कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यार्चाको राजस्व छली

हरि गौतम

रुकुम पूर्व — गत जेठ अन्तिमदेखि असार पहिलो सातासम्म डिभिजन वन कार्यालयले साढे ६ किलो यार्चा संकलन अनुमति दिएको थियो । कार्यालयले उक्त सिजनमा साढे चार किलोको मात्र छोडपुर्जी दिएको पाइएको छ ।

बाँकी दुई किलोको छोडपुर्जी लिन आएनन् । साढे चार किलोभन्दा धेरै यार्चा संकलन भएको रेकर्ड सरकारी कार्यालयमा छैन । संकलन नभएपछि छोडपुर्जी लिन नआएको वन कार्यालयले जनाएको छ ।


पुथाउत्तरगंगा गाउँपालिकामा यार्चा संकलनको कुनै तथ्यांक छैन । आम्दानीको स्रोत मानिएको यार्चाबाट राज्यले राजस्व नपाउने गरेको यसबाट प्रस्ट हुन्छ । यसविपरीत यार्चा सिजन व्यवस्थापन समितिले ४० देखि ४५ किलोसम्मको यार्चा संकलन भएको अनुमान गरेको छ ।


सरकारी निकायमा यसको कुनै विवरण छैन । पुथाउत्तरगंगा गाउँपालिकाका १ र २ तथा ३ र ४ वडाका पाटनमा यार्चा पाइन्छ । हरेक वर्ष ती पाटनमा दुईदेखि तीन हजार मान्छे संकलन गर्न पुग्छन् । यार्चा टिप्नेदेखि व्यापार गर्नेसम्म पाटन पुग्छन् ।


‘हरेक वर्ष यार्चाको उत्पादन घट्दै गइरहेको छ,’ यार्चा सिजन व्यवस्थापन समितिका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद पुन मगरले भने, ‘यसको मतलब यो होइन कि यस वर्षको सिजनमा जम्मा साढे चार किलो मात्र यार्चा पाइयो ।’ आफूहरूले पहिल्यै शंका गरेको र पछिल्ला वर्षमा त्यसको पुष्टि हुँदै गएको उनले बताए । ‘यार्चा अवैध बाटो भएर बाहिरिइरहेको छ,’ पूर्वअध्यक्ष पुन मगरले भने ।


सम्बन्धित निकाय पाटनमै पुगेर संकलन पुर्जी र छोडपुर्जी दिन सके राजस्व बढ्ने र खास यार्चाको परिमाण आउने उनले बताए । डिभिजन वनले यस सिजनमा १ लाख ९५ हजार राजस्व संकलन गरेको छ । कार्यालयले यार्चा यसभन्दा बढी नपाइएको दाबी गरेको छ । ‘यार्चा नै भेटिएन होला,’ डिभिजन वन कार्यालयका प्रमुख बेसिन्द्रराज सुवेदीले भने, ‘भेटिएको भए संकलन पुर्जीअनुसारको छोडपुर्जी लिन व्यापारीहरू आइहाल्थे नि !’


सिजन व्यवस्थापन समितिले संकलन गर्न अनुमति दिनु भनेको अवैध काम भएको उनको भनाइ छ । संकलन पुर्जी नलिईकन छोडपुर्जी नपाउने भएकाले संकलन पुर्जी लिएर मात्रै व्यापार हुने अन्यथा त्यो यार्चा अवैध हुने उनले बताए । पुथाउत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षत्रीले यार्चाको राजस्व विषयमा पटक–पटक छलफल गर्दा पनि स्थानीय वडा वा गाउँपालिका मातहत ल्याउने प्रयास सफल हुन नसकेको बताए ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?