कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एम्बुलेन्सले दुर्गममा राहत

कान्तिपुर संवाददाता

पाल्पा — रिब्दीकोट गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवा अहिले दुर्गम बस्ती ठिमुरेसम्म पुगेको छ । त्यसबाट गर्भवती, असक्त, बिरामीलाई सुविधा पुगेको वडाध्यक्ष तुलबहादुर जीसीले बताए ।

‘पहिला निजी, भाडाका सवारी साधनलाई एम्बुलेन्स मानिन्थ्यो,’ उनले भने, ‘अहिले ठिमुरे स्वास्थ्य एकाइका नाममा एम्बुलेन्स भएपछि धेरैलाई सहज भएको छ ।’


कोही पनि सुत्केरी तथा गर्भवतीले ज्यान गुमाउनु नपरोस् भन्दै गाउँगाउँमा सेवा सुचारु गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले बताए । एम्बुलेन्स सञ्चालनमा कुनै समस्या नभएको उनले सुनाए । यसै गरी, बगनासकाली गाउँपालिकाअन्तर्गत चापपानी स्वास्थ्य चौकीमा सञ्चालित एम्बुलेन्सले पनि गाउँका दुर्गम बस्तीमा सुविधा पुगेको छ ।

यहाँबाट सञ्चालित एम्बुलेन्सले चार/पाँच वडाका बासिन्दालाई सुविधा पुगेको वडाध्यक्ष ठानेश्वर तिमिल्सेनाले बताए ।

जिल्लाको पूर्व रामपुर, दक्षिणको झडेवा, पश्चिमको सत्यवतीमा रहेका एम्बुलेन्सले अहिले दुर्गमका बासिन्दालाई सहज सेवा दिइरहेका छन् । रैनादेवी छहरा गाउँपालिकाकी उपाध्यक्ष चेतकुमारी थापाका अनुसार सत्यवतीमा गाउँपालिकाले प्रदान गरेको एम्बुलेन्सले धेरैलाई राहत पुगेको छ ।


‘बिरामी भएकालाई भन्दा धेरै गर्भवती महिलालाई सहज भएको छ,’ उनले भनिन्, ‘जसले गर्दा सबैले सहज तरिकाले उपचार गर्न पाएका छन् ।’ जिल्लामा सञ्चालित २० वटा एम्बुलेन्सले तानसेन र यहाँका ग्रामीण भेगमा सेवा दिइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।


पश्चिमको रैनादेवी छहराअन्तर्गत जुठापौवा स्वास्थ्य चौकीमा एम्बुलेन्स चलेको छ । तिनाउमा अहिलेसम्म एम्बुलेन्स छैन । ६ वडा रहेको यस गाउँपालिकामा यस वर्ष एम्बुलेन्स किन्ने तयारी गरेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।


माथागढी गाउँपालिकाअन्तर्गत झडेवामा जिल्लामै पहिलोपटक ग्रामीण भेगमा एम्बुलेन्स भित्रिएको हो । यहाँ भूतपूर्व सैनिकमार्फत भारतीय दूतावासले सहयोग गरेको हो । रामपुर अस्पताल र निजी प्राविधिक शिक्षालयको एम्बुलेन्स रामपुरमा संचालित छ ।


रैनादेवी छहराको छहरा स्वास्थ्य चौकीमा पनि एम्बुलेन्स छ । खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रले पनि एम्बुलेन्स सञ्चालन गर्दै आएको छ । पाल्पा अस्पतालका दुईवटा एम्बुलेन्स भए पनि एकमात्र सञ्चालनमा छ ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?