पहिरोले गाडी सञ्चालनमा बाधा

कान्तिपुर संवाददाता

रुकुम पूर्व — सिस्ने गाउँपालिकाको रुकुमकोटसम्म दाङको घोराही र तुलसीपुरबाट साना गाडी चल्छन् । मध्यपहाडी लोकमार्गको स्तरोन्नतिको काम भइरहेकाले गाडी रुकुमकोट पुग्न थालेका हुन् ।

पछिल्लो समय दैनिक रूपमा घोराही तथा तुलसीपुरबाट छुटेका गाडी गन्तव्यमा पुग्न सकेका छैनन् । पहिरोका कारण गन्तव्य अनिश्चित बनेको छ ।


सडकको अवस्था राम्रो भए पनि पहिरोले अवरोध पुग्ने गरेको स्थानीयले बताए । ‘वर्षामा पनि सडक ठिकै छ,’ गाडी चालक रमेश क्षत्रीले भने, ‘बीचबीचमा झर्ने पहिरोले भने गन्तव्यमा पुग्न सकिँदैन ।’ यसअघि हिउँदमा समेत दाङ–रुकुमकोट गाडी सञ्चालन भएका थिएनन् । मध्यपहाडी मार्ग स्तरोन्नतिको काम भइरहेकाले सडक सजिलो बनेपछि गाडी चलाउन थालेको चालक क्षत्रीले बताए । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको रिनदहसम्म सडक कालोपत्रे भइसकेको छ । त्यसभन्दा यताको स्तरोन्नतिको काम चलिरहेको छ । यसबीचमा पर्ने दुईवटा खोलामा पुल निर्माण भएर सञ्चालनमा आइसकेका छन् ।


‘सडक स्तरोन्नतिको काम चलिरहेको छ,’ यात्रु लालबहादुर बीसीले भने, ‘पहिरोले गन्तव्य अनिश्चित बनेको छ ।’ रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा पर्ने घोरखानी खोलामा पुल र रुकुम पूर्व सिस्ने गाउँपालिकाको सांग्रेखोलामा पुल बनेपछि गाडी सुचारु भएका थिए । रुकुम पूर्व प्रवेश गरेपछि बढी समस्या बेहोर्नुपरेको यात्रु बीसीले बताए ।


‘पानी नपरोस् भनेर कामना गर्दै यात्रा गर्नुपर्छ,’ स्थानीय सुशीला पुन मगरले भनिन्, ‘वर्षा न हो, हाम्रो कामनाले मात्रै के काम गर्छ र !’ अघिल्लो वर्षको जति समस्या नपरे पनि समस्या हुन नछाडेको उनले बताइन् । पहिरो झरेकै ठाउँमा डोजर/स्काभेटर राखेर चलाउँदा कम समस्या बेहोर्नुपर्ने उनको भनाइ छ ।


पानी पर्ने अवस्था देखिए रुकुमकोट पुगेका गाडी पनि फर्काएर किटेनी ल्याउनुपर्ने बाध्यता छ । कालिका प्यासाफिक जेभीले सडक स्तरोन्नतिको काम गरिरहेको छ । पहिरोकै कारण रुकुमकोटदेखि भूमे तथा पुथाउत्तरगंगा जान पनि समस्या छ । सिस्ने र भूमे गाउँपालिकाको सीमामा रहेको रुकुमगाड खोलामा पुल निर्माण नभएपछि सवारी साधन वारिका वारि र पारिका पारि नै रहेका छन् । यात्रु भने खोला तरेर अर्को गाडी फेर्नुपर्ने बाध्यतामा छन् ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?