२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मकैबारीमा बाँदर आतंक

वीरेन्द्र केसी

अर्घाखाँची — छत्रदेव गाउँपालिका–२ का फर्सुराम पाण्डेले आठ रोपनी बारीमा अन्न खेती गर्छन् । यतिबेला मकैले घुँगा हालेको छ । दुधालु मकै कोपर्न बाँदरले बल गर्छ । ‘जहाँ मकै खेती छ, त्यहीँ बाँदरको बगालै जान्छ,’ उनले भने, ‘दुःख गरेर मकै फलाएँ, बाँदरबाट जोगाउनै मुस्किल छ ।’ 

मकै रोप्दा, खन्दा, हुर्काउँदाभन्दा बढी दुःख बाँदरबाट जोगाउन भइरहेको उनले सुनाए । बारी छेउका रूखमा बाँदरको ठूलो बगाल बस्छ । मान्छेभन्दा छिटो बाँदर एक ठाउँबाट अर्को ठाउँमा दौडिन्छ । यताबाट लखेटे उताबाट खाइदिन्छ । यस्तो समस्या परम्परागत होइन । ५ वर्षदेखि बाँदर दुई/चारवटा देखा पर्थे । अहिले त्यो संख्या बढेर ठूलो बगाल नै भएको छ ।


पाण्डेको घरमा श्रीमती, एक छोरा र एक छोरी छन् । छोराछोरी दिउसो स्कुल जान्छन् । बिहान–बेलुका उनीहरूले बाँदर धपाउँछन् । ‘बिहान–बेलुका हामीलाई घाँस काटन र खाना पकाउनै ठिक्क हुन्छ,’ पाण्डेले भने, ‘बिहान–बेलुका केटाकेटी र दिउसो हामी खटिन्छौं ।’


मकैले घोंगा हाल्दादेखि पाक्दासम्म छत्रदेव–६ को ठूलापोखराका कृष्णप्रसाद पाण्डेको बारीमा बाँदरको बासै हुन्छ । ‘बारीको छेउमा सानो झुप्रो बनाएको छु, त्यहीं बस्छु,’ उनले भने, ‘हातमा लौरो लिन्छु, बाँदर आए त्यसैले धपाउँछु ।’ गुलेलीमा ढुंगा राखेर हान्दा बाँदर छिटो भाग्ने उनले सुनाए । घरबाट खाना पकाएर ल्याइदिन्छन् । उनले बारीमै भात–भान्सा गर्छन् । ‘दुई पटक त मेरो खाना नै बाँदरले खाइदियो,’ उनले भने, ‘खानाको थाल भुइँमा राखेर पिसाब फेर्न छेउतिर गएको थिएँ, हेर्दाहेर्दै खाइदियो त ।’ बाँदरले महिलालाई टेर्दै नटेर्ने किसानको गुनासो छ ।


झुप्रोमा बिछौना राखेका छन् । चिया पकाउन कित्ली छ । भोक लागे चिया खाने र उभिंदा शरीर दुखे आलोपालो आराम गर्छन् । घरमा ढोका लगाएरै सबै परिवार बारीमा चौकीदारी गर्ने गरेको उनले सुनाए ।


पाणिनि गाउँपालिका खिदिमका मुना गौतमले घरको थामबाट बारीको छेउको रूखसम्म रस्सी टाँगेकी छन् । बीच–बीचमा टिनका घन्टी छन् । घरबाट रस्सी तानेर हल्लाएपछि घन्टी बज्छ र सरर मकै पनि हल्लिन्छन् । अनि, बाँदर भाग्छ । ‘तर, बाँदरको मुखबाट जोगाउन सजिलो छैन,’ उनले भनिन् । जिल्लाका छत्रदेव, पाणिनि र मालारानी गाउँपालिकामा बाँदरको बिगबिगी छ ।


वर्षामा मकै, बोडी, सिमी, काँक्रो खाइदिन्छन् । खाने मात्रै होइन, झाल छिँनालिदिएर नोक्सान पारिदिन्छन् । वर्षामा मकैबारीमा र हिउँदमा घरमा बाँदरको बास हुन्छ । घरभित्र बाँदर पसेर अन्नपात पोखिदिने, नोक्सान पारिदिने गर्छन् । तरकारी पनि खाइदिन्छन् । ‘बाँदरबाट बाली जोगाएर भित्र्याउन धेरै दुःख छ,’ बल्कोटका कृषक एवं कांग्रेस जिल्ला सचिव विष्णुप्रसाद भुसालले भने ।


गाउँमा बाँदर नआओस् भनेरै बारीको छेउमा बुख्याँचा ठड्याइएको छ । त्यो देखेपछि बाँदर झ्याप्प बारीमा पस्न डराउने यहाँका किसानको अनुभव छ । नेता भुसालले १० रोपनी बारीमा व्यावसायिक तरकारी खेती गरेका छन् । बाँदर आउन नदिन चारैतिर बारेका छन् । तर पनि उफ्रेर बाँदर छिरिहाल्छ । ‘बाँदरले खुर्सानी र अमिलोबाहेक सर्वस्व खान्छ,’ उनले भने ।


पहिलो सभामा बजेट विनियोजन गरेरै सन्धिखर्क नगरपालिका, छत्रदेव र मालारानी गाउँपालिकाले बाँदर हेरालु राखेका थिए । प्रत्येक वडालाई एक–एक लाख रुपैयाँ बजेट छुट्याएर तलबी हेरालु राख्दा कृषकलाई केही राहत भएको थियो । त्यसपछि पालिकाले बजेट विनियोजन नगर्दा समस्या भएको छ । तलबी हेरालु राखेर बाँदर नियन्त्रण सम्भव नभएको र बाँदर विशेषज्ञ ल्याएर दीर्घकालीन उपाय खोज्ने तयारी भएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए ।


६ वर्षदेखि जिल्लाका चारवटा पालिकामा बाँदरको संख्या बढ्दो छ । बाँदरले सताएपछि गाउँले जिल्ला प्रशासन र प्रहरीकहाँ पनि धाए । तर, वन्यजन्तु मार्न र लखेट्न कानुनी व्यवस्था नभएकाले केही गर्न नसकिने जवाफ पाएपछि गाउँले निराश छन् । ‘बाँदर मार्ने अधिकार कानुनमा छैन,’ प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने, ‘त्यसैले बाँदर नियन्त्रणका लागि विकल्प खोजिरहेका छौं ।’

प्रकाशित : श्रावण २०, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?