कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भूमिगत स्रोत सुकेपछि कृत्रिम जलाशय

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीस्थित सीमावर्ती गाउँमा असार दोस्रो सातासम्म बोरिङ चलाउँदा पानी निस्केन । त्यहाँका बासिन्दा २/३ वर्ष अघिसम्म घण्टौ बोरिङ चलाएर रोपाइँ गर्थे । हिउँदमा भूमिगत पानीले खेतीपाती गर्थे । यसपाली वर्षामै नआएपछि सर्वसाधरण चिन्तित छन् ।

भूमिगत स्रोत सुकेपछि कृत्रिम जलाशय

विकल्पमा एक/दुई किलोमिटर टाढा रहेका खोला र कुलाको पानीसम्म पाइप पुर्‍याएर ‘पम्पसेट’ चलाएर पानी तान्नु पर्‍यो । यसले खर्चसँगै हैरानी बढ्यो ।


प्रतापपुर गाउँपालिका–२, का मोहनबहादुर चौधरीले ५ सय मिटर टाढा कुलोबाट पाइप बिच्छयाएर पानी तानेर रोपाइँ गरे । पाइप खरिदमा मात्रै २ हजार रुपैयाँ खर्च भयो । इन्धन र पप्पसेट भाडामा ल्याउँदा थप खर्च भयो । ‘धारा (ट्युबवेल) मा पिउने पानी पनि आउँदैन्, बोरिङबाट कसरी आओस्,’ उनले भने ।


दुःख हुन थालेपछि यहाँका स्थानीय तहले भूमिगत जल संरक्षणमा चासो देखाएका छन् । पर्यटक आकर्षित गर्नुकासाथै संरक्षण हुने भएपछि अहिले धमाधम कृत्रिम जलासय बनाइरहेका छन् । पुराना तालतलैयाको संरक्षणमा चासो दिएका छन् । पाल्हीनन्दन, सरावल, प्रतापपुर, रामग्राममा रहेका ताल संरक्षणमा बजेट विनियोजन भएको छ । सुनवल र बर्दघाटमा ठूलो कृत्रिम जलासय निर्माण गरिएको छ ।


पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले सुनवलमा कृत्रिम सिमसार निर्माण गरिएको छ । मुलपानी सामुदायिक वनको ४ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको हो । जलासय, पार्क, तथा वन्यजन्तुमैत्री मार्ग निर्माण गरिएको हो । जलासयको बीचमा मन्दिर बनाइएको छ । डुंगा सयर गराउने उद्देश्य छ । बालबालिकाका लागि पार्कका साथै वनभोज स्थल रहेको छ ।


जल पुर्न भरणपोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डेले हरित नगर बनाएरर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको बताए । ‘जलाशयबाट वन्यजन्तुदेखि मानवले फाइखा लिनेछन्,’ उनले भने, ‘जलाशयबाट सिँचाइको प्रबन्ध गरिएको छ ।’ वनभित्र ठूलो जलासय हुँदा मुहान नसुक्ने भएकाले यस्तो अवधारणा ल्याइएको उनले बताए । सिचाइँ गर्न पाईने भएपछि स्थानीय खुसी छन् । जलाशय निर्माणपछि वर्षमा किसानले तीन खेतीसम्म गर्न सक्नेछन् ।


बर्दघाट नगरपालिकाको संसारकोट हरियाली सामुदायिक वन क्षेत्रमा कृत्रिम सिमसार निर्माण गरेको छ । बर्दघाट–१० स्थित वनको १० हेक्टर क्षेत्रफललाई सिमसार बनाइएको छ । त्यसका लागि विभिन्न ठाउँमा बाँध बनाएर पानी ल्याइएको छ । पानी जम्मा भएपछि वन्यजन्तुलाई राहत मिलेको छ । वरपरका साना मुहान सुकेका छैनन् ।


बाउन्न घोला सिमसार क्षेत्र निर्माण समितिले ९० मिटर बाँध बनाएर पानी जम्मा गरेको छ । अहिलेसम्म ५ फुट पानी जम्मा भएको सामुदायिक वनका सचिव प्रेमप्रसाद अधिकारीले बताए । सिमसार संरक्षणसँगै स्थानीयले सिचाइँ सुविधा पाउने भएपछि सबैको चासो बढेको छ । अहिले ११ लाख रुपैयाँ खर्च गरे बाँध बनाइएको हो ।


थप सुरक्षित बनाउन पक्की बाँध निर्माण गर्ने वनले जनाएको छ । रामग्राम नगरपालिकाभित्र ५० भन्दा बढी तालतलैया छन् । केहीमा वर्षामा मात्र पानी हुन्छ । कार्ययोजना बनाएर ताल संरक्षणमा जुटेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । ‘रिचार्ज नहुँदा जमिन मुनिको पानी सुक्दैछ । यसका लागि भएका ताल तलैयाको संरक्षण मुख्य जिम्मेवारी हो,’ उनले भने, ‘जगंल आसपासका

ताल तलैया संरक्षण गर्न सके वन्यजन्तुलाई राहत हुने रस्थानीयलाई सिँचाइ पनि पुग्नेछ ।’


जिल्लामा १९ हजार ४ सय हेक्टर चुरे क्षेत्र छ । त्यहाँबाट उत्पत्ति भएका खहरेका कारण तल्लो तटीय क्षेत्र जोखिममा छन् । स्थानीयलाई अहिले चुरेको व्यवस्थापन र महत्वका जानकारी गराउने काम भइरहेको छ । भूमिगत जलस्रो सुक्नुको कारण वन फडानी, अव्यवस्थित नदीजन्य पदार्थको उत्खनन् मुख्य कारण रहेको विज्ञले बताएका छन् ।


अहिले खोलामा पानीको सतह बढेको छ । वन र खोलाबाट अव्यस्थित रुपले गिट्टी बालुवा उत्खनन् हुँदा तराईको भूमि मरुभूमिमा परिणत हुने चिन्तामा स्थानीय छन् । जिल्लाका सरावल, पाल्हीनन्दन, बर्लघाट, सुनवलमा अत्यधिक दोहन भएको थियो ।


पाल्हीनन्दनको नन्दन ताल, झरही खोला, बर्दघाटम, सुनवलमा पोखरी बनाउने काम भइरहेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका भूगर्भशास्त्री प्रेमनाथ पौडेलले बताए । ‘चुरे दोहनले भूमिगत जलस्रोत घट्ने क्रममा छ,’ उनले भने, ‘चुरे संरक्षणको आवश्यकता र त्यसको महत्त्वको जानकारी सर्वसाधारणसम्म नपुगेसम्म दोहन रोकिँदैन ।’

प्रकाशित : श्रावण १३, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?