कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

लोडसेडिङले पीडित बनेपछि ध्यानाकर्षण

सन्जु पौडेल

रूपन्देही — अघोषित लोडसेडिङले पीडित बनेपछि सैनामैनाका स्थानीय बासिन्दा, उद्योगी र व्यवसायीले विद्युत् प्राधिकरण बुटवलमा बुधबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।

हावाहुरी र पानी पर्दा विद्युत् अवरुद्ध हुनु स्वाभाविक भए पनि जथाभावी लाइन काटन थालेपछि समस्या भएको उनीहरूले गुनासो गरे । अघोषित लोडसेडिङले व्यावसायिक प्रयोजनका लागि राखिएका विद्युतीय सामग्री बिग्रिन थालेको भन्दै उनीहरूले ध्यानाकर्षण गराएको बताए ।


रूपन्देही व्यापार संघका सल्लाहकार रणबहादुर खनालले जानकारीबिना विद्युत् कटौती हुन थालेपछि साना तथा ठूला उद्योगी मर्कामा परेको बताए । ‘छिनछिनमा लाइन जान थालेपछि गर्मी मौसममा बच्चा, वृद्ध सबैलाई समस्या परेको छ,’ उनले भने, ‘गुनासो गर्न खोज्दा कर्मचारीले टेलिफोन उठाएर बाहिर राखिदिन्छन् ।’ कर्मचारी सबै हाकिमसरह भएकाले पनि सर्वसाधारणलाई असह्य पीडा भएको उनले बताए ।


सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षत्रीले विद्युत् प्राधिकरण व्यापारिक प्रतिष्ठान पनि भएकाले ग्राहकको सुविधालाई मध्यनजर गर्न नसक्नु दुःखदायी भएको बताए । ‘लोडसेडिङ मुक्त नेपालको नारा सैनामैनाका जनतालाई पाच्य भएन,’ उनले भने, ‘नारामा सीमित अधिकारले देश विकास हुन सक्दैन ।’ सरकारी विभाग र कर्मचारीको लापरबाहीले जनताले भोग्नुपरेको समस्याको मूल्य नभएको उनले गुनासो गरे ।


कांग्रेस जिल्ला उपसभापति फणिन्द्र शर्माले जनताले बुझाउने महसुलबाट अघि बढ्ने निकायको लापरबाहीले जनता निराश भएको बताए । ‘बिनाजानकारी जथाभावी विद्युत् काटिन्छ,’ उनले भने, ‘घर तथा उद्योगका सामग्री बिग्रिएर नचल्ने अवस्थामा पुगेका छन् ।’


प्राधिकरण वितरक भएकाले जुनसुकै स्थानका नागरिक तथा उद्योगलाई एकैनासले सुविधा प्रवाह गर्नुपर्ने उनले बताए । ‘करोडौं रकम विद्युत् महसुल नतिरेका ठूला प्रतिष्ठानका लाइन नकाटी महिनैपिच्छे महसुल बुझाउने सर्वसाधारणलाई दुःख दिनु आपत्तिजनक छ,’ उपसभापति शर्माले भने ।


ध्यानाकर्षण पत्र बुझै विद्युत् प्राधिकरण कार्यालय बुटवलका प्रमुख सन्जय मिश्रले सैनामैनाको विद्युत् फिडर जितपुरमा ओभरलोडको समस्या भएकाले यस्तो भएको स्वीकारे ।


‘प्रसारणको मुहानमा नै समस्या भएर यस्तो भएको हो,’ उनले भने, ‘बुटवल वितरक भएकाले यहाँबाट वितरण हुने प्रक्रिया र सप्लाइमा समस्या छैन ।’ यो समस्या स्थानीयले महसुस गर्ने गरी चार/पाँच दिनमै समाधान गर्न आफू तत्पर रहेको र मुख्य मुहानमा हुने ओभरलोडले कहिलेकाहीं यस्ता समस्या आउन सक्ने उनले बताए ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?