हरिया चुराको कारोबार बढ्याे

रुपन्देही/नेपालगन्ज — साउन सुरु हुनासाथ हरिया चुराको कारोबार बढेको छ । बालकदेखि वृद्धले फेसनका रूपमा यस्ता रंगका चुरा लगाउँछन् । यहाँ फुटपाथ, हाटबजार र ठूला पसलमा यस्ता रंगका चुरा किन्ने र लगाउनेको भीड देखिन्छ ।

स्थानीय व्यापारीका अनुसार असारबाटै चुराको बिक्री सुरु हुन्छ । त्यहीअनुसार व्यापारीले विभिन्न डिजाइनका चुरा र बाला बिक्रीमा राख्ने गरेका छन् । यहाँका कस्मेटिक पसलमा भीड बढेको छ ।


विगत केही वर्षदेखि साउनमा हरियो चुरा लगाउने प्रचलन हवात्तै बढेको हो । बालिका, युवती, अधबैंसे हुन् या वृद्ध सबै नाडीमा हरियो चुरा देखिन्छन् । यस्तो चुराले चिताएको पुग्ने विश्वासका कारण लगाएको बुटवल, योगीकुटीकी मीरा भुषालले बताइन् । ‘श्रीमानको लामो आयु र सम्बन्ध प्रगाढ बनाउन लगाइन्छ,’ उनले भनिन्, ‘आत्मसम्मान र विश्वासको आधारमा लगाउन थालेकी हुँ ।’


बुटवल–१२ की मन्जु आचार्यले खेतीपाती लगायतले हरियो महिना भएकाले त्यस्तै रंगको चुरा लगाउने चलन आएको बताइन् । ‘भगवान शिवलाई मनपर्ने महिना र रङ भएकाले यसको महत्त्व रहेको छ,’ उनले भनिन्, ‘पार्वतीले यही महिनामा व्रत बसेर शिवलाई पाएकी थिइन् रे ।’ पतिको आयु लम्बियोस् भनेर चुरा लगाएको उनले बताइन् ।


अन्य महिनाको तुलनामा साउनमा हरियो चुरा धेरै बिक्री हुने व्यापारी सीता न्यौपानेले बताइन् । हरियो ‘अरूको लहलहैमा लागेर सिको गर्दै हरियो चुरा लगाउन आउँछन्,’ उनले भनिन्, ‘लहलहै रे देखाउनै भए पनि लगाउने बढी छन्् ।’ आफूले यस्ता चुरा लगाउँदा श्रीमानको आयु लम्बिने सम्झाउँदै सुझाव दिने गरेको उनले सुनाइन् ।


अन्य महिनामा भन्दा साउनमा चुराकै लागि पसलमा भीड लाग्ने गरेको उनले बताइन् । साउनमा हरियो चुरा उपहार दिने चलनले बिक्री बढेको व्यापारीले बताए । बुटवल होराइजनचोककी सुजाता पाण्डेयले अरूको देखेर हरियो चुरा लगाएको बताइन् । ‘पहिले–पहिले हरियो चुरा लगाए हरियो घाँसमा हुने सर्पले टोक्दैन भन्ने सुनेको थिएँ,’ उनले भनिन्, ‘अहिले त फेसन नै बन्यो ।’


एक महिना लगाएर राम्रो हुन्छ भनेर किन नलगाउने भन्ने सोचेको उनले बताइन् । जताततै हरियो हुने र हरियो चुरा लगाउनाले हरियो घाँसमा भेटिने सर्प तथा हरेउले नटोक्ने विमला खरेलले बताइन् । ‘सानैबाट पहाडमा बस्दा त्यही सुनेर लगाउन थालीयो,’ उनले भनिन्, ‘हरियो चुरा साउनमा अनिवार्य लगाइन्छ ।’


धर्मशास्त्रमा साउन महिना र हरियो चुराको बारेमा कतै उल्लेख नभएको पण्डित डोलराज बस्यालले बताए । ‘महिलाले ल्याएको चलनका आधारले प्रचलित हो,’ उनले भने, ‘शास्त्रले चुरालाई जोडेको छैन ।’ फेसन, सौख र धार्मिक आस्थाले किन नहोस् साउनमा चुरा लगाउँदा पसलेलाई फलीफाप रहन्छ ।


अन्य सयममा चुरा किन्नकै लागि त्यति चहलपहल नदेखिने चुरा पसलेकहाँ हरियो चुराले माहोल तताएकोे छ । बुटवल अमरपथमा नवकृषा कस्मेटिक्सका सञ्चालक शंकरप्रसाद भण्डारीले साउन महिना लागेसँगै पसलमा ग्राहकको संख्या बढदै गएको बताए । ‘होलसेल पसल भएकाले चहलपहल बाक्लो छ,’ उनले भने, ‘पोहरको तुलनामा ३० रुपैयाँ जतिले दररेट पनि बढेको छ ।’ पोहर २ सय ३० रुपैयाँका दरले बेचेको र यसपालि २ सय ७० रुपैयाँसम्म परेको उनले बताए ।


दर्जनमै १० रुपैयाँ बढेको बताउँदै उनले भन्सार लाग्ने भएकाले मूल्य बढेको बताए । उनले यस वर्षका लागि भारतबाट ४ हजार दर्जन चुरा आयात गरेको बताए । साउनको अन्तिमसम्म सबै चुरा सकिने उनले बताए । उनीकहाँ अर्घाखाँची, गुल्मी, पाल्पा लगायतका जिल्लाबाट समेत चुरा लगायत कस्मेटिक्स सामान किन्न आउनेको भीड लाग्ने गर्दछ ।


हरियोमा आकर्षण

नेपालगन्जमा हरियो चुरा, पहिरन र मेहेन्दीमा आकर्षण देखिएको छ । कोही रहर त केही धार्मिक विश्वासले यसमा आकर्षित भएका छन् । गृहिणी, विद्यार्थी, कामकाजी महिलाले यस्तो पहिरन गरेका छन् । बाँके गोसाइगाउँकी अन्जु पाठक साउन सुरु भएुसँगै व्रत बसेर हरियो चुरा लगाउँछिन् ।


हरियै पहिरनमा प्रत्येक सोमबार बागेश्वरी दर्शन गर्न जान्छिन् । स्थानीय इन्दिरा गिरीले पनि पतिको लामो आयु र परिवारमा शाान्ति कायम होस भन्ने कामना गरेर व्रत बस्ने गरेको बताइन् । गृहिणी मात्र होइन कामकाजीलाई पनि साउनले छोएको छ । दुई हातमा हरियो चुरा र मेहेन्दी लगाएकी इन्सेककी सरस्वती मल्लले पतीको आयु र सु–स्वास्थ्यका लागि हरियो चुराको लगाउँदै आएको बताइन् ।


हरेक सोमबार व्रत बस्ने गरेको उनले बताइन् । अरूका हत्केलामा हरियो चुरा देख्दा आफूलाई लगाउने रहर जागेको उनले बताइन् । गैरसरकारी संस्थामा कार्यरत संगीता रौजारले साउनलाई चाडका रूपमा लिने गरेको बताइन् । हरियो चुरा र पहिरन लगाउने गरेको बताइन् । ‘आफ्नो खुसीका लागि लगाएको हो,’ उनले भनिन्, ‘साउनमा मेहेन्दीको रंग गाढा बस्ने भएकाले सदुपयोग गरेकी हुँ ।

प्रकाशित : श्रावण ९, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?