इन्टरनेटले मालपोतमा सास्ती
प्यूठान — मालपोतका काम अनलाइनबाट हुन थालेपछि सेवाग्राहीले सुविधाको साटो सास्ती पाइरहेका छन् । पहिले एक दिनमा हुने कामका लागि अहिले महिनौं पालो कुर्नुपरेको सेवाग्राहीले गुनासो गरे ।
गत असार २२ गतेदेखि मालपोतको काम अनलाइनबाट भइरहेको छ । त्यही दिनदेखि काम प्रभावित भइरहेको कार्यालयका सूचना अधिकृत वसन्त पण्डितले बताए । ‘एक दिनमा हुने कामलाई पनि १५ दिन लाग्छ,’ उनले भने, ‘सेवाग्राहीसँगै कर्मचारीले पनि दुःख पाइरहेका छन् ।’ एक दिनको कामका लागि धेरै दिन होटलमा बास बस्नु परिरहेको उनले बताए । ‘विभागको टोलीले इन्टरनेट जडान गरेर गयो,’ पण्डितले भने, ‘कहिले चल्छ कहिले रोकिन्छ ।’
उनले तीन दिनदेखि नेट नचलेको बताए । सुस्तगतिमा चल्ने भएकाले एक जना सेवाग्राहीको विवरण भर्न घण्टौं लाग्ने गरेको उनले बताए । कार्यालयले बैकल्पिक व्यवस्थाको लागि नेपाल टेलिकमको इन्टरनेट जडान गरेको पण्डितले बताए । अनलाइनमा गएपछि मालपोतमा जग्गा रजिस्ट्रेशन पास, नामसारी, अंशबण्डा गर्दा साक्षीको समेत अनिवार्य फोटो रहने व्यबस्था गरिएको छ । समयमा काम नहुँदा साक्षी लिएर आएका व्यक्तिको खर्चसमेत बढेको छ ।
नेटको समस्याले गर्दा काम छिटो हुन नसकेको रजिस्ट्रेशन फाँटकी नायब सुब्बा देवि आचार्यले बताइन् । कार्यालयमा जडान भएको ईन्टरनेट त्यति प्रभावकारी नभएकोले सेवाग्राहीहरू मर्कामा परेको आचार्यले बताइन । ‘अनलाईन सिस्टम नहुँदा सामान्य कुराहरू अपुग हुँदा सच्चाएर सेवाग्राहीहरूको काम सम्पन्न गरिदिन्थ्यौं,’ उनले भनिन्, ‘अहिले सानोतिनो मिस्टेक कुरा पनि अनलाइनले नलिने भएकाले सेवाग्राहीले सास्ती खेप्नुपरेको हो ।’
पहिलेका जग्गाधनी पुर्जामा अन्जानमै केही न केही मिस्टेक भएकोले त्यसलाई सच्याउनमा पनि समय लाग्ने उनले बताइन् । विद्युत् अनियमित हुने, कार्य सम्पादनको अन्तिम चरण नेट नचल्ने कारणले सेवाग्राहीको गुनासो धेरै रहेको आचार्यले बताइन् । ‘सेवाग्राही लाइनमा हुन्छन्,’ उनले भनिन्, ‘हामीभित्र नेट चल्छ कि भन्दै कम्प्युटर रिफ्रेस गर्दै बस्नुपर्छ ।’
प्रकाशित : श्रावण ११, २०७६ १०:३९