मदिरा पसल बन्द गरेर चमेना गृह

कान्तिपुर संवाददाता

नवलपरासी — सरकारले खुद्रा मदिरा पसललाई अनिवार्य भ्याटमा जानुपर्ने नीति ल्याएपछि पश्चिम नवलपरासीमा मदिरा पसल दर्ता खारेजी गर्ने बढेका छन् ।

साउन मसान्तसम्ममा भ्याटमा नगए कारबाही हुने भएपछि अहिले घरेलु तथा साना उद्योगमा मदिरा पसल बन्द गरेर खाजा/चमेना गृह दर्ता गर्ने व्यवसायीको भीड लागेको छ ।


घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले मदिरा पसललाई भ्याटमा दर्ता गर्नुपर्ने अनिवार्य भएपछि दर्ता खारेजी बढेको बताए । ‘खुद्रा मदिरा पसले खाजा व्यवसाय दर्ता गर्ने भन्दै पुरानो व्यवसाय बन्द गरेर धमाधम नयाँ दर्ता गर्न थालेका छन्,’ उनले भने, ‘एकपटक दर्ता भइसकेको पसलको उद्देश्य परिवर्तन गर्न नमिल्ने भएकाले व्यवसायीले पहिलाको पसल बन्द गराएर नयाँ दर्ता गरेका हुन् ।’


साउन १९ गतेसम्म ३० जना मदिरा पसल सञ्चालन गर्ने व्यवसायीले पसल दर्ता खारेजी गरेका छन् । तीमध्ये २० जनाले होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति लिएका छन् ।


‘साना मदिरा पसललाई पनि भ्याटमा लैजाँदा हामीजस्ता व्यवसायीलाई असर परेको छ,’ परासीमा मदिरा पसल सञ्चालन गरिरहेका प्रदीप पाण्डेले भने, ‘खुद्रा पसलमा भ्याट हेर्ने कर्मचारी राख्ने क्षमता हुँदैन ।’ वर्षमा मुस्किलले २०/२५ लाखको कारोबार हुने पसललाई पनि एक्कासि भ्याटमा ल्याउँदा मदिराभन्दा अरू व्यवसाय नै गर्न उचित लागेको उनले बताए ।

प्रकाशित : श्रावण २४, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?