सडकमा मुआब्जा विवाद चर्कियो

दुर्गालाल केसी

दाङ — लमही–कोइलाबास सडक निर्माणका क्रममा मुआब्जा विवाद भएको छ । मुआब्जा रकम थोरै भएको भन्दै लमही नगरपालिका–४, सेम्रहवाका बासिन्दा आन्दोलित भएका हुन् । उनीहरूले बिहीबार दुई घण्टा सडक अवरुद्ध गरे ।

उनीहरूले बिहान ८ देखि १० बजेसम्म सडक अवरुद्ध पारी मुआब्जा रकम बढाउन माग गरे । यसअघि कालो झन्डा र ब्यानर टाँगेर विरोध जनाएका थिए । हालको मूल्यभन्दा निकै कम भएको भन्दै उनीहरूले मुआब्जा रकम बढाउनुपर्ने माग गरेका छन् । सरकारले प्रति वर्गमिटर ५० रुपैयाँ मुआब्जा तोकेको छ । छिमेकी गाउँ बलरामपुरको मुआब्जा प्रतिवर्गमिटर १ हजार ५ सय रुपैयाँ हुँदा सेम्रहवामा ५० रुपैयाँ मात्रै हुनु अन्याय भएको स्थानीय अगुवा रामप्रसाद चौधरीले बताए ।


मुआब्जाको विषयमा भएको आन्दोलनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले समर्थन गरेका छन् । नेकपा लमही नगर कमिटी सचिव वसन्त शर्मा, लमही नगर सहइन्चार्ज नारायण डीसी छम्पाली, जिल्ला सदस्य वीरबहादुर केसी, धूपनारायण चौधरी, ओमप्रकाश सुवेदी तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डे, महाधिवेशन प्रतिनिधि कर्णबहादुर बुढाथोकी, मधु न्यौपानेलगायतका नेता आन्दोलनको समर्थनमा सडकमा आएका थिए ।


लमही–कोइलाबास सडकमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न जिल्लामा ३५ करोड बजेट आएको थियो । जसमध्ये अहिलेसम्म ३२ करोड ११ लाख ४४ हजार १ सय ७८ रुपैयाँ वितरण भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । अब २ करोड ९७ लाख २९ हजार ४४ रुपैयाँ वितरण गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।


अहिलेसम्म ३ सय ८७ कित्ताको मुआब्जा वितरण गरिसकिएको उनले जानकारी दिए । अब बाँकी ३२ कित्ताका जग्गाधनीमध्ये १० जना सम्पर्कमा आएको र अरु २२ कित्ताका धनी सम्पर्कमा नआएको उनले बताए । पहिले नै निर्धारण भएकाले नियमअनुसार नै मुआब्जा वितरण गरिने उनले बताए । ‘अहिले आन्दोलन गर्नुको कुनै अर्थ छैन । यसको प्रक्रिया धेरै अघि बढिसकेको छ । नियमअनुसार धेरैले मुआब्जा बुझिसकेका छन्,’ उनले भने, ‘मुआब्जा नियमअनुसार नै तोकिन्छ । त्यत्तिकै रकम बढाउन मिल्दैन ।’

प्रकाशित : श्रावण २४, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?