कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहाँ हराए महिला ?

रूपा गहतराज

नेपालगन्ज — मानव बेचविखनविरुद्ध काम गर्दै आएको माइती नेपालले एक वर्षमा ६ सय ९७ महिला हराएको तथ्यांक सार्वजनिक गरेको छ । आव ०७५/७६ मा महिलाको खोजतलासका लागि ८ सय ३३ वटा निवेदन परेका छन् । जसमा बाँकेका मात्र १ सय ३३ महिला हराएका छन् । 

घरपरिवारलाई थाहा नदिएर वा कतिपय सल्लाहले गएकाहरू केही महिनापछि सम्पर्कमा नआउने र आफन्तले खोजतलास तथा उद्धारका लागि निवेदन दिने गरेको माइती नेपाल नेपालगन्ज प्रमुख केशव कोइरालाले जानकारी दिए ।


गत वर्ष खोजतलासका ९ सय १३ निवेदन थिए । त्यसमा १ सय ४३ फेला परेका थिए । माइती नेपालले नाकाबाट ९ सय २ जनालाई फिर्ता पठाएको छ । विपन्न, निरक्षर महिला, पारिवारिक सम्बन्ध राम्रो नभएका, दुःख पाएका र कतिपयलाई विवाहको नाटक गरेर दलालले भारत तथा खाडी मुलुकमा पुर्‍याउने गरेका छन् ।


आफ्नै ठाउँमा दुःखले बाँच्नु भन्दा खाडीमा गएर काम गरेमा पैसा कमाइन्छ भन्ने मानसिकताले दलालको पछि लाग्ने धेरै रहेको कोइरालाले बताए । ‘त्यसरी अवैधानिक तरिकाले खाडी मुलुकमा जाँदा महिलाले दुःख पाएका छन्,’ उनले भने, ‘भारतीय सहरमा बेचिने महिला पनि सामाजिक सन्जाल र मोबाइल फोनबाट सम्बन्ध जोडिएका धेरै छन् ।’


एकथरी खाडी जाने र अर्कोथरीलाई प्रेममा पारेर कोठीको जोखिमपूर्ण यात्राबाट रोक्न नेपालगन्ज नाकामा प्रहरीसहित आधा दर्जन मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले काम गरिरहेका छन् । त्यसका बाबजुद महिलालाई यो नाकाबाट भारत र भारत हुँदै खाडी मुलुक पुर्‍याउन दलाल अझै पनि सक्रिय रहेको प्रहरीको भनाइ छ ।


जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्यांकलाई हेर्दा नेपालगन्ज नाका सधैं अगाडि देखिएको छ । महिलालाई भारत तथा खाडी मुलुकमा पुर्‍याउन नेपालगन्ज नाकाको प्रयोग गर्दै आएका छन् । सधैं भीडभाड हुने भएकाले दलालले यो नाकाको प्रयोग गर्ने गरेका हुन् ।


भारतका कोठी तथा खाडी मुलुकबाट उद्धार गरिएका अधिकांश महिलाले नेपालगन्ज नाका हुँदै गएको बयान दिने गरेका छन् ।

दलालको राम्रो काम र दामको प्रलोभनमा परेर भारत तथा खाडी मुलुक गएका महिला लामो समय आफन्तको सम्पर्कमा नआएपछि घरपरिवारले मानव बेचबिखनविरुद्ध काम गर्ने संघसंस्था र प्रहरीमा खोजतलासका लागि निवेदन दिने गरेका छन् ।

प्रकाशित : श्रावण १७, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?