कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिउँदो नागको पूजा

मनोज पौडेल

कपिलवस्तु — नागपञ्चमीका दिन धेरै ठाउँमा कागजको नाग टाँसेर पूजाआजा गरियो । यहाँस्थित तौलिहवामा जिउँदो नागको पूजा गरियो । जिउँदो नागको पूजा गर्न यहाँ सोमबार बिहानै तौलेश्वरनाथ महादेव मन्दिर परिसरमा भीड लागेको थियो । जिउँदो नागको पूजा गर्न कतिपय डराउँछन् । कतिपय रोमाञ्चित हुन्छन् । 

जिउँदो नागको पूजा

यशोधरा गाउँपालिका बैदोलीकी सावित्री चौधरीले नागलाई दूध पिलाइन् । घरबाट भुटेर ल्याएको लावा खुवाइन् । गोमन नागको विधिपूर्वक पूजा गरिन् । ‘मन शान्त भयो,’ उनले भनिन्, ‘जिउँदो नागको पहिलोपटक पूजा गरें ।’


पहिले सोचेजस्तो सर्प कठोर नभएको उनले बताइन् । ‘सद्भाव जाग्यो । अब सर्पलाई माया गर्छु,’ उनले भनिन्, ‘समाजमा सर्पबारे नकारात्मक धारणा भएकाले डर लाग्ने रहेछ ।’ सर्पलाई केही नगरे त्यसले पनि केही नगर्ने उनले बताइन् । ‘नागको पूजा गरेपछि वर्षदिन जोखिमबाट मुक्त भएँ,’ उनले भनिन्, ‘परिवारका सदस्य पनि नाग आक्रमणमा नपरुन् भनेर कामना गरें ।’


उनीजस्तै बुद्धभूमि नगरपालिका, बकडरियाकी सुमित्रा घिमिरेले जिउँदो नागको पूजा गर्न पाएकामा खुसी भएको बताइन् । ‘पोहोरपरार घरमा नागको फोटोमा पूजा गर्थें,’ उनले भनिन्, ‘यस वर्ष पहिलोपटक जिउँदो नागको पूजा गर्न पाएकामा निकै रोमाञ्चित बनें ।’ अर्को वर्ष व्रत बसेर अझ राम्ररी पूजाआजा गर्ने उनले बताइन् ।


नागपञ्चमीका दिन तौलेश्वरनाथ महादेव मन्दिरमा आउनेले अनौठो अनुभूति गरे । जिउँदो नाग देख्दा खुसी भए । मन्दिरमा पूजाआजाका लागि जिउँदै नाग ल्याइएको थियो । महिला, गृहिणी, किशोरकिशोरी जिउँदो नाग देखेपछि उत्साहित बने ।

अरू बेला सर्प देखेर डराउनेले पनि मन्दिरमा निर्धक्कसँग पूजाआजा गरे । नागलाई दूध, दही, अक्षता, फूल, दूबो र दक्षिणा राखी विधिपूर्वक पूजाआजा गरे । ‘झट्ट देख्दा डराएँ,’ कपिलवस्तु नगरपालिका–६ की अनिता क्षत्रीले भनिन्, ‘तर, सर्प छुन पाउँदा अविस्मरणीय अनुभूति गरें ।’


नाग पूजाआजा गर्न आउनेमा ८० प्रतिशत बढी महिला, किशोर र किशोरी थिए । मन्दिरमा पूजाआजाका लागि सर्प पाल्ने पाँच जना सपेराले सानाठूला गरी ६ वटा गोमन ल्याएका थिए । मन्दिरको उत्तरतिर लाइन बसेर पूजाआजा गराए । ‘सर्प पूजा गरेर श्रद्धालुले नगद दान दिन्छन्,’ यशोधरा गाउँपालिका–४ बाट आएका सपेरा श्याम पथरकट्टले भने, ‘त्यसले सर्पको जीवन जोगिन्छ । पाँच/सात महिना दूध पिलाउन पुग्छ ।’ सर्पसँगै आफ्ना लालाबालाको पनि चुलोचौको चल्ने उनले बताए ।


गएको ६ वर्षदेखि यहाँ नागपञ्चमीमा जिउँदो नागको पूजा गर्ने चलन सुरु भएको हो । तौलिहवा बजारका अधिकांश श्रद्धालु नागको पूजा गर्न मन्दिर पुग्ने गर्छन् । धार्मिक महत्त्व बुझेका व्यक्ति टाढाटाढाबाट पनि आएका थिए । नागपञ्चमीका दिन यहाँ बिहानदेखि मध्याह्न १२ बजेसम्म नागको पूजाआजा गर्नेको भीड लागेको थियो ।


‘मन्दिरमा सर्प राख्यौं भने हेलमेल भइन्छ,’ तौलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समितिका सचिव वेद बर्माले भने, ‘सर्पसँग नडराउन् र माया गरुन् भनेर यहाँ सर्पको पूजा थालिएको हो ।’ सर्पको पूजा गर्दा मार्नु हुन्न भन्ने सन्देश जाने उनले बताए ।


सर्पले मानवलाई नोक्सानीभन्दा फाइदै पुर्‍याउने सर्प तथा कछुवा विशेषज्ञ डा. करनबहादुर शाहले बताए । ‘एन्टी स्नेक भेनम बनाउन सर्पकै विष चाहिन्छ,’ उनले थपे । सर्प जोगाउन सकिएन भने टोकाइविरुद्धको सुई बनाउन नसकिने उनले बताए ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?