कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कमल दहको भौतिक संरचना अधुरै

हरि गौतम

रुकुम पूर्व — ठेकेदारले भौतिक संरचना बनाउन ढिलाइ गर्दा कमल दहको पर्यटन विकास प्रभावित बनेको छ । सिस्ने गाउँपालिका–५ स्थित कमल दहको आकर्षण बढाउने भन्दै यससँग जोडेर भौतिक निर्माणको काम चलिरहेको छ ।

कमल दह संरक्षण तथा पार्क निर्माण भनेर दहको पश्चिम दक्षिणतिर केही भवन तथा बगैंचा बनाउने कार्य भइरहेको छ । तर, काममा ढिलाइ हुँदा कमल दहको आकर्षण बढ्न सकेको छैन ।


चार महिनाअघि सकिनुपर्ने काम अझै सकिएको छैन । ठेकेदार कम्पनीको लापरबाहीले समयमै काम नबन्दा कमल दह घुम्न आउने अप्ठ्यारोमा पर्ने गरेका छन् भने भनिएको संरचना नबन्दा पश्चिमी भाग कुरूप बनेको छ । निर्माण सामग्री लथालिंग र अलपत्र अवस्थामा छरिएर रहेका छन् ।


रोल्पामा रहेको तत्कालीन भवन डिभिजन कार्यालयसँग मल्ल कन्स्ट्रक्सन कम्पनीले ०७६ असार महिनाभित्रै काम सक्ने गरी सम्झौता गरेको थियो । ३ करोड १६ लाख रुपैयाँमा कमल दहको पश्चिमतर्फ प्रवेशद्वार, टिकट काउन्टर, स्नान कक्ष तथा शौचालय निर्माण गर्न सम्झौता भए पनि समयमै उक्त काम सम्पन्न हुन सकेको छैन ।


हाल उक्त काम सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना दाङले हेर्ने गरेको छ । रोल्पाको भवन डिभिजन कार्यालय खारेज भएपछि यसले हेर्न थालेको हो । समयमै काम सम्पन्न गर्न नसकेपछि निर्माण कम्पनीले सम्झौता थप गरेको छ । भवन निर्माण आयोजना दाङले १ सय ९ दिनको म्याद थपिएको बताएको छ । यस अवधिमा पनि काम सकिने अवस्था छैन ।


पाहुना घर निर्माणको काम पनि अलपत्र छ । दुई करोड लगानीमा निर्माणको जिम्मा लिएको ग्याल्भा क्याराभान काठमाडौंले सम्झौता गरेको मितिमा उक्त काम सम्पन्न गर्न सकेन । ०७६ जेठ ३० गतेसम्म पाहुना घर बनाइसक्ने गरी सम्झौता भएको थियो । सम्झौताअनुसार काम नसकिएपछि यसले पनि १ सय ९ दिनको म्याद पाएको छ ।


धेरै काम बाँकी रहेकाले थप समयमा पनि काम नसकिने बताइएको छ । १५ कोठाको पाहुना घरमा पाँच वटा डिलक्स रुम हुनेछन् भने अरू पनि सुविधासम्पन्न तथा व्यवस्थित कोठा हुनेछन् । स्थानीय परम्परागत संस्कृति झल्कने गरी पाहुना घर बनाउने सम्झौता गरिएको हो ।


कमल दह संरक्षण र कमल दहमा पर्यटक बढाउने उद्देश्यले निर्माण थालिएको संरचना समयमै सम्पन्न नहुनु दुःखद भएको स्थानीय शेरबहादुर मल्लले बताए । ‘कमल दह हेर्न आएका पर्यटकले असजिलो मानिरहेका छन्,’ उनले भने, ‘यसमा सम्बन्धित पक्षको चासो र ध्यान जानु जरुरी छ ।’

प्रकाशित : भाद्र १, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?