छाडा पशु लखेट्न जाग्राम

ठाकुरसिंह थारु

बर्दिया — पहिले गाईगोरु चराउन गोठाला जान्थे । बाली जोगिन्थ्यो । पशुको स्याहार हुन्थ्यो । अहिले परिस्थिति बदलिएको छ । बाली जोगाउन र चौपाया धपाउन रातदिन गोठालाझैं खटिनुपर्ने बाध्यता छ । बाली जोगाउन मुस्किल छ ।

हरियो धानको रोपोमा पशु आतंक बढेको छ । रातभरिमा बाली खाएर नष्ट हुने गरेको छ । धान जोगाउन किसान रातभर खेतमै जाग्राम बस्दै आएका छन् ।


यहाँ छाडा चौपायाको संख्या दिनप्रतिदिन बढ्दो छ । छिनभरमा पशुको हूल खेतमा पस्छ । किसान लखेटछन् । छिमेकीको खेतमा पस्छ । त्यहाँबाट पनि लखेटिन्छ । छाडा पशुले सास्ती छ । ‘छाडा चौपायाले बाली जोगाउन मुस्किल भइसक्यो । पाँच कठ्ठामा लगाएको धान खाइसके,’ बढैयाताल–३ का सुन्दर चौधरीले भने, ‘यसैगरी पशु छाडा हुने हो भने बाली लाग्न नपाउँदै धान बाली सकिन्छ ।’ धान जोगाउन जाग्राम बस्नुपरेको उनले गुनासो गरे ।


गोठबाट चौपाया लखेटिएपछि यस्तो समस्या भएको हो । स्थानीय तहलाई यस्ता जनावर नियन्त्रण गर्न धौधौ भएको छ । गाउँपालिकाका कर्मचारीले लखेटेर जंगलमा छोड्छन् । फेरि खेतबारीमा आएर खान थाल्छन् । लखेटेर आजित भएपछि छाडा पशुलाई कुटपिट गर्न थालिएको छ । कतिले धारिलो हतियार प्रयोग गर्दा खुट्टा काटिएको छ । चौपायाका जीउभरि खत छन् । ‘बाली जोगाउने नाममा रातदिन खट्नुपरेको छ । लखेटयो फेरि आइहाल्छन्,’ स्थानीय दुबरे चौधरीले भने, ‘मिहिनेत गरेर लगाइएको खेतबारी जोगाउन मुस्किल छ ।’ जिल्लाका आठवटै स्थानीय तहमा अहिले पशु चौपायाको आतंक छ ।


वर्षाको समय भएकाले छाडा चौपाया राजमार्गभरि देखिन्छन् । जसका कारण सवारी आजजाउमा पनि समस्या भइरहेको छ । छाडा चौपायाकै कारण दुर्घटना बढेको छ । किसानमात्रै होइन, सवारी चालक पनि आजित भएका छन् । राजमार्गका चौपाया लखेट्दै सवारी साधन चलाउनुपरेको गुनासो उनीहरूको छ । राजमार्गबाट खेेदेपछि पशुको हुल खेतमै पस्छ ।


फेरि पनि बालीमा क्षति पुर्‍याउँछ । ‘पशु चौपाया धपाएर थाकिसकियो । कुनै उपाय लाग्दैन । अलि पर लगेर छोड्यो, फेरि फर्केर आउँछन्,’ बाँसगढी नगरपालिका माछागढका किसान चोंगल चौधरीले भने, ‘पहिले रोपाइँ सकेपछि हेर्न पर्दैन्थ्यो । अहिले कुरेर बस्नुपर्छ ।’ आधुनिक कृषि प्रणालीले सर्वसाधारणले पशु चौपाया पाल्न छाडिसके ।


थ्रेसर प्रयोग गर्न थालेपछि परालको अभाव हुन थालेको छ । किसानहरूले ट्र्याक्टरले खेत जोताउँछन् । जसका कारण गोठबाट चौपाया लखेटिएका हुन् । जथाभावी बस्ती विस्तारले पनि चरण क्षेत्र खुम्चिएकाले चौपाया नपालेर लखेट्न थालिएका हुन् । पशु चौपाया बिक्री नहुँदा व्यवस्थापनमा जटिलता थपिँदै गएको छ । अहिले त निःशुल्क लैजानसमेत नमान्ने स्थानीय हरिबहादुर घर्तीले बताए ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?