मिलेमतोमा काठ तस्करी

बर्दिया — वन कर्मचारीको मिलेमतोमा समिलबाट काठ तस्करी भएको खुलासा भएको छ । गुलरियाबाट नेपालगन्जतर्फ गइरहेको ना२ख ८८९४ नम्बरको ट्रकसहित चिरान काठ प्रहरीले नियन्त्रणमा लिएपछि वन कर्मचारीको मिलेमतो भएको खुलेको हो ।

काठको परिणाम छानबिन गर्न प्रहरी, वन कर्मचारी र अख्तियार टोलीको रोहवरमा डिभिजन वन कार्यालय, बाँकेमा शुक्रबार नापी गर्दा छुटपुर्जीभन्दा दुई गुणा बढी अवैध काठ फेला परेको प्रहरीले जनाएको छ । वन रक्षक राजन उपाध्यायले सिलबन्दी गरेको पुर्जीमा सहायक वन अधिकृत आनन्द साहले दरपीठ गरेका छन् ।


नेपालगन्ज पठाउन स्थान्तरण पुर्जी वन डिभिजन कार्यालयका निमित्त वन प्रमुख सितेश महतोले दिएका थिए । इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक हिमबहादुर खत्रीले वन डिभिजन कार्यालयले दिएको छुटपुर्जीभन्दा बढी परिमाणको काठ भेटिएपछि नियन्त्रणमा लिएको बताए ।


वनले दिएको छुटपुर्जीमा सिसौ चिरान १ सय २४ थान लेखिएकामा १ सय २४ घनफिट, सिरिस चिरान ६ थान लेखिएकामा ९ दशमलव ४६ घनफिट पाइएको छ । प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले वन कार्यालयले दिएको छुटपुर्जी भन्दा बढी परिमाणको काठ फेला परेको बताए ।


वन सहायक अधिकृत साहलाई अनुसन्धानको दायरामा तानिएको छ । शुक्रबार नै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले साहलाई कार्यकक्षमा बोलाई काठ तस्करीलाई प्रोत्साहन दिने काम गर्दै आएको सूचना विगतदेखि स्थानीय प्रशासनमा आइरहेको बताए । अख्तियारले प्रक्रिया पूरा गरेपछि अनुसन्धानका लागि सहायक वन अधिकृत साहलगायतलाई नियन्त्रणमा लिइने उनले जनाए ।


गुलरियाको लक्ष्मण टोलस्थित समिलबाट उक्त चिरान काठ नेपालगन्ज लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय, मैनापोखरले बिहीबार शंका लागि जाँचबुझ गर्दा छुटपुर्जीभन्दा बढी काठ भेटिएपछि नियन्त्रणमा लिएको हो ।

प्रकाशित : भाद्र १, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?