१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गाउँ–गाउँमा होमस्टे

ठाकुरसिंह थारु

बर्दिया — पछिल्लो समय यहाँ खेतीकिसानीसँगै होमस्टे आम्दानीको वैकल्पिक स्रोत बनेको छ । जसका कारण यहाँका गाउँ–गाउँमा होमस्टे खुल्न थालेका छन् । होमस्टेले आम्दानी दिएपछि सर्वसाधारणको आकर्षण बढेको हो । 

गाउँमा सञ्चालनमा आएका होमस्टेमा रमाउन आन्तरिक तथा विदेशी पर्यटक पुग्न थालेका छन् । सुरुमा बर्दियाको ठाकुरद्वाराको डल्लामा व्यावसायिक होमस्टे सञ्चालनमा आएको थियो । हाल त्यहाँका स्थानीयका घरघरमा छ । त्यसले स्थानीय खानपान तथा परिकार र संस्कृति संरक्षणमा बढावा मिलेको छ ।


प्राकृतिक वातावरणमा रमाउन पाहुनाहरू त्यहाँ पुग्छन् । गाउँको खानपान गर्दै रमाउँछन् । डल्लाबाट सुरु भएको होमस्टे व्यवसाय अहिले ठाकुरबाबा नगरपालिकाको नेउलापुर, ठाकुरद्वाराको उत्तरतर्फ सुन्दर हरियालीसम्म फैलिएको छ । बारबर्दियाको खैरेनीमा सतखोलवा होमस्टे सञ्चालनमा आएको छ । मध्यवर्ती वनले घेरिएको यसमा प्राकृतिक वातावरणमा रमाउन पाहुना पुग्छन् । सतखोलवामा बोटिङको पनि व्यवस्था छ । मध्यवर्ती जंगल र खोला घुम्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ ।


गेरुवा गाउँपालिकाको पाताभारमा पनि होमस्टे खोलिएको छ । राजापुर नगरपालिकाको मुर्गिया, ठाकुरबाबा नगरपालिकाको गोविन्दपुर, गुलरिया नगरपालिकाको खैरापुरमा पनि होमस्टे संचालनमा आएका छन् ।


होमस्टे एसोसिएसन नेपालका सचिव कृष्ण चौधरीले पछिल्लो समय गाउँ–गाउँमा होमस्टे खुल्न थालेको बताए । उनका अनुसार बर्दियाका एक दर्जन बढी गाउँमा होमस्टे खुलेका छन् । ‘पछिल्लो समय नेपालीमा पनि घुम्ने बानीको विकास भएको छ । शान्त वातावरणमा घुम्न धेरैले मन पराउँछन्,’ उनले भने, ‘सहरको खानाले मान्छे वाक्क भइसके ।


त्यसैले अर्गानिक खानपानका लागि पनि होमस्टे रोजाइमा परेको हो ।’ होमस्टेले आम्दानीको स्रोत बढाएपछि सर्वसाधारणलाई फाइदा पुगेको छ । त्यससँगै घरमा उत्पादन गरिएका खाद्यवस्तु पनि पाहुनालाई परिकारका रूपमा खुवाएर आम्दानी गरिरहेका छन् । परम्परागत खानपान ढिक्री, बरिया, कचालु, चटनीलगायतका परिकार मजाले बिक्री हुने गरेका छन् ।


घरमै बनाइएको सिन्की, मस्यौरा पाहुनाको रोजाइमा पर्छन् । रात बस्ने पाहुनाका लागि सांस्कृतिक कार्यक्रम गरिन्छ । गाउँका किशोरकिशोरी परम्परागत नाच नाच्छन् । त्यसबापत पनि पाहुनाले केही रकम खर्च गर्छन् । ‘खेतीपाती गर्छौं । घरको दुई कोठा पाहुनाका लागि छुट्याएका छौं । यसले आम्दानी दिएको छ,’ बारबर्दिया नगरपालिका सतखोलवाकी होमस्टे सञ्चालक चन्द्रकला तिवारीले भनिन्, ‘घरमै उत्पादन भएको खानेकुरा पनि बिक्री गर्न पाइन्छ । कोठाको छुट्टै शुल्क लिन्छौं ।’


यहाँ खुलेका होमस्टेले आन्तरिक पर्यटकका साथसाथै विदेशी पर्यटक पनि बढाएको छ । गाउँलाई चिन्ने अवसर जुराइदिएको छ । ‘होमस्टेकै कारण हाम्रो गाउँ संसारभरि चिनिएको छ,’ डल्ला होमस्टे सञ्चालक समितिका अध्यक्ष पर्शुराम चौधरीले भने, ‘हाम्रो होमस्टेमा बेलायतका राजकुमार, टाइटनिक फिल्मका नायक, नेपाली सिने जगत्का कलाकार बसिसकेका छन् ।’

प्रकाशित : श्रावण २३, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?