थिए । ‘त्यतिबेला हिन्दी पुस्तक मात्रै थिए,’ उनले भने, ‘हामीले नेपाली साहित्य र पत्रपत्रिका राख्ने व्यवस्था मिलाएका थियौं ।’ ०४४ सालसम्म पुस्तकालयको रौनक थियो । त्यतिबेला तीन जना कर्मचारी सक्रिय थिए ।

०५६ मा रेग्मी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ भए । त्यसपछि पुस्तकालयमा बेथिति सुरु भएको उनले दाबी गरे । ०५४ सालमा कन्हैयालाल टन्डन अध्यक्ष भए । हरेक दुई वर्षमा निर्वाचन हुनुपर्ने भए पनि अहिलेसम्म कन्हैया अध्यक्ष रहेको रेग्मीले बताए । ‘कार्यसमितिबिना पुस्तकालय चलेको छ,’ उनले भने, ‘अध्यक्षको मनोमानी छ ।’

नेपालगन्जको बूढो पुस्तकालय जोगाउन सबैभन्दा पहिला स्थानीय सरकारले चासो दिनुपर्ने उनले बताए । ‘मेयरसाबलाई धेरै पटक अनुरोध गरे । उहाँ इन्टरनेटको जमानामा कसले पुस्तक पढ्छ भन्नुहुन्छ,’ रेग्मीले भने, ‘कसैलाई पुस्तकालयको गरिमा थाहा छैन ।’ उनका अनुसार पुस्तकालय बचाउन आधुनिक शैली अपनाउनुपर्छ । ई–लाइब्रेरी, बालपुस्तकालय, सभाहल, व्यवस्थित गर्नसके युवा जमात खोज्दै आउने उनले दाबी गरे ।

नेपालगन्ज उपमहानगरपालिले पुस्तकालय संस्कार विकासमा नीतिगत खासै योजना बनाएको छैन । नगरप्रमुख डा. धवलशमशेर राणाले किताब पढ्नुभन्दा इन्टरनेटमा युवा पुस्ता रमाउन थालेकाले इलाइब्रेरी कन्सेप्ट डेभलोप गर्ने बताए । यद्यपि कहाँ, कहिले र कसरी कति बजेटमा गर्ने त्यसको कुनै टुंगो छैन ।

प्रकाशित : श्रावण ७, २०७६ १०:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अझै फर्किन सकेनन् दमाई परिवार

प्रजिअ आनन्द पौडेल भन्छन्, ‘सुरक्षाको व्यवस्था गर्छु भनेकै छु, सबैबाट सहयोगको प्रतिबद्धता आएको छ, उनलाई घर फर्किन कुनै समस्या छैन’
तृप्ति शाही

बैतडी — डिलासैनी गाउँपालिका ३, पन्सेरा गाउँमा ६० परिवार ओड समुदायको बसोबास छ । एउटा मात्र परिवार दमाईंको छ । दमाईं र ओड दुवै दलित समुदायमा पर्छन् । तर, ओड उपल्लो र दमाईं तल्लो । दमाईंका हातको पानी ओडलाई चल्दैन पन्सेरामा ।

त्यही पन्सेरा गाउँमा बसोबास भएका नरेश दमाईंले ९ वर्षअघि भागीरथी ओडसँग प्रेम विवाह गरे । तल्लो जातले छोरी विवाह गरेको भन्दै ओड परिवारले सहेनन् । एक्लो परिवार भएकाले नरेशको केही चलेन । उनी गाउँ निकाला भए । अझै घर फर्किन सकेका छैनन् उनको परिवार ।

‘आफुभन्दा उपल्लो जातको छोरीसँग बिहे गरेको भन्दै ओड समुदाय (पत्नीका माइतीतिर) का आफन्तहरूले पटकपटक कुटपिट गरेपछि गाउँमा बस्ने वातावरण भएन,’ नरेशले भने, ‘आफ्नै ससुराका परिवार भारत बस्ने भएकाले उनीहरूले केही भनेनन् । तर अन्य छिमेकीहरूले दिनुसम्म पीडा दिए । अनेक बहाना बनाएर लखेटे ।’

०६७ सालमा विवाह गरेका उनी २ महिनासम्म घर छोड्न बाध्य भए । बीचमा घर फर्केको भए पनि ०६९ मा फेरि पहिलाकै जस्तो व्यवहार भएको दुखेसो उनले सुनाए । ‘यतिबेला पनि घर छाडेको २ महिना भयो,’ नरेशले भने, ‘मेरो घरपरिवारलाई ओड समुदायले विभिन्न बहना बनाएर कुटपटि गर्न थालेपछि घर छाड्नुको विकल्प भएन ।’

गत वैशाखदेखि आमा, ३ छोराछोरी, पत्नी र बहिनीलाई ल्याएर नरेश परिवार सदरमकुाम शाहीलेकमा बस्दै आएका छन् । सदरमुकाममा सुरक्षित महसुस गरेको भए पनि गुजारा चलाउन सकस भएको उनी बताउँछन् । ‘आयआर्जन गर्ने कुनै स्रोत नभएकाले समस्या भएको छ,’ उनले भने, ‘विभिन्न निकायमा आफ्नै घरमा फर्कने वातावरण मिलाइदिन अनुरोध गरिरहेको छु ।’

त्यसबीचमा श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गर्दा डडेलधुरा गएर उपचार गराएको उनले बताए । उनले भने, ‘बहिनीमाथि पनि दुर्व्यवहारको प्रयत्न भयो । आमा र श्रीमतीसँग भएको ८ आनाको तिलहरी र १० हजार नगरसमेत लुटेर लिए ।’

आफुले कुटपिट र लुटपिटको मुद्दा दायर गरेको नरेशले बताए । उनले आफूलाई दुःख दिएका छिमेकीहरूले उल्टै आफ्नो नाममा झुटा मुद्दा लगाएर दुःख दिएको आरोप लगाएका छन् । मन्दिरमा पूजा गर्न घर गएको आफूलाई एकजना छिमेकीलाई कुटेको र लुटेको आरोप लगाइएको उनको दाबी छ । कुटपिट र झुटा मुद्दाको डरले घर फर्कन नसकेको उनी बताउँछन् ।

वडा सदस्यसमेत रहेका ओड समुदायका अगुवा नन्दराम ओड भने आफूहरूले नरेश परिवारमाथि कुनै जातीय विभेद नगरेको दाबी गर्छन् । उनले भने, ‘हामीमाथि लगाएको आरोप झुटो हो । हामीले केही गरेका छैनौं । अहिलेको जमानामा जातीय विभेद गर्ने कुरै भएन ।’ सुरक्षाको महसुस नभएकाले घर फर्कंन नसकेको बताउँदै आएका नरेश परिवारलाई जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्ट, प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललगायतले गत जेठमै सुरक्षा दिने प्रतिबद्धता गरेका थिए । तर हालसम्म कुनै ठोस पहल नभएकाले घर फर्किन नसकेको नरेशको भनाइ छ ।

‘सुरक्षाको व्यवस्था गर्छु भनेकै छु । सबै सरोकारवालासँग छलफल भएकै छ । सबैबाट सहयोगको प्रतिबद्धता आएकाले उनलाई घर फर्किन कुनै समस्या छैन,’ प्रजिअ पौडेलले भने, ‘अझै कुनै सुरक्षा जोखिम हुने भए हामी हेर्छौं भनेको छु ।’

प्रकाशित : श्रावण ७, २०७६ १०:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT