कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मान्छे बुझ्न मानवशास्त्र

मधु शाही

बाँके — प्राचीन मानव सभ्यता कस्तो थियो ? कसरी बस्थे, संस्कृति र जीवनशैली कस्ता थिए ? नेपालगन्ज–४ की एन्जिला ज्ञवालीको मनमा यस्ता थुप्रै जिज्ञासा खेलिरहन्थे । विज्ञान विषयमा उच्चमाविको पढाइ पूरा गरेपछि उनको रुचि मानवज्ञानतर्फ बढ्न थाल्यो ।

त्यस क्रममा मानव सभ्यता बुझ्ने विषय खोजी गर्न थालिन् । त्यसपछि विज्ञान विषय छोडेर उनी मानवशास्त्रको अध्ययनतर्फ लागिन् । महेन्द्र बहुमुखी क्याम्पसमा मानवशास्त्र विषय लिएर स्नातक तह पहिलो वर्ष अध्ययन गरिरहेकी २० वर्षीया ज्ञवालीले भनिन्, ‘मानव सभ्यता बुझ्न यो विषय रोजें ।’


उनीजस्ता थुप्रै युवा अहिले मानव अस्तित्वको खोजीमा छन् । राप्ती सोनारी गाउँपालिकाका २१ वर्षीय यज्ञबहादुर रोकाले एलएलसीपछि अरूको लहलहैमा विज्ञान विषय पढे । तर, उनको मनमा खुसी थिएन । चाहना बेग्लै थियो, पढाइ भने अर्कै भयो । पहिला आफ्नै अस्तित्व जान्न पाए हुन्थ्यो भन्ने उनको मनमा लाग्यो । यस्तो विषय पढाइ हुन्छ भन्नेसमेत उनलाई थाहा थिएन । धेरैपछि जब उनले मानवशास्त्र विषय सुने । बुझ्दै जाँदा मानवशास्त्रमा भविष्य फराकिलो देखे ।


अहिले विज्ञानको पढाइलाई बिट मारेर रोकाले मानवशास्त्रको पढाइ सुरु गरेका छन् । समाजभन्दा पनि मानवशास्त्रले फराकिलो अर्थ राख्ने उनको बुझाइ छ । ‘संस्कृति, परम्परादेखि मान्छे जिउने कलासमेत यस विषयले सिकाउँदो रहेछ,’ उनले भने, ‘यो विषय पढा म आफैंलाई अध्ययन गरेको महसुस गर्छु ।’


बर्दियाको राजापुर नगरपालिका–३ का राजन चौधरीले विज्ञान विषयमा स्नातक गरेपछि त्यही विषयलाई निरन्तरता दिन चाहेनन् । मानवशास्त्र नवीन लागेपछि स्नातक अध्ययन दोहोर्‍याउन चाहे । ‘नयाँ र फरक क्षेत्र लागेर सम्भावना देखें,’ उनले भने, ‘विज्ञान पनि मानवशास्त्रभित्रको एउटा अंग रहेछ ।’ मान्छे बुझ्न मानवशास्त्र रोजेको उनले सुनाए ।


शुभमजंग शाहलाई पुरातात्त्विक, सांस्कृतिक, भाषासम्बन्धी अध्ययन गर्न रुचि लाग्छ । भविष्यमा मानवशास्त्र अनुसन्धानकर्ता बन्ने उनको सपना छ । म्यानेजमेन्टमा १२ पास गरेपछि आफूले मानवशास्त्रको विषय रोजेको उनले बताए । ‘यसको सम्भावना देखें’, उनले भने ।


लेक्चरर गोकर्ण शाहीका अनुसार पछिल्लो समय मानवशास्त्र विषय अध्ययनप्रति युवा आकर्षण बढ्दो छ । यस विषयको स्कोप फराकिलो हुनुले आकर्षण बढ्दै गएको उनले बताए । महेन्द्र बहुमुखी क्याम्पसमा चार जना विद्यार्थीबाट सुरु भएको स्नातक कक्षामा अहिले २१ जना पुगेका छन् । तुलनात्मक रूपमा विगतभन्दा विद्यार्थीको संख्या बढै गएको उनले बताए ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?