कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा ४५ वन्यजन्तु मरे

रूपा गहतराज

नेपालगन्ज — तीव्र गतिमा चलाइने सवारीसाधनका कारण निकुञ्ज खण्डमा पर्ने राजमार्गमा वन्यजन्तु मारिने क्रम बढेको छ । 
वर्ष ०७५/७६ मा भएका सडक दुर्घटनामा बाँके राष्ट्रिय निकुञ्जका राजमार्गमा भएको सडक दुर्घटनामा ४५ वन्यजन्तु मारिएका छन् ।

७२ किलोमिटर पूर्वपश्चिम महेन्द्र राजमार्ग क्षेत्र बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । त्यसैगरी रत्न राजमार्गमा ३० किलोमिटर निकुञ्जको क्षेत्रफल जोडिएको छ । वर्ष ०७४/७५ मा ७२ वन्यजन्तु मारिएका थिए । त्यसअघि ०७३/७४ मा ८३ वन्जन्तु सडक दुर्घटनामा मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताए ।


वन्यजन्तु संरक्षण गर्ने क्रममा निकुञ्जले ०७५/०७६ मा ४ सय ३१ वटा वन्यजन्तुको र ०७४/७५ मा ११ को उद्धार गरेको थियो । यसैगरी ०७४/७५ मा बाँके निकुञ्जका वन्यजन्तुबाट क्षति भएका ३ सय ५ घर धुरीमध्ये १४ लाख २८ हजार ७२ रुपैयाँ पीडितलाई राहत वितरण गरेको निकुञ्जले जनायो ।


गतवर्ष ४ सय १८ घरधुरीका परिवारलाई ६० लाख ९३ हजार ४२ रुपैयाँ निकुञ्जले पीडितलाई राहत वितरण गरेको थपलियाले बताए । १९ वटा डिभिजन वन कार्यालयमार्फत बाँके निकुञ्जले राहत वितरण गरेको हो ।


निकुञ्जमा एक करोड राजस्व बढ्यो

जंगल वाक् (पैदल), जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ/हाइकिङ, होमस्टे सञ्चालन र र्‍याफटिङका कारण पर्यटक बढेपछि राजस्वमा वृद्धि भएको छ ।


वर्ष ०७५/७६ मा १ सय ४८ नेपाली, ११ सार्क र १ जना विदेशीसहित १ सय ६० पर्यटकबाट १ करोड ४ लाख ४९ हजार ९ सय ८२ रुपैयाँ राजस्व संकलन भएको छ । गतवर्ष २ जना मात्र पर्यटक आएका थिए । २ हजार मात्र राजस्व संकलन भएको थियो । ०६७ मा स्थापना भएको निकुञ्जमा स्वदेशी तथा विदेशी गरी यस वर्ष सय जना पर्यटकले अवलोकन भम्रण गरेको थपलियाले बताए । बाँके राष्ट्र्रिय निकुञ्जमा बाघको संख्या २१ पुगेको छ ।


यसैगरी बाँके निकुञ्जमा वन्यजन्तुको चोरीसिकार तथा अवैध व्यापारका ५४ मुद्दा छन् । ३७ मुद्दा अदालतमा छन् । १७ वटा निकुञ्जको कार्यालयमा दर्ता भएका छन् । ३ सय ३८ जना चोरीसिकार गरेको आरोपमा पक्राउ परेका थपलियाले बताए ।


०७५/०७६ मा जिल्ला वनतर्फ ३४ वटा मुद्दामध्ये १४ मुद्दा जिल्ला अदालत र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन् । १ सय २७ व्यक्ति पक्राउ परेका छन् । ‘अधिकांश मुद्दा सुकुटी र जडीबुटी व्यापारका छन् ।’ यस्ता घटना व्यक्ति एक्लैले गर्दैनन् । यो संगठित अपराध भएको थपलियाले बताए ।

प्रकाशित : श्रावण १२, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?