कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बुटिक र पार्लरप्रति आकर्षण

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका–२० मा स्थानीय सरिता गुरुङले बुटिक संचालन गरेकी छन् । लामो समय बुटिक डिजाइनसम्बन्धी तालिम लिएकी उनले यसलाई व्यावसायिक रूप दिएकी हुन् ।

परम्परागत पहिरनदेखि बजारमा आएका नयाँ ट्रेन्डअनुसारका पहिरन आफ्नो ‘इडी ओढ्नी’ मा तयार भइरहेको सञ्चालक गुरुङले बताइन् । बुटिकले आधुनिक तथा आकर्षक डिजाइनका कुर्ता, टप्स, लेहंगा, साडी, गाउन, ब्लाउज तयार गर्दै आएको छ ।

‘ग्राहकको रोजाइअनुसार र उनीहरूको शारीरिक बनोटसँग मिल्ने गरी पहिरन डिजाइन गर्छौं,’ गुरुङले भनिन्, ‘तुलनात्मक रूपमा सस्तो र गुणस्तरीय सामान बिक्री गरिरहेका छौं ।’ यसमा ७ लाख रुपैयाँ लगानी भएको छ । स्तरीय डिजाइनका पहिरनका लागि अब छिमेकी देश तथा राजधानी धाउनु नपर्ने उनले दाबी गरिन् ।


गुरुङ मात्र होइन, नेपालगन्ज–१२, बेलासपुरकी सानु ओझाले पनि बुटिक संचालन गरेर राम्रो आम्दानी गरिरहेकी छन् । उनले आफ्नै लगानीमा प्लानेट बुटिक सञ्चालन गरेकी छन् । ‘मेरा लागि व्यापार रहरभन्दा पनि प्यासन हो,’ उनले भनिन्, ‘त्यही प्यासनले केही गर्नुपर्छ भन्ने साहस बढायो ।’ सुरुमा ११ लाख रुपैयाँ लगानी गरिन् । अहिले ३० लाख रुपैयाँ पुगेको छ ।


‘६ जना कामदारलाई तलब खुवाएर महिनामा ५० हजारदेखि १ लाख रुपैयाँ बचत हुन्छ,’ उनले भनिन्, ‘तर, सधैं एकनास हुँदैन ।’ आत्मनिर्भर भएकामा उनलाई गर्व छ । ‘बुटिक महिलाका लागि राम्रो व्यवसाय हो,’ उनले भनिन् । मिहिनेत अनुसार राम्रो बजार पाउने सञ्चालक बताउँछन् ।


बुटिकसँगै यहाँ ब्युटिपार्लर सञ्चालन गर्ने महिला बढ्दै छन् । स्थानीय दुर्गा अधिकारीले नेपालगन्जमा बागेश्वरी ब्युटिपार्लर सञ्चालन गरेकी छन् । करिब २५ वर्षअघि सुरु गरिएको उनको पार्लरले उनलाई सफल व्यवसायी बनाएको छ । त्यसका साथै समाजमा घुलमिल हुन सघाएको छ ।


नेपालगन्जको बीपी चोककी सरिता बोहराले लामो समयदेखि पार्लर सञ्चालन गरिरहेकी छन् । १८ वर्षको उमेरबाट व्यवसाय सुरु गरेको उनले बताइन् । अरूको अधीनमा रहेर भन्दा आफैंले काम गर्न चाहेकाले पार्लर सञ्चालन गरेको उनले बताइन् । ‘विवाह तथा चाडपर्वको सिजनमा बढी भीड हुन्छ,’ उनले भनिन् । बैंकबाट आठ लाख रुपैयाँ ऋण लिएर पार्लरलाई अत्याधुनिक बनाएकी उनले अहिले १५ लाखको लगानी पुगेको दाबी गरिन् । अहिले बजार र माग बढिरहेको छ ।


त्यसैले व्यवसाय विस्तार गर्नु परिरहेको उनीहरूले बताए । माग बढेपछि पार्लरले आम्दानी मात्र नभएर आत्मविश्वास पनि बढाएको बोहराले बताइन् । ‘धेरै महिलासँग भेट हुन्छ,’ उनले भनिन्, ‘नयाँ ज्ञान भएका ग्राहक आउँछन्, उनीहरूबाट सिक्ने अवसर पाउँछु ।’ पार्लरबाट सेवा मात्र प्रदान गर्दिनन्, सीप पनि सिकाउँछिन् । पार्लरमा सुर्खेत कालीकोट, रोल्पा सल्यानबाट समेत महिलाहरू ब्युटिपार्लर कोर्स सिक्न आउने गरेको उनले बताइन् ।


‘थोरैलाई भए पनि सीप बाँड्ने अवसर पाएकी छु,’ उनले भनिन् । नयाँ–नयाँ डिजाइन र मेकअपका लागि उनी वार्षिक ५० हजारदेखि १ लाखको खर्च जोहो गरेर तालिम लिन काठमाडौं जान्छिन् । ‘सधैं एउटै डिजाइन रहन्न, नयाँ दिनका लागि नयाँ सीप सिक्नुपर्छ,’ उनले भनिन् । व्यवसायले उनको जीवन धानिरहेको छ । ‘१० वर्षको छोराको भविष्य निर्माण गर्नका लागि पनि कमाउन आवश्यक छ,’ उनले भनिन् । पछिल्लो समय पार्लर र बुटिक सञ्चालनमा यहाँका महिलाको आकर्षण बढेको छ ।


व्यवसाय गर्न चाहने महिलामा आधाभन्दा धेरैको रोजाइ पार्लर र बुटिकमा रहेको छ । अरू व्यवसायमा महिला कम रहेको उद्यमी संघकी जिल्ला महासचिव सावित्रा बस्नेतले बताइन् । ‘बुटिक र पार्लर महिलाका लागि सजिलो र सुरक्षित पेसा बन्दै गएका छन्,’ उनले भनिन् । उनका अनुसार महिलालाई सफल व्यवसायी बन्न परिवारको सहयोग, लगानीको वातावरण र बजार स्थिति सबै अनुकूल हुनुपर्छ । ‘व्यवसाय गर्न महिलालाई धेरै चुनौती छन् । व्यवसायसँगै घरको काममा पनि समय दिनुपर्ने हुन्छ,’ उनले भनिन् ।


नेपालगन्ज उद्योग वाणिज्य संघमा अहिले ३ सय ५० महिला आबद्ध छन् । महिला व्यवसायीलाई अझै पनि घर र समाजले विश्वास कम गर्ने समस्या छ । घरमा पनि समय दिनुपर्ने हुँदा महिलाले व्यवसायमा पर्याप्त समय दिन सक्दैनन्, जसका लागि बुटिक र पार्लर सजिलो व्यवसाय बनेको छ ।


पछिल्लो समय नेपालगन्जमा महिला व्यवसायीको संख्या बढेको छ । त्यसमा पनि पार्लर र बुटिक खोल्नेमा महिलाको होडबाजी नै चलेको छ । ‘पहिले त महिला व्यवसायी खोज्न हैरान हुनुपर्थ्यो । अहिले संख्या बढेको छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघकी उपमहासचिव तारा रोकायले भनिन्, ‘तर महिलाको पहिलो रोजाइ भने पार्लर र बुटिक नै बनेका छन् ।’

प्रकाशित : श्रावण २०, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?