३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बँदेलले गाउँलेको उठिबास

वीरेन्द्र केसी

अर्घाखाँची — शीतगंगा नगरपालिका–९, लौरीकी अञ्जु पल्लीको बारीका आधाजसो मकै बँदेलले खाइदियो । बाँकी रहेका घोघा भाँचेर घरमा ल्याइन् । घरको दलानमा मकै राखेर छिमेकीकहाँ के गएकी थिइन्, सबै मकै बँदेल पसेर खाइदियो ।

बँदेलले गाउँलेको उठिबास

‘यस्तो हालत भएपछि कसरी, के खाएर बाँच्ने ?,’ उनले भनिन्, ‘दुःखजति सबै जंगली जनावरलाई भयो ।’ पाँच वर्षअघिसम्म यस गाउँमा बँदेल देखा परेको थिएन । अहिले त ठूलो बगाल नै छ । मकै जोगाउनै सकिँदैन ।


पाकुरीका कमानसिंह सारुले १० रोपनी बारीमा मकै खेती गर्छन् । परिवारलाई वर्षदिन खान पुगेर दुई/चार मुरी बेच्थे । मकै बेचेको पैसाले नुनतेल र चामल किन्थे । अहिले ६ महिनालाई पनि खान पुग्दैन । हिउँदे मकै पनि रोप्छन् । तर, बँदेलले मकै बारी सबै सोत्र्यान पारिदिन्छ ।


बारीमा बिस्तरासहितको खाट राखेका छन् । त्यहीं बसेर हातमा लाठी लिई होहल्ला गर्छन् । बँदेलले मान्छेलाई एक्लै भेट्टाए उल्टै आक्रमण गरेर घाइते बनाइदिने उनले बताए । ‘बँदेलले एकैपटक दाँत गाडेर टोक्यो भने मान्छेलाई ठहरै पारिदिन्छ,’ उनले भने । बारीमा घरपरिवारबीच आलोपालो गरेर चौकीदारी बस्नुपर्छ । महिला रातीमा बस्न सक्दैनन् । ‘यसरी कति दिन गाउँमा टिक्ने खै ? अब त बसाइँ सर्नुपर्छ कि भन्ने सोचमा छु,’ उनले भने ।


पाकुरीकै हुटबहादुर पल्ली गत फागुनमा तराई बसाइँ सरे । गाउँमा खेती गरेर ६ महिनालाई पुग्थ्यो । बाँकी खर्च सिकर्मी गरेर कमाउँथे । ‘दिनभरि सिकर्मी काम गर्दा थकित भइएको हुन्छ, त्यसमाथि रातभरि बारीमा चौकीदारी गरेर मकै, गहुँबाली जोगाउन सकिएन,’ उनले भने, ‘त्यसैले गाउँ छाडन बाध्य भएँ ।’


साबिकको सिद्धारा गाविस अहिले शीतगंगा नगरपालिकाको ९, १० र ११ वडा भएका छन् । तीनवटै वडामा बस्तीनजिक घनघोर झाडी जंगल छ । दिनभर जंगलमा लुक्ने र रातभर बारीमा अन्नबाली खान बँदेललाई सहज भएको छ । जंगलबाट बँदेल लखेट्न सम्भव छैन ।


‘अब बारीमा मकै छर्नु बेकार छ,’ सिद्धारा, हर्रेका अगुवा किसान माधव पौडेलले भने, ‘दिउँसो बाँदर, चराचुरुंगी र रातिमा बँदेलबाट जोगाउन २४ सै घण्टा चौकीदारी बस्नुपर्छ । कृषि गरी खान वन्यवन्तुबाट सम्भव छैन ।’ उनी पनि तराई बसाइँ सरे । हर्रेको खेतीयोग्य जमिन र घर यत्तिकै छाडेर गाउँ छाडे । सिद्धारावासीको मुख्य पेसा कृषि र आम्दानीको स्रोत वैदेशिक रोजगारी हो । जंगल भएकाले बर्सेनि भालुको आक्रमणबाट स्थानीय घाइते हुन्छन् । चितुवाको पनि यस्तै डर छ ।


शीतगंगा नगरपालिका–१० का ३ सय घरधुरीले बारीमा मकै खेती गरेका छन् । यहाँको सयौं रोपनी बारीको मकै खेती बँदेलले सखाप पारिदिएको वडाध्यक्ष हिम्मत पोखरेलले बताए । ‘बारीमा पसेर एउटा मकैको बोट तीन/चार ठाउँबाट भाँचेर टुक्राटुक्रा पारिदिन्छ,’ उनले भने, ‘कृषिमन्त्रीको जमिन बाँझो नराख्ने उद्घोषलाई सार्थक बनाउन मकैको बीउ बाँडेर कृषकलाई खेती गर्न प्रेरित गरें, अहिले किसानले उल्टै क्षतिपूर्ति भराइदे भनेर गुनासो गर्न आएका छन् ।’


समस्याको उपाय नखोज्ने हो भने बसाइँसराइले सिंगो बस्ती रित्तिने खतरा बढेको उनले बताए । अन्नखेती हुने खेतबारीमा वैकल्पिक उपाय खोज्न अध्ययन गरिरहेको वडाध्यक्ष पोखरेलले सुनाए । तीनवटै वडाको तथ्यांकअनुसार वर्षमा १० देखि २० घरपरिवारले बस्ती छाडेका छन् ।


पहिले अन्न उब्जनी राम्रो हुने र पशुपालनका लागि प्रशस्त घाँस भएकाले अन्य गाउँबाट बसाइँ सरेर सिद्धारा आउँथे । ‘अन्य गाउँबाट अन्न किन्न यहाँ आउनेको भीड नै लाग्थ्यो,’ स्थानीय ८० वर्षीय ऐनबहादुर आलेले भने, ‘अहिले सिद्धारावासीलाई खान नपुगेर बस्ती नै छाडनुपर्ने स्थिति आइलाग्यो ।’


अहिले मकै, कोदो, फापर, गहुँ, जौ, तोरी, आलु, पिडालु बँदेलबाट जोगाएर घर भित्र्याउन मुस्किल परेको उनले सुनाए । बँदेललाई मार्न पाइँदैन । शीतगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारीले वन्यजन्तुले उठिबास नै लगाउन थालेपछि वैकल्पिक खेती गर्ने उपायतिर लागिएको बताए ।


वडा ११ का केही कृषकले बँदेल छेक्न बारीमा तारजाली लगाएका छन् । उफ्रेर छिर्न सक्दैन । बारीको बीचमा जंगल र छरिएर रहेको बारीमा एकैपटक सबैतिर तारजाली लगाउन सम्भव छैन । खर्च धेरै हुन्छ । ‘बँदेलले साह्रै पीडित बनायो,’ दुम्सी आधारभूत विद्यालयका शिक्षक रुमबहादुर पल्लीले भने, ‘गाउँ छाडेर यत्तिकै कहाँ जानू ? बारीलाई छेकबार गर्न बार लगाएपछि केही अन्नपात जोगिएको छ ।’

प्रकाशित : श्रावण २७, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?