१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अन्नबाली जोगाउनै मुस्किल

माधव अर्याल

पाल्पा — यहाँका किसानको मुख्य बाली मकै भित्र्याउने सिजन सुरु भएको छ । बाँदर, दुम्सी, बँदेल, हरिण, मृगबाट अन्नबाली जोगाउनै मुस्किल परेको किसानको गुनासो छ । गाउँघरमा जंगली जनावरले आतंक मच्चाएको उनीहरूले बताए । 

‘मकैले घोघा लगाउन थालेपछि नै खाइदिन थालेको छ,’ रैनादेवी छहरा–४, काफलबुटाका डिलबहादुर खत्रीले भने, ‘वर्षदिन खाने अन्न जंगली जनावरले समाप्तै पारेको छ ।’ बारीमा लगाएको मकैबाहेक आलु, सिमी, बोडीलगायतका बाली दिउँसोमा बाँदरले र रातिमा बँदेलले नोक्सानी पुर्‍याएको उनले बताए ।


वर्षभरि खाने र गाईभैंसीलाई समेत खुवाउने मकै बाली वन्यजन्तुले सखाप पार्न थालेपछि किसानलाई दिनरात चिन्तामा पारेको उनले गुनासो गरे । यस वर्ष मकै भित्र्याउनै नपर्ने गरी नोक्सानी गरेको काफलबुटाकै अर्का किसान नारायण कार्कीले बताए । वर्षेमात्र नभई हिउँदे बालीसमेत वन्यजन्तुबाट जोगाउन मुस्किल परेको उनले सुनाए ।


‘आफ्नो भएको थोरै जमिनमा लगाएको मकै बँदेलले समाप्त नै पारेको छ,’ उनले भने । वर्षभरि दुःख गरेको बाली वन्यजन्तुले खाइदिएपछि सबैलाई कृषि व्यवसायतर्फ नै अरुचि बढदै गएको उनले बताए । खाद्यान्न बालीको विकल्पमा अन्य बाली लगाए पनि वन्यजन्तुले नोक्सानी पुर्‍याउँदै आएको छ । रैनादेवी छहरा मात्र होइन, यहाँको बगनासकाली गाउँपालिकाका चापपानी, यम्घा, दर्लमडाँडाका स्थानीयलाई उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल छ ।


वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि किसान समस्यामा परेका छन् । तिनाउ गाउँपालिकाको हरियाली गाउँमा पनि बँदेलले हैरानी पारेको छ । स्थानीय लक्ष्मण बोहराका अनुसार जंगलमा झाडी बढ्ने बेला भएकाले मकै स्याहार्ने बेलामा बँदेल र बाँदरले नोक्सानी पुर्‍याएको हो । ‘मकैले घोघा हालेपछि बाँदर बारीभरि हुन्छ,’ बगनासकाली गाउँपालिका–६, यम्घाका विक्रम विश्वकर्माले भने, ‘बारीमा कुरुवा नै बस्नुपर्ने बाध्यता छ । हुलका हुल बाँदर बारीमा पसेर मकैबाली नोक्सान गरेको छ, सबै गाउँले मिलेर धपाउने काम गरिरहेका छौं ।’


किसानले बाँदरलाई तीन/चार किमि टाढा धपाए पनि पुनः गाउँमा आउने गुनासो किसानको छ । बगनासकाली गाउँपालिकाभित्रका सबै वडामा बाँदरले हैरानी पुर्‍याएको गुनासो आएको अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । ‘अघिल्लो वर्ष पनि गुनासो आएको थियो,’ उनले भने, ‘केही बाँदर पक्राउ गरेर अन्यत्र जंगलमा लगेर छाडेको पनि हो ।’


उनका अनुसार बाँदरको हैरानीलाई समस्याकै रूपमा लिएर गाउँपालिकाले कार्यक्रम अघि बढाएको छ । मकै मात्र नभई खेतबारीमा लगाएको आलु, बन्दा, काउलीलगायतका तरकारी खाने र नष्ट गर्ने गरेको चापपानीकै विष्णु ढकालले बताइन् । ‘बारीको मात्र होइन, घरकै सुलिमको मकैसमेत निकाल्दिन्छ,’ उनले भनिन्, ‘यसका लागि स्थानीय तहले पनि चासो दिनुपर्छ ।’


भरुवा बन्दुक, पटाकाजस्ता ठूला आवाज आउने वस्तु पडकाउन पाइँदैन । गुलेली र कुकुरलाई बाँदरले टेर्न छाडेको छ । ‘यसले पनि समस्या निम्तिएको छ,’ तानसेन नगरपालिका–५ का लक्ष्मण खडकाले भने । बारी नै ढाक्ने गरी ६/७ सयको संख्यामा बाँदरको हूल आएर बारी नै ढाक्ने गरेको छ । बाँदरले कतिपयको घरभित्रै पसेर पनि अन्नपात खाने गर्छ । दिनरात बँदेल र बाँदरले किसानले लगाएको खेतीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय तह पनि चिन्तित छन् ।


रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरेकाले पनि किसानले लगाएको बाली जंगली जनावरले क्षति पुर्‍याएपछि गम्भीरतापूर्वक लिएको बताए । क्षति पुगेका किसानलाई छिट्टै केही व्यवस्था गर्ने र आगामी दिनका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने उनले सुनाए ।


दुम्सी मार्ने पक्राउ

जंगली जनावर दुम्सी मारेर खाने रिब्दीकोट गाउँपालिकाका तीन जना पक्राउ परेका छन् । रिब्दीकोट–५, कुसुमखोला मरेडाँडाका वसन्तबहादुर खडका, सोही गाउँपालिका–६ का भीमबहादुर गाहा र धनबहादुर गाहा पक्राउ परेको प्रहरीले जनाएको छ ।


डिभिजन वन कार्यालयको अनुरोधमा प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो । भीमबहादुरका छोरा आशिष गाहाको नाममा समेत पक्राउ पुर्जी जारी गरेको प्रहरी जनाएको छ । उनी बिरामी भएकाले पक्राउ नगरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कुसुमखोलाका खडकाले ‘बल्ल आज दुम्सीको मासु खान पाइयो’ भनेर सामाजिक सन्जाल फेसबुकमा लेखेका थिए । विभिन्न व्यक्तिलाई समेत ट्याग गरिएको थियो । दुम्सी मारेर मासु काटेको देखेपछि त्यसैका आधारमा पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन चापागाईंले बताए ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको अनुसन्धान अधिकृत यमलाल पोखरेलले बताए । जंगली वन्यजन्तु मार्न पाइँदैन । मारेमा २० हजार रुपैयाँ जरिवानाका साथ एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ ।

प्रकाशित : भाद्र १, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?