सम्बन्धविच्छेदका मुद्दा बढे

कान्तिपुर संवाददाता

रोल्पा — गत वर्षको भदौ १ देखि नयाँ मुलुकी ऐन आचारसंहिता लागू भएपछि सम्बन्धविच्छेद गर्नेको संख्या बढेको छ । नयाँ कानुनी व्यवस्थाअनुसार श्रीमान्ले पनि अदालतमार्फत सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न सक्ने प्रावधानपछि सम्बन्धविच्छेदका मुद्दा बढेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये आधाभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा भएको रोल्पा जिल्ला अदालतले जनाएको छ ।


आर्थिक वर्ष ०७५/७६ मा दर्ता भएका ३ सय ९८ मुद्दामध्ये २ सय १६ वटा मुद्दा सम्बन्धविच्छेदका थिए । ‘सबै मुद्दामध्ये करिब ५४ दशमलव २७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका थिए,’ जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले भने, ‘मुद्दा फैसला पनि छिटो गर्दै आएका छौं ।’


उनले अघिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा दर्ता भएको बताए । वार्षिक कार्ययोजनामा अदालतले अघिल्लो आर्थिक वर्षमा करिब ३ सय २४ मुद्दा दर्ता हुने अनुमान गरेकामा ३ सय ९८ मुद्दा दर्ता भएका थिए । त्यसै वर्ष ३ सय १८ वटा मुद्दा फर्स्योट गरिएको न्यायाधीश ज्ञवालीले बताए ।


अघिल्लो वर्ष ७० प्रतिशत मुद्दा फर्स्योट गर्ने लक्ष्य लिइएकामा ९० प्रतिशत मुद्दा फर्स्योट गरिएको रोल्पा अदालतका स्रेस्तेदार कृतिबहादुर बस्नेतले बताए । अघिल्लो वर्षका ८१ वटा मुद्दा भने चालु वर्षमा सरी आएका छन् । अघिल्ला वर्षका बिगो मुद्दामध्ये धेरैजसोको फैसला र फर्स्योट गर्दै आएको स्रेस्तेदार बस्नेतले बताए । उनका अनुसार आर्थिक वर्ष ०७३/७४ का ३४ मुद्दामध्ये १५ बाँकी, ०७४/७५ का ४८ मुद्दामध्ये १५ बाँकी र ०७५/७६ का ४५ मुद्दामध्ये १३ वटा मुद्दा बाँकी रहेको अदालतले जनाएको छ ।


अघिल्लो आर्थिक वर्षसम्मको कैद र जरिवाना पनि कटाउँदै आएको अदालतले जनाएको छ । अघिल्लो आर्थिक वर्षसम्म कटाउन बाँकी करिब १ हजार २७ वर्ष र ३८ लाख ६५ हजार जरिवाना बाँकी छ । छिटो छरितो न्याय दिने प्रणाली अपनाइएकाले न्यायप्रणाली प्रभावकारी बन्दै गएको न्यायाधीश ज्ञवालीले बताए ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?