कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

तलब कटाएर विपद् कोषमा नगद

हरि गौतम

रुकुम पूर्व — भूमे गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकले विपद्मा परेका सर्वसाधारणलाई राहत सहयोगका लागि व्यक्तिगत रूपमा नगद योगदान गर्दै आएका छन् ।

उनीहरूले एक वर्षमा २ दिनको तलब बराबर गाउँपालिकाको विपद् कोषमा जम्मा गर्ने गरेका हुन् । ०७४ असार २७ मा बसेको पहिलो गाउँसभाले विपद्मा परेका सर्वसाधारणलाई राहत प्रदान गर्न भन्दै विपद् कोष बनाउने र त्यसमा गाउँपालिकाबाट तलव तथा सेवा सुविधा बुझ्ने सबैले योगदान गर्ने निर्णय गरेको थियो । विपद् कोष सञ्चालन तथा नगद योगदानका लागि विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन निर्देशिका ०७४ जारी गरिएको छ । सोही निर्देशिकाअनुसार उक्त कोषमा नगद जम्मा तथा परिचालन गर्ने गरिएको छ ।


कोषमा आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को नगद योगदान भइसकेको छ । उक्त कोषमा गाउँपालिकाबाट तलब तथा सेवा सुविधा लिने हरेक व्यक्तिबाट एक आर्थिक वर्षमा २ दिनको बराबर नगद योगदान लिने गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले बताए । उक्त कोषमा दुई आर्थिक वर्षको गरी ७ लाख ५६ हजार एक सय ६२ रुपैयाँ जम्मा भएको थियो । जसमध्ये दुई आर्थिक वर्षमा २१ जनाले क्षतिपूर्ति लिएका छन् ।


त्यसमा २ लाख २२ हजार ५ सय रुपैयाँ उक्त कोषबाट खर्च भएको छ । दुई आर्थिक वर्षको गरी कोषमा ५ लाख ३३ हजार ६ सय ६२ रुपैयाँ मौज्दात रहेको छ । आर्थिक वर्ष ०७४/७५ मा कोषमा ३ लाख ८ हजार ३ सय २४ रुपैयाँ जम्मा भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा ४ लाख ९२ हजार ८ सय ३८ रुपैयाँ जनप्रतिनिधि तथा कर्मचारीको नगद योगदान वापत जम्मा भएको थियो ।


उक्त कोषबाट आर्थिक वर्ष ०७४/७५ मा ४५ हजार रुपैयाँ खर्च भएको थियो । गत वर्ष एक लाख ७७ हजार ५ सय खर्च भयो । १६ जनाले रकम पाएका थिए । भालुको आक्रमणमा परी घाइते १ नम्बर वडाका एक किशोराको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरिएको थियो ।


गाउँपालिकाबाट सेवा सुविधा बुझ्ने ४६ जना जनप्रतिनिधि, स्थायी तथा करार कर्मचारी, प्राविधिक तर्फका स्वास्थ्य, कृषि, पशुतर्फका कर्मचारी, शिक्षक र कार्यालय सहयोगीसमेतबाट विपद् कोषमा नगद योगदान भइरहेको श्रेष्ठले जानकारी दिए । गाउँपालिकामा स्वयसेवा गरिरहेकाबाट नगद योगदान लिइएको छैन ।


गाउँपालिकाबाट कम तलबमान बुझ्नेले एक वर्षमा २ दिनको पारिश्रमिक बराबरको ६ सय ६६ रुपैयाँ योगदान गर्छन् । बढी तलबमान भएकाले २ दिन बराबरको २ हजार २ सय ८० रुपैयाँ योगदान गरिरहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । चालु वर्षमा योगदानको रकम बढ्ने छ । कर्मचारीको तलब बढेका योगदान रकम पनि बढ्ने भएको हो ।


‘घटना/दुर्घटना जतिखेर पनि हुन सक्छन्, त्यसको तत्काल राहतको लागि पहिलो गाउँ सभाबाट आवश्यक निर्देशिका सहित यो निर्णय गरिएको हो,’ गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले भने, ‘सानो योगदानले थोरै भएपनि राहत पुर्‍याउन सकिने भएकाले हामीले व्यक्तिगत योगदान गर्ने निर्णय गरेका हौं ।’


घटना वा दुर्घटनापछि थप व्यवस्थापन नहुँदासम्म प्राथमिक राहत प्रदान गरेर दैनिकी सहज बनाइदिने उद्देश्य सहित गरिएको निर्णय कार्यान्वयन भैरहेको उनले बताए । निर्णय कार्यान्वनमा जनप्रतिनिधि, सबै कर्मचारी तथा शिक्षकहरूको महत्त्वपूर्ण योगदान रहेको अध्यक्ष बुढाको भनाइ छ ।


स्थानीय सरकारले गरेका निर्णय कार्यान्वनमा महत्त्वपूर्ण मानिने कर्मचारी साथीहरूको सहयोगले विपद् कोषमा रकम बढीरहको र सर्वसाधारणले सहयोग पाइरहेको उनले बताए ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?