१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दसैं खर्च जुटाउन भारत

मधु शाही

बाँके — ‘पुग्यान हजुर लाम्न खान ठेकेदारले ठगे हजुर लाग्या मुग्लान ।’
नेपालगन्जस्थित जमुनाह नाकामा आइपुग्दा जाजरकोटको भेरी नगरपालिका–६ का ६५ वर्षीय मानसिंह कुँवरले यस्तो गीत जुराए । यो गीत परिस्थितिले जुराएको हो ।

दसैं खर्च जुटाउन भारत

आफ्नै भूमिमा काम गर्दा ठगिएपछि दसैं खर्च जुटाउन भारत पस्नुपरेको पीडा उनले सुनाए । दसैं नजिकिंदैछ । सिन्धुपाल्चोकमा तीन महिना मजदुरी गरेको कमाइले पर्व मनाउने सपना थियो ।


ठेकेदारले पारिश्रमिक दिने छाँट नदेखाएपछि परदेश जान लागेको उनले बताए । ठेकेदारसित नौ हजार रुपैयाँ लिन बाँकी थियो । ‘म बडडोलाई ठगेर ठेकेदार लापत्ता भयो,’ उनले भने, ‘दसैं आइसक्यो । पैसा छैन । भारत जानुको विकल्प छैन ।’ उनका अनुसार रवि राना नामका जाजरकोटे ठेकेदारले पारिश्रमिक दिएका छैनन् ।


छोराहरू छुट्टिइभिन्न भएका छन् । वास्ता गर्दैनन् । बिरामी श्रीमतीको औषधि उपचार खर्च जुटाउनुपर्छ । सकेसम्म गाउँघरमै काम गर्ने उनको चाहना थियो । काम गरेर पारिश्रमिक नपाउने दुःखले उनीजस्ता थुप्रै नेपाली भारतमा मजदुरी गर्न जाने गरेका छन् ।


कुँवरसहित आइतबार एउटै टोलका १२ जना भारततर्फ गइरहेका थिए । उनीहरूमा अधिकांश ५० देखि ६० वर्ष उमेरका थिए । आ–आफ्ना समस्या जेजस्ता भए पनि दसैंतिहारका लागि खर्च जुटाउन भारत जान लागेको उनीहरूले सुनाए । उमेर छिप्पिंदै गएका ती पाका पुरुषमा परिवार पाल्ने दबाब छ । छोराछोरी बिदेसिएका छन् । कसैका छोराछोरीले आयआर्जन गर्दैनन् । श्रीमती र नातिनातिना पाल्नुपर्ने जिम्मेवारी उनीहरूको बुढ्यौली काँधमा थपिएको छ ।

सुर्खेतको बराहताल–२ का ५२ वर्षीय भगत खत्री, ५६ वर्षीय टेकबहादुर कार्की, ५६ वर्षीय धामबहादुर थापा, ५० वर्षीय हरिहरबहादुर खत्रीको बाध्यता पनि कुँवरको भन्दा फरक छैन । तीन दिनअघि घरबाट निस्किएका उनीहरू मंगलबार नेपालगन्जस्थित नेपाल–भारत सीमा रूपैडिया आइपुगेका थिए ।


शिरमा ढाका टोपी, काँधमा झोला, अनुहारमा दसैं खर्च जुटाउने मिठो उत्साह बोकेर उनीहरू भारततर्फ लाग्दै थिए । हरिहरबहादुर खत्री मुलुक छोडेर भारत जान लागेकामा दुःखी थिए । त्यसभन्दा बढी आफ्नैले ठगेकामा खिन्न थिए । ‘यहाँ काम गर्‍यो पैसा पाउने टुंगो छैन । भारतमा बरू श्रममा ठग्दैनन्,’ उनले भने, ‘त्यही भएर यो उमेरमा त्यता जान लागेको ।’


चैत र वैशाख महिनामा स्थानीय सरकारले कुलो बनाउने काम दिएको खत्रीले सुनाए । दिनको ५ सय १७ रुपैयाँका दरले एक महिनाको पारिश्रमिक लिन बाँकी थियो । ठेकेदारको दैलोमा पटक–पटक जाँदासमेत अनेक बहाना देखाउँदै पैसा नदिने गरेको उनले बताए । भारतमा मजदुरी गरेर एक महिनामा १५ हजार रुपैयाँ जुटाउन सके दसैं खर्च चल्ने उनले सुनाए ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?